|

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेख्नुभएको कम्पकाव्य ‘बारपाक’ शुक्रबार सार्वजनिक गरेका छन्।     

‘त्रिशूली प्रवाह’ साप्ताहिक नुवाकोटद्वारा प्रकाशित कृतिमा राहतमा भएको अनियमितता, राजधानीका सम्पदामा पुगेको क्षति, भूकम्पले ल्याएको नयाँ अवसर जस्ता विषयमा लेखिएका २१ कविता समाविष्ट छन्। ‘धरहरा’, ‘रानीपोखरी’, ‘काष्ठमण्डप’, ‘काठमाडौँलाई भूकम्प सुहाउँदैन’ ‘पाटन’, ‘योगनरेन्द्र मल्लको चरो’ ‘टेको  भादगाउँ’, ‘वेह्युल’ (ला(ङटाङ), ‘घर’, ‘भूकम्प युग’, ‘राहत’, ‘बारपाक’, ‘वैशाख १२’ आदि  शीर्षकका छोटा–छोटा कवितामा कविले आफ्ना भाव पोखेका छन्। 

प्रेस चौतारी नेपाल रासस पत्रकारिता सम्मान तथा पुरस्कार वितरण एवम् काव्य विमोचन समारोहमा  उनले  रिमालको कृति भविष्यका पुस्ताका लागि अध्ययनको दस्तावेज बन्ने बताए।

कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै दीपेन्द्र अधिकारीले  प्रकृतिले विनाश गरेको कुरालाई लेखकले साँस्कृतिक विम्ब प्रयोग गरी मिठासपूर्ण रूपमा कविता, र हाइकुमार्फत व्यक्त गरेको बताउँदै साहित्यकार जति पीडामा हुन्छ त्यति नै बढी सशक्त भएर लेख्ने धारणा राखे। 

साहित्यकार रामकुमार पाँडेले लेखकले भूकम्पमा आफूले देखेभोगेका कुरालाई कवितामार्फत प्रस्तुत गरेकाले कृतिलाई दृश्य साहित्यको संज्ञा दिए।  

कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले बारपाक कृति सानो भए पनि यसले दिने सन्देश ठूलो भएको बताए। राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रिमालको कृतिले समाज परिवर्तन  गर्न सहयोग पुर्‍याउने बताए। नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले रिमालको कृतिबाट सरल भाषामा भूकम्पलाई बुझ्न सहयोग मिल्ने बताए।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपाली समाज भूकम्पपछि कता जाँदैछ भन्ने सन्देश कृतिले दिएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.