|

जाजरकोट : जिल्लामा प्रजनन् उमेरका ४५ प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको चिकित्सकहरुले बताएका छन्। पीडित महिला कतिले लाज र अवहेलना होला भन्ने डरले, कतिलाई पतिले दोस्रो बिहे गर्ला भन्ने डर, घरायसी काम कस्ले गर्ला भन्ने डर, चेतनाको कमी, बच्चाको स्याहारसुसार गर्न अप्ठेरो हुन्छ की भन्ने डर लगायतका कारणले समस्या लुकाउने गरेको पाइएको छ।

विभिन्न शिविर तथा स्वास्थ्य संस्थामा उपचार गर्न आएका ४५ प्रतिशत महिलाको समस्या नै पाठेघर खस्ने भएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए । पीडित महिलाले भन्न नमान्दा ठोस तथ्यांक सार्वजनिक हुन नसकेको उनले बताए । पति तथा सासूससुराको हिंसा, घरायसी कामको बोझ, गर्भवती समयमा गह्रौं भारी बोक्ने, कुपोषण, कम उमेरमै धेरै सन्तान जन्माउनुजस्ता क्रियाकलापले महिलामा पाठेघर खस्ने समस्या बढ्ने गरेको हो।

जिल्लाभरि झन्डै ४० हजार प्रजनन् उमेरका महिला रहेको र बर्षेनी पाँच हजार बढीले सन्तान जन्माउने गरेको उनले बताए। जिल्लामा १५ देखि ८० वर्षसम्मका महिला पाठेघर खस्ने समस्याबाट पीडित बनेको उनले बताए।

विभिन्न संघसंस्थाको सहयोगमा जिल्लाका एक हजार महिलाको पाठेघरको अप्रेशन भएको र पाँच सयले रिङ प्रेसरी राखेको प्रमुख नेपालीले बताए। ‘यहाँका महिलाको अवस्था भयाभह छ,’ उनले भने, ‘पीडित महिलालाई परामर्श सेवा, रिङ प्रेसरी राख्ने कार्यमा ब्यापकता ल्याउन जिल्लामै निःशुल्क र नियमित अप्रेशनको ब्यबस्था हुनुपर्ने देखिन्छ।’ स्वास्थ्य संस्था टाढा हुँदा उपचारमा जाँन नसकेको पीडित महिलाहरुले बताउँने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.