राजनीति

संघीय सरकारले काम गर्ने वातावरण बनाएन : मुख्यमन्त्री शाही
SHARES

जेठ १३, २०७५

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारले काम गर्ने वातावरण नवनाएको गुनासो गरेका छन्। सुर्खेतमा प्रदेश सरकारका १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सिंगाे क्याबिनेट नै आफूले गरेको कामप्रति सन्तुष्ट नभएको बताए। 

    संघीय कानुन नबनेकाले प्रदेशको कानुन पनि बनाउन नसकिएको शाहीको भनाई छ। मुख्यमन्त्री शाहीले भने, ‘संविधानमा संघीय कानुनले व्यवस्था गरेअनुसार हुनेछ भनेर उल्लेख छ। केन्द्र सरकारले संघीय कानुन बनाएको छैन। हामीले के आधारमा कानुन बनाउने?’ उनले भने ‘संघीय सरकारले जानी जानी संघीय कानुन नबनाएको हो।’ 

    प्रदेश सरकारले कानुन बनाएर अधिकार आफ्नो हातमा लिए केन्द्र सरकारका अधिकार कटौति हुने भएकाले पनि केन्द्र सरकारले जानी जानी कानुन बनाउने वातावरण नबनाएको शाहीको आरोप छ। मुख्यमन्त्रीले भने, ‘एकडेढ हप्तामा संघीय सरकारले संघीय कानुन नबनाए प्रदेश सरकारले आवश्यक कानुन बनाउँछ। हामीले त्यो तयारी गरेका छौं। बरु विषय बाझिएमा करेक्सन गराैँला।’

    प्रदेश सरकारले काम चाहे अनुसारको काम गर्न नसक्नुका कारणबारे मुख्यमन्त्री शाहीले भने, ‘आफ्नै संरचना नहुनु, आवश्यक जनशक्तिको अभाव हुनु, स्रोत साधन सीमित हुनु र आवश्यक कानुन निर्माण नहुनुले हामीले चाहे जस्तो काम गर्न सकेनौं। प्रदेश सरकारले चाहेजस्तो रफ्तारमा काम गर्न नसकेको हो।’ शून्यबाट काम सुरु गरेको प्रदेश सरकारले ‘पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रो धन’ भन्ने नारासहित मुख्य नीति बनाएर काम गरिरहेको मुख्यमन्त्री शाहीको भनाई छ।

    कानुन निर्माणको सवालमा अहिलेसम्ममा मन्त्रिपरिषद बैठकले सातवटा नियमावली तथा विधेयकहरू पारित गरेको शाहीले जानकारी दिए। त्यस्तै २० वटा विधेयकलाई मस्यौदा तयार गर्नका लागि सैद्धान्तिक सहमति बनाएका नौवटा विधेयकहरू संसदमा पेश गर्नका लागि स्वीकृत दिएको शाहीले जानकारी दिए।  २०७४ फागुन ३ मा प्रदेश मन्त्रिपरिषद्को गठन भई ०७४ फागुन ६ मा प्रदेश मन्त्रिपरिषद्ले पूर्णता प्राप्त गरेको थियो। 

    प्रदेशको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, कार्यक्रमहरूको तर्जुमा तथा स्वीकृति गरी कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री शाहीले बताए।हालसम्म कर्णाली प्रदेश सरकारको १३ वटा बैठकहरू सम्पन्न गरेको छ। यसबीचमा यस प्रदेशले राजधानी र प्रदेशको नाम सर्वसम्मतिबाट निरूपण गरिसकेको छ। 
    ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई सफल बनाउन यसबीचमा प्रदेशलाई दिर्घकालसम्म सकारात्मक असर पार्ने खालका महत्वपूर्ण निर्णयहरू प्रदेश सरकारले गरेको  शाहीको भनाई छ। उनले भने, ‘प्रदेशभित्र दिगो शान्ति, सुशासन, दिगो विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न प्रदेश सरकारले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत साधन र स्रोतको अधिकतम् परिचालनद्वारा तीब्र आर्थिक बृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने उद्देश्य लिएका छौं।’

    संस्थागत सुदृढीकरण गर्दै संरचनाहरूको तयारीमा नै अलमलिनु पर्दा मन्त्रीपरिषद्को प्रथम बैठकबाट उदघोष गरिएका विषयहरूको कार्यान्वयनमा सोचे अनुरूप प्रगति हासिल गर्न नसकिए पनि शून्य अवस्थाबाट पूर्णतातिर जाने क्रममा रहेका चुनौतीका पहाडहरूलाई पञ्छाउँदै प्रदेशको समृद्धिका लागि सरकारले स्पष्ट खाका तयार गरेको मुख्यमन्त्री शाहीको भनाई छ।

    प्रदेश सभाबाट नीति, कार्यक्रमका साथै प्रथम बजेट स्वीकृति भई कार्यान्वयनको तहमा पुर्‍याइएको शाहीले बताए।आवश्यक कानुनहरूको तर्जुमालाई अगाडि बढाइएको छ भन्दै प्रदेशमा थप स्रोत साधनको परिचालन गर्न आन्तरिक स्रोत साधनको पहिचान र राजस्वको दायरा बढाउन प्रयास सुरू गरिएको शाहीले बताए। 

    आन्तरिक स्रोत साधनको न्यूनता र संघीय सरकारबाट प्राप्त हुने स्रोत साधनको अतिरिक्त नीजि लगानीलाई आकर्षित गर्न र वातावरण तयार गर्न सरकार लागि परेको सरकारको भनाई  छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]