|

रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकामा मापदण्डविपरीत सञ्चालन गरिएको एक बाल गृहबाट शनिबार ३३ बालबालिकाको उद्धार गरिएको छ। मुसिकोट-१ बागबजारमा अवैधरुपमा सञ्चालन भएको नर्सिङ हिमालय अनाथ नामको बालगृहबाट रुकुमका नौ र जुम्लाका २४ बालबालिकालाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो। 

न्यूनतम मापदण्ड पनि पूरा नगरेर बालगृह सञ्चालन गरेपछि बालबालिकाको उद्धार गर्नुका साथै सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालगृह सञ्चालनका लागि आवश्यक पर्ने कुनै पनि मापदण्ड पूरा नगरेका कारण बालगृहका सञ्चालक रुकुम पूर्व तकसेराका विवेक बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिराज ढुंगानाले जानकारी दिए। 

जिल्ला बाल कल्याण समिति रुकुम र जिल्ला प्रहरी कार्यायको सहयोगमा महिला तथा बालबालिका कार्यालय जुम्लाका बाल अधिकार निरीक्षक हर्कबहादुर महतको नेतृत्वमा आएको टोलीले जुम्लाका २४ बालबालिकाको उद्धार गरेर लगेको जिल्ला बाल अधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए। बालगृह सञ्चालक बुढालाई जिल्ला प्रहरी कार्यालय रुकुममा राखिएको छ।

बालगृह सञ्चालनका लागि दर्ता नै नगरेको,आधारभूत भौतिक पूर्वाधार नभएको, बालबालिकालाई खुवाइने खाना गुणस्तरीय नभएको, सरसफाइ तथा बसाइँको व्यवस्थासमेत राम्रो नभएको बाल अधिकार अधिकृत ओलीले बताए। यसका साथै बालगृह कसरी सञ्चालन भएको छ र यसको आयस्रोत के होरु भन्ने समेत नखुलेको प्रहरीको भनाइ छ।

बालगृहमा ३३ बालबालिका रहेका थिए बालगृहमा टुहुरा बालबालिकालाई राख्नुपर्ने कानुनी व्यवस्था भए पनि २९ बालबालिकाका आमाबाबु भएका भेटिएको बाल अधिकार अधिकृत ओलीले जानकारी दिए। बालगृह सञ्चालक बुढाले केही वर्षअघि रुकुम पूर्वको तकसेरामा पनि मापदण्ड पूरा नगरी बालगृह सञ्चालन गरेका थिए। २०७२ सालमा उनलाई प्रहरीले बालबालिकासहित काठमाडौँमा नियन्त्रणमा लिएर ३२ दिन पछि छोडेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.