|
फाइल फोटो

  • बुद्ध नेपाली

सिन्धुली : बिपी राजमार्गमा सरकारले रोक लगाउँदै आएको सवारी साधान संचालन गर्न पाउनुपर्ने माग गर्दै गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको छ। शनिवार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको अध्यक्षतामा सिन्धुलीका प्रदेशसभा सांसद, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, ट्रक व्यवसायीलगायत सरोकारवालाको उपस्थितिमा बसको सर्वपक्षिय बैठकले बिपी राजमार्गको यातायात र आवगमनलाई सहज बनाउन भन्दै सरकारले संचालनमा रोक लगाउँदै आएको भएता पनि सवारी साधन सहजरूपमा संचालन हुनपर्ने माग गर्दै सिफारिस गर्ने निर्णय गरेको हो। 

बैठकले बिपी राजमार्गमा ३२ सिट क्षमताका यात्रुबाहक बस संचालन अनुमती दिँदा उपयुक्त हुने भन्दै गृह मन्त्रालय र यातायात मन्त्रालयमा सिफारिस गरेको छ। विपि राजमार्गमा अहिले सरकारले १८ सिट क्षमताका यात्रुबाहक बसलाई मात्र संचालन अनुमति दिएको छ।   

त्यस्तै, पहिला सरकारले १० टन क्षमता भएका मालबाहक सवारी साधान संचालनमा अनुमति दिएकोमा बैठकले अव देखि १० टन क्षमताका मालबाहक सवारी साधन नभनी ६ चक्के मालबाहक सवारी साधन संचालनको अनुमति दिँदा उपयुक्त हुने भन्दै सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिए। 

त्यस्तै, केही महिना अघिदेखि बिपी राजमार्गमा राति सवारी साधन संचालनमा रोक लगाउदै राति आएका सवारी साधनलाई भीमानमा रोक्ने गरेकोमा अब त्यस्ता सवारी साधनलाई सदरमुकाम सिन्धुलीमाढीमा रोक्न उपयुक्त हुने भन्दै सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। 
शनिबारको बैठकले गरेको सिफारिस सरकारको पहिलाको नियमभन्दा फरक भएकाले यो निर्णय उपयुक्त छ की छैन भनी निर्णय गर्ने यातायात मन्त्रालयसँग मात्रै भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए। 

बिपी राजमार्गकोे सुरक्षाका लागि र यात्रुहरूका सुरक्षाका लागि भन्दै सरकारले यसअघि १८ सिट क्षमताभन्दा बढीका यात्रुबाहक बस र १० टन क्षमताभन्दा बढीका मालबाहक सवारी साधन संचालनमा रोक लगाएको थियो। नियम विपरीत संचालन हुदै आएका १८ सिट क्षमताभन्दा बढीका यात्रुबाहक बस र १० टन क्षमताभन्दा बढीका मालबाहक सवारी साधन संचालनमा सरकारको आदेसमा सवारी साधनमा गत जेठ १ गतेदेखि स्थानीय प्रशासनले कडाई गरेपछि सिन्धुलीका ट्रक तथा बस व्यवसायीहरूले त्यसको विरोध गरिरहेका छन्। तर बिपी राजमार्गको मापदण्ड र राजमार्गको भारबाहन क्षमताका आधारमा सवारी साधान संचालन हुनुपर्ने आम जिल्लावासीले माग गर्दै आएका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.