समाज

गोरे जेल चलान, यस्तो छ अदालत समक्ष गोरेको ३७ पृष्ठको बयान
SHARES

जेठ १३, २०७५

    विराटनगर करिब ३८ क्विन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती 'गोरे' पुर्पक्षकf लागि जेल चलान भएका छन्। जिल्ला अदालत मोरङमा लिइएको चार दिनको बयान र आइतबारको थुनछेक बहसपछि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

    जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजालसले उनलाई कारागारमा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो। चार दिन लगाएर ३७ पृष्ठको बयान आइतबार दिउँसोसम्म गोरेले अदालत समक्ष दिएपछि सोही दिन थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको जिल्ला अदालत मोरङका निमित्त श्रेष्तेदार केदारप्रसाद गौतमले जानकारी दिए।

    गोरेलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ४१ तथा मुलुकी ऐन अब. ११८ देहाय २ का आधारमा पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको मोरङ अदालतले जनाएको छ। सनम शाक्यलाई यातना दिएको श्रव्यदृश्य, पक्राउ परेका अन्य अभियुक्तहरूको बयान र गोरेकै बयानका आधारसहितको प्रमाणमा उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो। 

    बयान सकिएपछि सरकारी वकिलका तर्फबाट बहस भएको थियो। वादीका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मोरङ विराटनगरका मुख्य न्यायाधिवक्ता पुण्यप्रसाद पाठक र सहन्यायाधिवक्ता रोहित पोखरेलले बहस गरेका थिए। वादीका तर्फबाट सरकारी वकिलहरूले बहस गरेपछि प्रतिवादी गोरेको तर्फबाट कानुन व्यवसायी यामबहादुर मगरले बहस गरेका थिए। मगरले गोरेको पक्षबाट ४१ मिनेट मात्र बहस गरे।

    गोरे जेठ ८ मा काठमाडौंबाट पक्राउ परेका थिए। पक्राउ परेका दिन उनलाई हवाई मार्गबाट विराटनगर ल्याएर सोही दिन अबेर जिल्ला अदालत मोरङमा पेस गरिएको थियो। कडा सुरक्षाकर्मी परिचालन गरी गोरेको बन्द इजालसमा बुधबारदेखि बयान लिन सुरु भएको थियो। उनको बयान सकिन चार दिन लागेको हो।

    संलग्नता स्वीकार

    गोरेले अदालत समक्ष दिएको बयानमा सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् तर आफू नाइके नभएको उनको दाबी छ। ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन्। गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन्।

    धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ। आफूले भरियाहरूको सेटिङ मिलाउने गरेको भन्दै गोरेले छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र भएको जिकिर गरेका छन्। उनका अनुसार छिरिङले वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाउने गरेका थिए। सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने उनले बताएका छन्।

    खत्रीको सहयोगमा ५०० केजी सुन भित्रियो

    गोरेले अदालतमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको बयान दिएका छन्। फ्लाई दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको भन्दै उनले दुबईबाट भरियामार्फत् झोलामा सुन आएपछि भरियालाई प्रहरीले पास उपलब्ध गराउने र चेकजाँच नभई सुन खत्रीको कोठामा पुगेर बाहिरिने गरेको बताएका छन्।

    गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे। खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको भन्दै उनले उनकै सहयोगमा ५०० किलोसम्म सुन आएको गोरेले बयानमा स्वीकार गरेका छन्। गोरेको बयानलाई आधार मान्ने हो भने खत्रीले ५०० किलो सुन पास गराउँदा साढे दुई करोड रुपैयाँ बुझेका छन्।

    छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो। खत्री अहिले फरार छन्। छानविन समितिले बयानका लागि बोलाए पनि अनुपस्थित भई फरार भए। उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनमा रेड कर्नर नोटिस जारी गर्ने तयारी छ। उनी तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए तर पछि उनलाई अदालतले सफाइ दिएको थियो।

    प्रहरीसँगको डिलपछि भारत भागेंः गोरे

    गोरेले प्रहरीसँग शव लुकाउने ‘डिल’ भएपछि भारत छिरेको खुलाएका छन्। बयानमा गोरेले सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग दुई करोड रुपैयाँको डिल भएको तर प्रहरीमाथि भर नलागेपछि भागेर काेलकाता पुगेको बताएका छन्। गोरेका अनुसार उनले सुरुमा भारतीय तस्करहरूको समूहले साथीको हत्या गरेको भनी अपराध महाशाखाका प्रहरीलाई बताएका थिए।

    सहयोग माग्दै चिनजानका सई बालकृष्ण सञ्जेललाई फोन गरेको र उनले अरू हाकिमसँग कुरा गरेपछि शव व्यस्थापन गर्न प्रहरी नायव उपरीक्षक प्रजित केसीको नेतृत्वमा टोली पूर्वतर्फ आएको बताएका छन्। बाटोमा डिएसपी केसीले फोन गरेर लास व्यवस्थापन गरिदिएवापत दुई करोड रुपैयाँ पैसा माग गरेको गोरेले बताएका छन्।  सई सञ्जेलले समेत त्यसबारे कुरा गरेको उनी बताउँछन्।

    ‘घटनाको जिम्मा टेकराज मल्लले लिने, शव जंगलतिर कतै राखेर मृतक परिवारलाई खबर गर्ने, क्षतिपूर्ति दिने र टेकराजलाई निश्चित रकम दिने सहमति भयो', उनी भन्छन्, ‘त्यसवापत प्रहरीलाई दुई करोड दिने कुरा भएको थियो।’ तर आफूहरू धरान पुग्दा सनमको मृत्यु भएको गाउँघरमा हल्ला चलेको खबर पाएको उनको बयान छ। ‘त्यसपछि त्यहाँ बस्नु ठीक छैन भन्ने सोचेर निस्किएको थिएँ', उनले भने, ‘टेकबहादुरलाई सञ्जेल मामा आउँदै हुनुहुन्छ। सबै ठीक हुन्छ भनेर म त्यहाँबाट हिँडेको थिएँ।’

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]