|

काठमाडौँ : सभामुख कृष्णबहादुर महराले मुलुकलाई विकास र आर्थिक समृद्धिमा पुर्‍याउन पर्यटन व्यवसाय महत्वपूर्ण आधार भएको बताए। शनिबार गन्तव्य नेपालद्वारा ‘आर्थिक समृद्धिका लागि पर्यटन’ विषयक  कार्यक्रममा महराले देशलाई विकासको मार्गमा लैजान पर्यटन क्षेत्रले खेलेको भूमिका अद्वितीय रहेको उल्लेख गरे।

लामो समयको राजनीतिक संक्रमणपछि गठन भएको वर्तमान सरकारले पर्यटन क्षेत्रमा समृद्धिका लागि हुन सक्ने योगदानको खाका कोर्ने भन्दै महराले पर्यटकले खर्च गर्नै पर्ने खालका कार्यक्रम बनाएर अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिए।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्राकृतिक सम्पदा र विविधताले भरिपूर्ण हाम्रो मुलुकमा आन्तरिक पर्यटकको संख्या वृद्धि गर्ने कार्यक्रम बनाउन निजी क्षेत्रसँग आग्रह गरे।  निधिले भने, 'हिमाली भेगका जनतालाई तराई तथा तराईका जनतालाई हिमाली क्षेत्रको कला, संस्कृति र सम्पदाबारे जानकारी गराउन सक्ने प्रशस्त आधारहरु छन्', यसका लागि निजी क्षेत्रको समर्पण र लगानी आवश्यक छ।

नेकपा स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले २१ औँ शताब्दीको सबैभन्दा ठूलो उद्योग पर्यटन उद्योग भएकाले यसका माध्यमबाट नेपाललाई संसार कै धनी मुलुक बनाउन सक्ने सम्भावना रहेको बताए। पर्यटकका आकर्षक गन्तव्य भनेको मानव पूर्वाधार र प्राकृतिक सम्पदा भएको बताउँदै उनले प्राकृतिक सम्पदाका दृष्टिले नेपाल संसार कै धनी मुलुकको कोटीमा रहेकाले पर्यटनको माध्यमबाट प्रशस्तै लाभ लिनसक्ने सम्भावना रहेको टिप्पणी गरे।

नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य दीपक महतले मुलुकमा राजनीतिक स्थायित्वले समृद्धिको आधार तयार गरेकाले पर्यटन क्षेत्रमा लक्ष्य बनाएर काम गर्ने हो भने सम्भावना नै सम्भावना रहेकाे बताए।

आयोजक संस्था गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी, पत्रकार ऋषि धमला र गाउँ पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष कमल सापकोटालगायतले गाउँ पर्यटनलाई प्रवर्द्धन गर्न सके घरैमा बसेर डलर कमाउन सकिने धारणा व्यक्त गरे। कार्यक्रममा पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएबापत व्यवसायी प्रतिष्ठा विष्ट अमात्यलाई ‘टुरिज्म म्यान अफ दि इअर’ सम्मान प्रदान गरिएकाे थियाे।

पर्यटन क्षेत्रको विकासका लागि निरन्तर कलम चलाउने पत्रकारद्वय तृष्णा गिरी र कुमार चौलागाईंलाई पनि समारोहमा पुरस्कार प्रदान गरिएकाे थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.