|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र प्रदेश ७ ले विजय सुरुवात गरेका छन्।

काठमाडौंको कीर्तिपुर खेल मैदानमा आइतबार आयोजित प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले प्रदेश ४ लाई ५ विकेटले हराउँदा प्रदेश ७ ले कर्णाली प्रदेशलाई ४८ रनले हरायो। राष्ट्रिय टोलीका युवा स्टार रोहित पौडेलले मध्यक्रममा शानदार इनिङ खेलेपछि प्रदेश ४ पोखराले दिएको २४० रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। चौका प्रहार गर्दै टिमलाई जित दिलाएका रोहितले ४१ बल खेलेर ७३ रन प्रहार गरे। छैटौं नम्बरमा ब्याटिङमा आएका रोहितले ३ छक्का र १० चौका प्रहार गरेका थिए । उनी खेलको म्यान अफ द म्याचसमेत बने। 

ओपनर आसिफ शेख दोस्रो ओभरमै ५ रनमा र तेस्रो नम्बरमा आएका अनिल शाह तेस्रो ओभरमा १ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि एपीएफ सुरुमै दबाबमा परेको थियो। तर, अर्का ओपनर सुवास खकुरेल र प्रदीप ऐरीले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरी टिमलाई सहज अवस्थामा पुर्याए। १८ औं ओभरमा ऐरी ३७ रनमा आउट हुँदा २५औं ओभरमा अर्धशतक नजिक पुगेर खकुरेल पनि आउट भए। उनले ६१ बल खेलेर ४८ रन बनाए। 

इन्ज्यूरीपछि पहिलो एकदिवशीय प्रतियोगिता खेलेका सुवासले उत्कृष्ट पुनरागमन गरेका छन् । त्यसपछि आएका पृथु बास्कोटा र रोहितले एपीएफलाई सम्मानजनक जित दिलाएका हुन्। यी दुईले पाचौँ विकेटका लागि ११० रनको साझेदारी गरेका थिए। पृथुले ५३ बलमा ५३ रन बनाउने क्रममा ७ चौका र १ छक्का प्रहार गरे। यसअघि टियू मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश ४ ले बलियो मानिएको एपीएफबिरुद्ध उत्कृष्ट व्याटिङ गरी निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो।

प्रदेश ४ का लागि मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानले ५७ रनको अर्धशतकीय पारी खेले। उनले ६४ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे। उनका अलावा कप्तान विधान श्रेष्ठले ४३, विपिन खत्रीले २७ र अनिल गुरुङले २१ रन बनाए। उसले ३८ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ एपीएफका कमलसिंह ऐरीले ३ तथा अमरसिंह रौतेलाले २ विकेट लिए। 

यता मुलपानी मैदानमा भएको खेलमा प्रदेश नम्बर सातले कर्णाली प्रदेशलाई ४८ रनले हराएको छ। टस जितेर ब्याटिङ गरेको प्रदेश ७ ले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन बनाएको थियो। प्रदेश ७ का लागि सन्जु दमाइले अर्धशतक पार गर्दै ५४ रन र सुनिल चन्दले २५ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ टेक सलामी एक्लैले ५ विकेट लिए। उत्कृष्ट बलिङ गरेका उनले ८.३ ओभरमा जम्मा १२ रन दिएका थिए । १२६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २२.२ ओभर खेल्दा ७७ रनमा अलआउट भयो। 

कर्णालीका रवीन्द्रजंग शाहीले ३६ तथा दिवान पुनले १३ रन बनाउँदा अन्यको प्रदर्शन खराब रह्यो। कर्णालीलाई सस्तैमा समेट्नका लागि म्यान अफ द म्याच शेर मल्लले ५ विकेट लिए भने विनोद लामा र सन्तोष भट्टले २–२ विकेट लिए।

यसअघि आइतबार बिहान युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका थिए। उदघाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा ओलम्पिक कमिटीका महासचिव लामाटेण्डी शेर्पा, राखेप सदस्यसचिव केशवकुमार विष्ट लगायतको उपस्थिति थियो। 

पहिलो पटक संघीय संरचनाअनुसार आयोजना भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता छ। प्रतियोगिता अन्तर्गत सोमबार हुने खेलहरुमा टियू मैदानमा नेपाल पुलिस र प्रदेश ७ र मूलपानी मैदानमा प्रदेश २ र प्रदेश ४ बीच खेल हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.