|

दार्चुला : गृहमन्त्रालयले जिल्लाका निर्माण कार्यको विवरण माग गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाको अगुवाइमा गत जेठ ४ गते कार्यालय प्रमुखहरुको बैठक बसी जिल्लास्थित कार्यालयबाट ठेक्का सम्झौता भइरहेको कामको विवरण संकलन गर्ने निर्णय गर्‍यो।

यो निर्णयअनुसार शुक्रवारसम्म जिल्लाका १५ कार्यालयले आफ्नो विवरण बुझाएका छन्। तीमध्ये ६ कार्यालयले आफूमातहत ठेक्का नै नभएको लिखित जवाफ बुझाएका छन् भने नौ कार्यालयअन्तर्गत ९२ ठेक्काको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ।

विद्युत् प्राधिकरणका २८ ठेक्का अलपत्र

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय प्रसारण अत्तरिया कार्यालयबाट दार्चुलाका लागि विद्युत् लाइन विस्तारका लागि गरिएका २८ ठेक्का अलपत्र रहेको पाइएको छ। जिल्लाका पाँच गाउँपालिकामा विद्युतीकरण गर्ने र राष्ट्रिय प्रसारण लाइन जोड्ने जिम्मेवारी पाएका तीन वर्षयताका ठेक्काहरू अलपत्र रहेको पाइएको हो।

०७२ वैशाख १ गते ठेक्का सम्झौता भई असार २५ गतेसम्म सक्नुपर्ने छवटा ठेक्का अलपत्र छन्। २०७२ असार २५ गते कार्य सम्पन्न गर्नु पर्ने ठेक्काको म्याद छ\छ पटक थप गरिए पनि हालसम्म काम सम्पन्न हुने छाँट नदेखिएको  प्राधिकरण वितरण शाखा दार्चुलाले जानकारी दिएको छ।

शाखाले जिल्ला प्रशासन कार्यालयमा बुझाएको जानकारीअनुसार ४३ लाख ६३ हजार रुपैयाँभन्दा बढी रकमका छवटा ठेक्काको जिम्मेवारी लिएका ठेकेदारहरूले पटक–पटक म्याद थप्दा पनि सामान उपलब्ध गराएका छैनन्। अन्तिम पटक २०७४ पौस मसान्तमा म्याद थपको लागि प्रक्रिया अगाडि बढाइएको भए पनि म्याद थपबारे अन्तिम जानकारी नआएको विद्युत् वितरण शाखा दार्चुलाले जानकारी गराएको जिल्ला प्रशासन स्रोतले जानकारी दिएको छ।

को-को हुन् छ\छ पटक म्याद थप गर्दा पनि काम नगर्ने ?

विद्युत् लाइन प्रसारणका लागि विभिन्न जिम्मेवारी पाएका छवटा निर्माण कम्पनी र सप्लायर्सहरूले ६/६ पटक म्याद थप्दा पनि काम पूरा गर्न सकेका छैनन्। ०७२ वैशाख १ गते सम्झौता गरी असार २५ गते कार्य सम्पन्न गर्नु पर्ने उमेश निर्माण सेवा एण्ड सप्लायर्सले नौ लाख २७ हजार ३५५, जय व्यास निर्माण सेवाले आठ लाख ५४ हजार ८४५ र अमर लटिनाथ अमर अनिल निर्माण सेवाले आठ लाख ९१ हजार ५७० रुपैयाँ बराबरको ठेक्काको काम पनि पूरा गरेका छैनन्। 

त्यसेगरी आरडी बिल्डर्स एण्ड सप्लायर्सले नौ लाख ४१ हजार ५२७ र गोखनाथ निर्माण सेवाले सात लाख ४८ हजार ६० रुपैयाँ बराबरको ठेक्काको काम गर्न सकेका छैनन्। वितरण शाखा दार्चुलाले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको विवरणमा बिष्ट निर्माण सेवा एण्ड कुलदेव बिष्ट सप्लायर्सको भने रकम खुलाइएको छैन।

त्यसैगरी ०७४ जेठ १४ गते सम्झौता भएका १० ठेक्काको काम पनि अलपत्र छन्। आठ ठेकेदारले ट्रान्सफर्मर उपलब्ध गराउनु पर्ने, एकले मालसमान र अर्काेले पोल तारलगायतका सामग्री उपलब्ध गराउनु पर्नेमा कसैले पनि काम पूरा गरेका छैनन्। सबैको ३/३ पटक म्याद थप गरिएको भए पनि अहिलेसम्म ट्रान्सफर्मर उपलब्ध गराउन नसकेको जानकारी वितरण शाखाले जिल्ला प्रशासनलाई दिएको छ। यीमध्ये श्रीपाल निर्माण सेवाले पोल, तारलगायतका सामग्री बुझेर कार्य गरिरहेको पनि वितरण शाखाले जानकारी दिएको छ।

यी हुन् तीन/तीन पटक म्याद थप गर्दा पनि काम नगर्ने 

२०७४ जेठ १४ गते सम्झौता गरी २०७४ भदौ १३ गतेसम्म ट्रान्सफर्मर र पोल तार उपलब्ध गराइसक्ने गरी ठेक्का लिएका आठ कम्पनीले तीन तीनपटक म्याद थप्दा पनि मालसमान उपलब्ध नगराएको वितरण शाखा दार्चुलाले जानकारी गराएको छ।

आठ ठेक्कामध्ये दुईले मालसमान र तार पोल उपलब्ध गराउनु पर्ने र बाँकी छले ट्रान्सफर्मर उपलब्ध गराउनु पर्ने थियो तर कुनै पनि कम्पनीले समयमा काम गर्न नसकेको विवरण वितरण शाखाले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छ।

तीनवटा ट्रान्सफर्मर उपलब्ध गराउने ठेक्का पाएको गोकुलेश्वर निर्माण सेवाले एउटा  ट्रान्सफर्मर पनि उपलब्ध गराउन नसकेको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ। गोकुलेश्वर निर्माण सेवाले नौ लाख ६३ हजार ८९० रुपैयाँको एउटा, नौ लाख २३ हजार २१० रुपैयाँको अर्को र पाँच लाख २२ हजार ४५५ रुपैयाँको तेस्रो ठेक्काका लागि सम्झौता गरेको थियो।

जयलटबाव निर्माण सेवा एण्ड सप्लायर्सले आठ लाख १८ हजार ३४६, एमबी कन्सट्रक्सनले नौ लाख नौ हजार ४२४ र जयव्यास निर्माण सेवाले नौ लाख ६९ हजार २०९ रुपैयाँ बराबरको ट्रान्सफर्मर उपलब्ध गराउने ठेक्काको काम पूरा गरेकाछैनन्। 

त्यसैगरी रिठगडे कन्स्ट्रक्सन एण्ड सप्लायर्सले आठ लाख १३ हजार ५५० र उदयदेव निर्माण सेवाले छ लाख ४६ हजार ४९० रुपैयाँ बराबरको ठेक्काको काम पूरा गर्न सकेका छैनन्।

अन्य १२ को पनि हालत उस्तै 

प्राधिकरणको अत्तरिया क्षेत्रीय कार्यालय अन्तर्गत २०७४ फागुनपछि  खोलिएका अन्य थप एक दर्जन ठेक्का पनि अलपत्र अवस्थामा छन्। ०७४ फागुन ९ गतेपछि सम्झौता भई ९० दिनभित्र सम्पन्न गर्नु पर्ने कार्य आठ कम्पनीले अझै पूरा गर्न सकेका छैनन्। ०७४ फागुन ९ गते सम्झौता गरी ९० दिनभित्र सम्पन्न गर्नु पर्ने चार र फागुन ११ गते सम्झौता गरी ९० दिनभित्र काम सम्पन्न गर्नु पर्ने चार ठेकेदारले काम गरेका छैनन्। 

त्यसैगरी गत वर्ष चैत ३० र ०७५ वैशाख ३, ४, ११ गते सम्झौता गरिएका ठेक्काहरू पनि कार्य सम्पन्न गर्न समयमै मालसामान नबुझेको वितरण केन्द्र दार्चुलाले जानकारी दिएको छ।

गृह मन्त्रालयको आदेशअनुसार प्रक्रिया अगाडि बढ्ने 

गृह मन्त्रालयको पत्राचारअनुसार ठेक्काको विवरण संकलन गरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा विवरण पठाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ। ‘शाखामा विवरण उपलब्ध गराएका छौँ। शाखाले गर्ने पत्राचारअनुसार अन्य प्रक्रिया अगाडि बढाइएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.