|

  • विनोदसिंह विष्ट

बैतडी : प्रदेश ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमा सम्पन्न नहुने संकेत देखिएको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्म कालोपत्रे गरिसक्ने गरी गत भदौमा काम सुरु भए पनि तोकिएकै समयमा काम सम्पन्न नहुने भएको छ।

विमानस्थलको स्तरोन्नतिको काम ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले गर्दै आएको छ। अहिलेसम्म ७० प्रतिशत काम सकिएको नागरिक उडड्यन मन्त्रालयका इन्जिनियर एवं साइड सुपरभाइजर कविता भट्टले बताइन्। ‘ढिलो काम सुरु भएको र बीचमा पानी परेकाले काममा केही ढिलाई भएको छ,’ उनले भनिन्, ‘सबबेस र बेसको काम वर्षाभरि सक्ने हिसाबले काम भइरहेको छ।’ उनका अनुसार दशैंको आसपासमा मात्र विमानस्थलको कालोपत्रे भइसक्छ।

निर्माण कम्पनीका इन्जिनियर पुरन रावलका अनुसार विमानस्थलमा कटिङ र फिटिङको काम सकेर सबबेसको काम भइरहेको छ। तर, सम्झौताअनुसार असार मसान्तसम्म काम नसकिने भएकाले निर्माण कम्पनीले म्याद थपका लागि आवेदन गर्ने तयारी गरेको उनले बताए। 

करिब १३ करोड रुपैयाँ लागतमा निर्माणाधीन विमानस्थलको ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ। जसमध्ये ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिने कम्पनीले जनाएको छ।

करिब दुई दशकदेखि बन्द रहेका उक्त विमानस्थललाई स्तारोन्नति गरी पुनः सञ्चालन गर्न ०७२/७३ को नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो। सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारी असार मसान्तसम्म स्तरोन्नतिको काम सक्ने गरी सम्झौता भएको थियो

पाटन विमानस्थल ०३२ मा निर्माण सुरु भई ०३५ देखि कच्ची रनवे मै हवाई सेवा सुरु भएको थियो। तर, ०५२ मा पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। ०५८ सालमा तत्कालीन नेकपा माओवादीले टावरमा आगो लगाएर ध्वस्त बनाएपछि विमानस्थलको अवस्था झन् जीर्ण बनेको थियो। यस विमानस्थल प्रदेश ७ को कैलालीको गेटा विमानस्थलपछि सबैभन्दा ठूलो हो। यस विमानस्थलको धावनमार्गको लम्बाइ ९५० मिटर रहेको छ। 

पर्यटकीय गन्तव्यको सम्भावना 

नेपाल सरकारले घोषणा गरेको दश नमुना सहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सकिने छ। प्रदेश ७ को पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझाङको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ।

यस क्षेत्रमा नेपालकै गहिरो गुफा पत्ताल भुमेश्वरका साथै उदयदेव, त्रिपुरासुन्दरी, निङ्गलाशैनी, ईश्वरी गंगाधाम, मेलौली भगवती, दोगडाधाम, रौलाकेदार, सिगास धामलगायत प्रसिद्ध मन्दिरहरु छन्। विमानस्थललाई सञ्चालन भए उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने स्थानीय कपिल केसी बताउँछन्। 

विमानस्थल सञ्चालनमा आए दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडीका धार्मिक स्थलहरूको अवलोकन गर्ने पर्यटकलाई भित्र्याउन सकिने स्थानीय छविराज जोशीको भनाइ छ।

विमानस्थलका कार्यालयका भवनहरू द्वन्द्वकालमा क्षति पु¥याएकोले जीर्ण भएका छन्।  विमानस्थल गौचरन, खेलमैदान तथा सवारी साधन सिक्ने मैदानमा परिणत भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.