अनाधिकृत रूपमा खोटो संकलन रोक्न स्थानीय सरकारले चासो देखाउँदै

|
दैलेखको आठवीस नगरपालिका ४ पिपलकोटका १३ वर्षे चक्र र उनकी आमा जस्मा नेपाली।

दैलेख : पश्चिम दैलेखको आठवीस नगरपालिकाको बिकट मानिने पिपलकोटका १३ वर्षीय चक्र नेपाली बिहानै उठ्छन्। मुख धुनुभन्दा अगाडि उनले बरियो (नाम्लाे) खोज्छन्। घरबाट एक घण्टा टाढाको जंगलमा जfन्छन्। खोटो हाल्ने टिन बोक्छन्। अनि एक घण्टा ओह्रालो झरेर खिड्किज्यूला बजार पुग्छन्। 

खोटो ल्याएको विवरण स्थानीय व्यापारीलाई टिपाउँछन्। अनि घर फर्किन्छन्। बिहानको दुई घण्टा निकै दुःख गरेर दुईवटा टिन खिड्कीज्यूला बजारमा पुर्‍याएका चक्रले २३० रुपैयाँ कमाएको बताए। खोटो संकलन गर्ने व्यक्तिले उनिहरूलाई नगद दिदैनन्। विद्यालयका लागि चाहिने कपि, कलम र खाद्यान्नका लागि चाहिने चामल, अनि खोटो बोकेवापत घरमा आमाले मिठाई खानु भनेर जिम्मा दिएको रकमले उनले मिठाई किन्छन्। फेरि बरियो काँधमा बोकेर घरतिर फर्कन्छन्। यो चक्रको मात्र होइन। उनकी दिदी १७ वर्षे अस्मिता र ५० वर्षेआमा जस्मा नेपालीको पनि दिनचर्या यसैगरी बित्ने गरेको छ। 

श्रीमानको मृत्यु भइसकेको छ। अन्य कुनै पनि आय स्रोत नभएकोले छोराछोरी पाल्न कै लागि दैनिक काम गर्नुपर्ने बाध्यता परेको जस्माको दुःखेसो छ।पिपलकोटका चक्र र अस्मिताको मात्र हाेइन। हरेक बिहान पिपलकोटबाट खिड्कीज्यूला आउँने जाने बाटोमा खोटो बोकेका बालवालिकाहरू सयौंको संख्यामा देखिन्छन्। गाउँघरमा बिहानको काम घाँस दाउराको हुने गर्दछ। तर कमाई हुने भएपछि धेरै बालवालिकाहरू खोटो ओसार पसारमा देखिने गरेका छन्। 

जिल्लाका धेरै स्थानहरूमा अनाधिकृत रुपमा खोटो संकलन

दैलेखमा लामो समयदेखि बिभिन्न कम्पनीहरूले खोटो संकलन गर्दैआएका छन्। गुराँस गाउँपालिकाको पिलाडी जंगलमा जाने हो भने सयौं रुखहरू सुकेको अवस्थामा देख्न सकिन्छ। खोटो संकलनका लागि लगाइएका घाऊहरू कै कारण वुटा सुकेको स्थानीयको आरोप छ। खोटो संकलनका लागि वातावरणीय प्रभाव मूल्यांकन (आईईई) गरेर पूर्ण स्वीकृत लिनुपर्ने कानुनी प्रवाधान छ।  

जिल्ला वन कार्यालय दैलेखका प्रमुख रामकाजी श्रेष्ठले कम्पनीहरूले सिधैँ उपभोक्तासँग सम्झौता गर्ने गरेकाे बताए। उपभोक्तासँग सम्झौता गरी स्वीकृतिका लागि जिल्ला वनमा आउने गरेकाे पनि उनले बताए। तर निर्देशिकामा भने कस्तो बिरुवामा कति फरक गर्ने, कतिपटक घाउ लगाउने भन्ने विषयमा स्पष्ट गरिएकाे उल्लेख छ। खोटो संकलनपछि अनिवार्य बृक्षारोपण लगायतका कामहरु गर्नुपर्दछ। यसको प्रत्यक्ष जानकारी सामुदायिक वनका उपभोक्ता समिति अन्य सदस्यहरूले राख्नुपर्ने हो। तर धेरैले जानकारी नराख्ने र चासो नदिने भएकोले खोटो संकलन अनाधिकृत रुपमा हुदै आएको उपभोक्ताहरूले बताएका छन्। 

जिल्लाको पश्चिममा पर्ने बिभिन्न जंगलहरूमा खोटो संकलनले रुखहरू सुक्दै आएको भन्ने जनगुनासो व्यापक मात्रामा आएपछि चामुण्डा बिन्द्रासैनी नगरपालिकाले कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई बोलाएर यसबारे अनुसन्धान सुरु गरेको बताएको छ। स्थानीय सरकार गठन भइसकेपछि सरकारको मातहतमा काम गर्नुपर्ने भए पनि अहिलेसम्म दैलेखमा काम गर्ने कुनै पनि कम्पनीले स्थानीय सरकारसँग समन्वय नगरेकोले आफूले पत्र काटेर सोबारे छानविन सुरु गरेको चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिएका छन्। सवै स्थानीय सरकारका प्रमुखहरूले यसबारे सचेत हुनुपर्दछ। निर्देशिका भन्दा बिपरित हुने र बन जंगल फडानीसँगै पानीका मुहानहरू सुक्ने वातावरण नै बिग्रने कुरालाई रोक्नुपर्ने बारे आफू चिन्तित भएको शाहीले बताए।

जिल्लामा विगत दश वर्षदेखि खनाल, स्वस्तिक, माउन्टेन, बाँके रोजीन लगायतका ५ वटा कम्पनीहरूले खोटो संकलन गर्दै आएका छन्। सामुदायिक बनहरूमा रहेका उपभोक्ता समितिका अध्यक्ष वा निश्चित व्यक्तिहरूसँग कम्पनीले मिलेमतो गर्ने र  निर्देशिका अनुसार गर्नुपर्ने अनुगमन पुनः बृक्षारोपण जस्ता कामहरू गरिएको देखिँदैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.