|

काठमाडौं : मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई सरकारले दिने भनेको मासिक पाँच हजार रुपैयाँ भत्ता रोकिएको छ।अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराएपछि बिरामीलाई दिने भनिएको जीवननिर्वाह भत्ता रोकिएको हो।

गत माघ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएर उपचार गराइरहेका २९  बिरामीलाई पाँच/पाँच हजार रुपैयाँ दिएर जीविकोपार्जन भत्ता वितरण सुरु भएको घोषणा गरेका थिए।

जीविकोपार्जन भत्ता वितरणमा समन्वय गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. विकास देवककोटाले चालू आर्थिक वर्षमा बिरामीलाई दिने भनिएको रकम अर्थ मन्त्रालयले  उपलब्ध नगराएपछि चार महिना अघि सुरु भएको भत्ता वितरणको कार्यक्रम हाललाई स्थगन भएको बताए। उनले भने 'अर्थले यो कार्यक्रमको लागि रकम दिने भनेर छुट्याए पनि हालसम्म रकम उपलब्ध नगराएकोले हाललाई यो कार्यक्रम रोकिएको छ।'

डा. देवकोटाले आगामी आर्थिक वर्षमा सरकारले जीवननिर्वाह भत्ता वितरणको लागि छुट्टै रकम छुट्याए कार्यक्रमले निरन्तरता पाउने बताए। हालसम्म बिरामीहरूको लगत मात्र लिने काम भएको तर कुनै पनि बिरामीलाई भत्ता वितरण नगरिएको उनले जानकारी दिए। उनले भने, 'हाल अस्पतालमा भएका बिरामीहरूको संख्या मात्र संकलन गर्ने काम भइरहेको छ, भत्ता त अझसम्म दिइएको छैन।'

हाल सम्म काठमाडौंका वीर, शिक्षण, हरिसिद्धि क्यान्सर अस्पताललगायतका देशभरका अस्पतालमा उपचार गराइरहेका क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका करिब दुई हजार जनाको तथ्यांक लिइएको उनले बताए। 'हालसम्म हामीले विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका करिब दुई हजार बिरामीको विवरण संकलन गरिएको छ', उनले भने।

सरकारले क्यान्सर, मिर्गौलाको रोगको कारण डायलाइसिस गरिरहेका र स्पाइनल इन्जुरी भएका बिरामीहरूलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने कार्यविधि भए पनि यसअघि अर्थ मन्त्रालयले पठाएको बजेटको अख्तियारीमा भने क्यान्सर र स्पाइनल इन्जुरीपछि प्यारालाइसिस भएका बिरामीका लागि मात्रै भत्ता उपलब्ध गराउने उल्लेख गरेपछि भत्ता वितरण गर्न झन् अप्ठ्यारो परेको महाशाखाले बताउँदै आएको थियो।  

सरकारले तीन रोगका बिरामीलाई जीविकोपार्जन भत्ता स्वरूप मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने भन्दै चालू आर्थिक वर्षका लागि १२ करोड रुपैयाँ छुट्याएको थियो। तर बिरामीको तथ्यांक हेर्दा चालू आर्थिक वर्षका लागि मात्र कम्तीमा ८० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको थियो।

तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराको प्रस्तावमा गत पुस १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले क्यान्सर, मिर्गौला र स्पाइन इन्जुरीपछि प्यारालाइसिस भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय स्वरूप गत माघ ११ गते उक्त भत्ता वितरण सुरु गरिएको थियो। भत्ता वितरणका लागि चाहिने आर्थिक स्रोत सरकारले सूर्तिजन्य पदार्थको बिक्रीबाट आउने करबाट लिइने बताइएको थियो।

सोही अनुसार तत्कालीन प्रधानमन्त्री देउवा गत ११ माघमा ट्रमा सेन्टर पुगेर चेक वितरण गरेका थिए। त्यतिवेला १२ जना क्यान्सर, ११ जना मिर्गौला र छ जना स्पाइनल इन्जुरीपछि प्यारालाइसिस भएका बिरामीलाई चेक वितरण गरिएको थियो। उनीहरूलाई वितरण गरिएको ५ हजार दरका २९ वटा चेक भने त्यतिवेला वीर अस्पतालले उपलब्ध गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.