|

युगकवि सिद्धिचरण श्रेष्ठको वि.सं. १९६९ जेठ ९ गतेका दिन साविक ओखलढुंगा गाविस– ६ (हाल सिद्धिचरण नगरपालिका– १२) मा भएको थियो। उनी जन्मिएको उक्त स्थानको कि. नं. ३५, क्षेत्रफल आठ आना दुई दाम जग्गा हालसम्म उनकै नाममा नापी दर्ता कायम छ।

तत्कालीन श्री ५ पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि भीमसेन थापाको प्रशासनिक विभाजनअन्तर्गतका ३२ जिल्लामध्ये पूर्व ३ नम्बरको जिल्ला ओखलढुंगा सदरमुकाममा पर्थ्यो र वि. सं. २०१८ को प्रशासनिक विभाजनपूर्व हालको सोलुखुम्बू र खोटाङ दिक्तेल जिल्लासमेत पूर्व ३ नम्बर ओखलढुंगामै पर्थे।

किंवदन्तीअनुसार १६औँ शताब्दीतिर काठमाडौंका मल्ल राजा लक्ष्मीनरसिंह मल्लको पालामा तत्कालीन राज्यको पूर्वी क्षेत्रको रक्षार्थ काजी भीम मल्लको नेतृत्वमा आएको सेनाले साविक ओखलढुंगा गाविस– ६ (हाल सिद्धिचरण नगरपालिका– ५) स्थित ओखलको आकारको खोपिल्टोमा धान कुटी भात पकाएर खाएका थिए। सोही आधारमा यस ठाउँको नाम ओख्लीढुंगा भनिने गरिएकामा पछि आएर यसलाई सुधार गरी ओखलढुंगा भनिएको र सोही ऐतिहासिक स्थानको आधारमा यस जिल्लाको नाम ओखलढुंगा रहन गएको हो भन्ने किंवदन्ती पाइन्छ।

ओखलढुंगाको एक मात्र नगर हो, सिद्धिचरण नगरपालिका। समुद्री सतहदेखि सरदर एक हजार ८४१ मिटर उचाइमा अवस्थित यो नगरपालिका ओखलढुंगा जिल्लाको सदरमुकाम र नगरपालिकाको केन्द्र रहेको छ। 

सिद्धिचरण नगरपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ। यहाँको मुख्य पेसा कृषि हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण प्रसिद्ध पर्यटकीयस्थल पत्ताले यहाँ अवस्थित छ। पत्तालेबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमशृंखला देख्न सकिन्छ।

सिद्धिचरण नगरपालिका– १२ ओखलढुंगाका ६१ वर्षीय मोहनकुमार श्रेष्ठ शिक्षण पेसाबाट अवकाश लिएसँगै २०५४ सालमा राजनीतिमा प्रवेश गरेका थिए। प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनी २८ वर्षसम्म निरन्तर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सभापति भए। नेकपा एमाले जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठ हाल सिद्धिचरण नगरपालिकाको प्रमुख छन्। 

श्रेष्ठ ०५४ सालमा साविकको ओखलढुंगा गाविसको निर्वाचित अध्यक्ष भएका थिए। स्थानीय तहको निर्वाचन भएको १० महिना बितिसकेको छ। यसबीचमा नगरपालिकाले के कस्ता काम गर्‍यो? स्थानीय तह सञ्चालन, नगरको विकास र निर्वाचनका प्रतिबद्धताबारे सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठसँग थाहाखबरकर्मी मनोज भट्टराईले गरेको कुराकानी प्रस्तुत छ–

निर्वाचनताका मतदातासँग गरिएका प्रतिबद्धता के कति पूरा भए?

नगरपालिकामा रहेका १२ वटै वडाहरूमा सडक सञ्जालले छोइसकेको छ, खानेपानी समस्या समाधान गर्न पहल गरिएको छ, एक वर्षमा पूरा गर्ने गरी भ्यू टावरको निर्माण गर्ने भनिए पनि विभिन्न कारणले गर्दा ढिला भए पनि अहिले टेण्डर लागिसकेको छ। यसरी नै सबै वडाहरूमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको काम थालिएको छ। 

एकै पटक सबै काम संभव नहुने हुँदा क्रमिक रूपमा काम गरिएको छ। अपवादमा केही योजनाहरू समयमा सम्पन्न नहुँदा केही समस्या भए पनि मतदातासँग गरिएका प्रतिबद्धता क्रमशः पूरा गर्ने चरणमा छौँ।

विभिन्न कारण देखाएर कामको गति ढिलो भएको भन्ने गुनासो छ नि!

सुरुको समयमा के गर्ने र कसरी गर्ने अन्योलमा नै केही समय बित्यो। नयाँ अभ्यासको क्रममा छौँ। स्वाभाविक रूपमा कामको गति त ढिलो हुने नै भयो तर पनि अहिले देश नै नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको र त्यसबीचमा नयाँ ऐन कानुनले पूर्णता नपाएको बेला यसको असर स्थानीय तहमा नपर्ने कुरै भएन। हामीलाई संविधानले मूल कानुनसँग नबाझिने गरी ऐन, नियम, कानुन बनाउने अधिकार दिएको भए पनि प्रदेश कानुन नबनेसम्म हामीले बनाउन नपाउने कानुनी व्यवधान भएकाले अझै त्यस्ता समस्या रहेका छन्।

काम गर्न कस्ता समस्या छन्? यी समस्या समाधान गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकार कसले के गर्नुपर्ला?

उदाहरणका लागि विषयगत कार्यालय स्थानीय तहमा त आए तर त्यो कार्यालय सञ्चालनको नियमचाहिँ पुरानो र नयाँ कार्यविधि दुवैबाट प्रभावित भएको छ। त्यसैले कुन नियम र कानुनमा रहेर सञ्चालन गर्ने भनेर हामीले निर्देशन गर्न समस्या छ। यहाँ भएका एकाध समस्याबाहेक समस्या सामधानको पहिलो दायित्व स्थानीय सरकारकै हो। केही हदसम्म आफूले नसक्दा समस्या समाधानका लागि प्रदेश सरकार र केन्द्रीय सरकार पनि गुहार्नुपर्ने अवस्था आउन सक्छ।

नगरभित्रको मुख्य चुनौतीचाहिँ के देख्नुभएको छ?

आन्तरिक स्रोत नगण्य छ। हामीले यो आर्थिक वर्षमा ७४ लाख रुपैयाँ आन्तरिक स्रोत संकलन गर्ने लक्ष्य राखेकामा यो दोस्रो चौमासिक सकिँदा ३४ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ। केन्द्रीय सरकारबाट प्राप्त अनुदान पनि जनताको चाहना पूरा गर्ने किसिमको छैन। जनताको अपेक्षा र चाहना असीमित छ तर स्रोत साधन सीमित छ। चुनौतीका बीचबाट अवसर खोजेर जनताको अपेक्षा पूरा गर्ने दायित्व पनि हामीमा छ।

कृषिलाई आधुनिकीकरण गर्दै कृषकलाई व्यावसायिक बन्न आग्रह गर्ने, विभिन्न स्थानमा कृषि पकेट क्षेत्र बनाई युवाहरूलाई सोरोजगारका अवसर दिई नगरलाई समृद्ध बनाउने लक्ष्य रहेको छ। औलोदेखि लेकको भूगोल भएका कारण जल, जमिन र जडिबुटीबाटै नगरलाई आर्थिक रूपमा समृद्ध बनाइनेछ।

त्यसैले हामीले विकास र समृद्धिको सपना पूरा गर्ने आन्तरिक स्रोत वृद्धिको दायरा फराकिलो बनाउँदै सबै क्षेत्रलाई करको दायरामा ल्याएर लक्ष्यप्राप्तिको पहल गर्ने योजना बनाएका छौँ। तर हिजोसम्म जनतालाई करको अभ्यासमा ल्याउनै गाह्रो थियो। हामी जननिर्वाचित भएपछि नगरवासीलाई एक्कासि कर बढाउँदा जनताले त्यसको भारी बोक्न सक्छन् कि सक्दैनन्, त्यसलाई पनि हेर्नुपर्छ। जनतालाई कसरी करको दायरामा ल्याउने भन्ने चुनौती पनि छ। आन्तरिक स्रोत साधन थोरै भएका कारण जनअपेक्षा पूरा गर्न कठिन नै छ। 

के यी चुनौती सामना गर्नु सम्भव हुन्छ?

सकिन्छ। झट्ट गर्न नसकिए पनि यसका लागि हामीले आवधिक योजना बनाउँदै छौँ। पञ्चवर्षीय आवधिक योजना निर्माणका लागि आवश्यक कन्सल्ट्यान्टहरूको सहयोगमा हामीले सुरु गरिसकेका छौँ। यो अब केही समयभित्रै पूरा हुन्छ। त्यसपछि हामी चरणबद्ध रूपमा योजनालाई टेकेर काम गर्छौँ। 

आर्थिक समृद्धि र पर्यटन प्रवर्धनमा सिद्धिचरण नगरपालिकाको के योजना छ? 

लगलगे भ्यू टावर, सिद्धिचरण पार्क, स्रष्टा पार्क, रुम्जाटारको बौद्ध गुम्बा निर्माण, होमस्टेको विकास गरी मुख्यतः पर्यटन प्रवर्धनका काम हुनेछन्। पर्यटक पदमार्गका रूपमा हामीले दूधकोसीदेखि जन्तरखानी हुँदै मोलुङ खोलाको राँगादीपमा रहेको सेफ्ली झरना देखाउँदै बिगु टक्सारसम्मको गन्तव्य मार्ग बनाएर पर्यटन प्रवर्धनमा जोड दिने लक्ष्य रहेको छ। लेकको प्राकृतिक सौन्दर्य र औलोको उर्बर भूमिमा पर्यटन भित्र्याउन जोड दिँदै इतिहास मेटिन लागेको बिगु टक्सारलाई पुनः इतिहासका पानामा लेखाउने लक्ष्य छ। रुम्जाटार विमानस्थलबाट देउराली टोड्के र ओखलढुंगाबाट सोलु सल्लेरी हुँदै सर्वोच्च शिखर सगरमाथासम्म पैदलमार्गको पहुँच, परम्परागत पेसामा आधारित रुम्जाटारको राडीपाखी र भेडापालन व्यवसाय नेवार, गुरुङ, तामाङ, राई र शेर्पा समुदायको संस्कृतिमा आधारित परम्परागत सांस्कृतिक झाँकीले पर्यटक लोभ्याउन कोसिस गरिनेछ।

कृषिलाई आधुनिकीकरण गर्दै कृषकलाई व्यावसायिक बन्न आग्रह गर्ने, विभिन्न स्थानमा कृषि पकेट क्षेत्र बनाई युवाहरूलाई सोरोजगारका अवसर दिई नगरलाई समृद्ध बनाउने लक्ष्य रहेको छ। औलोदेखि लेकको भूगोल भएका कारण जल, जमिन र जडिबुटीबाटै नगरलाई आर्थिक रूपमा समृद्ध बनाइनेछ।

आगामी पाँच वर्षभित्र यहाँको सिद्धिचरण नगरको अवस्था कस्तो हुनेछ?

पहिलो काम प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक, राष्ट्रिय प्रसारणको विद्युत् र खानेपानीको उपलब्धता हुनेछ। त्यसपछि नगरपालिकामा फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान खोजी गरी दीर्घकालीन फोहोर व्यवस्थापन, त्यसमा पनि फोहोरलाई मोहरमा परिणत गर्न स्थानीयलाई उत्साहित गर्ने, पर्यटन प्रवर्धनमा गन्तव्य स्थानको खोजी गरी बढी संख्यामा पर्यटक भित्र्याउने,  अन्य पूर्वाधार, जुन अतिआवश्यक देखिन्छ, ती काम पूरा हुनेछन्। विकासमा आफ्नो कार्यकालमै नगरको मुहार फेर्ने योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.