'केही दिनमै नेपाली राजनीतिमा ठूलो परिघटना देखा पर्दै'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्नेबेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध नगर्नु समृद्धि र विकासका लागि मिलेर जाने संकेतका रुपमा बुझेको बताएका छन्।

कृष्णसेन इच्छुकको १६ स्मृति दिवसको अवसरमा आयोजित पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भविष्यमा नेपाली कांग्रेस पनि सरकारसँग सहकार्य गरेर जान्छ भन्ने संकेत रहेको बताए। उनले भने, 'नीति र कार्यक्रममा कांग्रेसले विरोध पनि गरेन समर्थन पनि गरेन यो संकेत भनेको भोलिका दिनहरूमा सरकार विकास र समृद्धिका सन्दर्भमा प्रतिपक्षसँग सहकार्य हुन्छ भन्ने संकेतका रुपमा बुझेका छौँ।'

प्रचण्डले नेकपा नेतृत्वको सरकारले पाँच वर्षमा काम गर्न सकेन भने जनतालाई ठोस ठोस जवाफ दिनुपर्ने बताए। उनले पाँच वर्षे कार्यकालमा जनताका पक्षमा काम गर्नुको विकल्प नरहेको बताए।

पार्टी एकताले शहीदलाई सम्मान

प्रचण्डले एमाले र माओवादी मिलेर गरिएको नेकपाको गठनले कृष्णसेन लगायतका शहीदलाई सम्मान भएको बताए। माओवादी जनयुद्ध कालमा महेन्द्र पुलिस क्लब काठमाडौंमा मारिएका कृष्णसेन पत्रकार तथा साहित्यकार थिए। प्रचण्डले कम्युनिस्ट आन्दोलन अहिले आएर एक भएको बताएका थिए। उनले यसका लागि लामो समय लागेको बताएका थिए। उनले भने, 'कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने लामो अभियानलाई साकार पार्न सफलता प्राप्त गरेका छौँ। यो सहज रुपमा सफल भएको होइन।'

उनले एकताबाट हजारौं नेता तयार भएको पनि बताएका थिए। त्यसको व्यवस्थापन कसरी गर्छन् भनेर देश र विदेशमा पनि चासोका साथ हेरिएको उनको भनाइ थियो। उनले भने, 'एकताले हजारौँ-लाखौँ नेता पैदा गरेको छ। यसलाई विश्वले चाँसोको रुपमा हेरेको छ। केहीले सकरात्मक रुपमा हेरका छन् भने केहीले चासोका साथ हेरेका छन्।'

उनले यो एकताबाट युवा नेताहरूको विशाल पंती तयार भएको र त्यो कसरी अगाडि बढ्छ भन्ने आफू र अध्यक्ष केपी शर्मा ओलीले चासोका साथ हेरिरहेको बताएका थिए। उनले भने, 'नेताहरूको विशाल पंती तयार भएको छ। यसले युवाहरूलाई नयाँ आत्मविश्वास र स्कुलिङ तर्फ लगेको छ। यो एकताबाट युवाहरूले कस्तो शिक्षा लेलान् भन्ने चिन्ता हामी नेताहरूलाई छ। राष्ट्र र मानव जातीको विकासलाई कसरी लेलान् भन्नेबारे हाम्रो चासो रहेको छ।'

गणतन्त्र स्थापनामा कम्युनिस्टको ठूलो योगदान

प्रचण्डले नेपालमा गणतन्त्र स्थापना गर्नका लागि कम्युनिस्ट पार्टीहरूको महत्वपूर्ण योगदान रहेको बताएका छन्। उनले यसलाई लिएर कम्युनिस्टसँग रिस र डाह नगर्न पनि आग्रह गरेका थिए। नेपाली कांग्रेसतर्फ इंगित गर्दै उनले भने, 'कम्युनिस्टसँग रिस, डाह गरेर र अन्तजस्तो भनिदिन्छौँ भनेर हुने वाला छैन। परिवर्तनमा कम्युनिस्टहरूको योगदान छ भनेर जनताले बुझेका छन्। यो बहुमत त्यसै आएको होइन। परिवर्तनलाई रक्षा गर्ने शक्ति भनेको वामपन्थी मात्रै हो भनेर जनताले बुझेर दिएका हुन्।'

उनले कांग्रेसलाई सुझाव दिए, 'कांग्रेसले ठिक ठिक ठाउँमा आलोचना गर्‍यो भने उसका लागि पनि सही हुन्छ। रिस, आवेग र उत्तेजनाले आलोचना मात्र गर्‍यो भने कांग्रेसको आजको जुन स्थिति छ त्यो पनि खस्किन सक्छ।'

प्रचण्डले अबको केही दिनमा नेपाली राजनीतिमा अझै ठूला परिघटना देखा पर्ने बताएका छन्। तर ती परिघटना के हुन् भन्ने संकेत भने गरेनन्। उनले भने, 'केही दिन भित्रै अझ ठूलो परिघटनाका दृश्यहरू देखिने छन्। इतिहासले आफूलाई दिएको भूमिकालाई ठिक ढंगले बहन गरेर जान जरुरी छ।'

केन्द्रीय समितिमा परेनौँ भनेर पीर नगरौं

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपाको स्थापना भएको छ। त्यसमा एमालेको पुरै केन्द्रीय कमिटी परेको थियो। २०० रहेको कमिटीमा थप ४१ जना परेका थिए। ४ हजारको माओवादी केन्द्रको केन्द्रीय समितिबाट प्रचण्डलाई भने २०० जना छान्नुपर्ने अवस्था आएको थियो। त्यसमा केही नेता असन्तुष्ट रहेका छन्। जुन आफूलाई पनि बोध भएको प्रचण्डले बताएका थिए।

उनले भने, 'एकता गर्दा ठूलो संख्यामा नेताहरू छुटेका छन्। दुई-चारजना नेता केन्द्रीय समितिमा परे परेनन् भन्ने कुरा सानो कुरा हो हामीले पार्टी एकता गर्ने निकै ठूलो ऐतिहासिक काम गरेका छौँ। अहिले परिएन भनेर धेरै ठूलो दुःख मनाउ गरिरहन आवश्यक छैन। १५-२० जना नल्याएको भए हुन्थ्यो भन्ने परेका छन् भने १५-२० जना ल्याउन पाए पनि हुन्थ्यो भन्ने लागेको छ।' उनले अध्यक्ष ओलीको सहजता आफ्नो असहजताबारे पनि कुरा राखेका थिए। 'केपी ओलीज्यूलाई २०० जना पुरानै भएको र ४१ जना छान्नुपर्ने भएको भएर उहाँलाई सजिलो भएको थियो। मलाई ४ हजारबाट २ सयमा झार्न ठूलो चुनौति थियो।'

उनले केन्द्रीय समितिमा परेकालाई पनि कहीँ न कहीँ स्थान दिने आश्वासन दिएका थिए। उनले भने, 'केन्द्रीय समितिमा नपरे के भयो त! काम गर्ने ठाउँ धेरै छन्। चिन्ता नलिनुस् तपाईंहरूको पीडा मेरो पनि पीडा हो।'

प्रचण्डले नेकपा प्रेस स्वतन्त्राप्रति दृढ रहेको बताएका छन्। उनले प्रेस स्वतन्त्रताको पहरेदार पार्टी बन्ने बताए। कार्यक्रममा सामुदायिक रेडियोको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै २५ हजार रुपैयाँ राशिको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार रघु मैनालीलाई प्रदान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.