|

सिन्धुपाल्चोक : लस्करै बसेका पुरुषले तयारी प्याडको नापअनुसार फलाटिनको कपडा काटे। वरिपरि रहेका अरु महिलाले पनि के गर्दा रहेछन् भनेर चासोपूर्वक नियालिरहेका थिए। अरु कुरालाई वास्ता नगरी पुरुषले सिलाउन थाले। त्यसमा भालेपोथी टाँक लगाए। अर्को नरम कपडा समेत राखेपछि प्याड तयार भयो। तयारी प्याड अरुलाई पनि देखाए। कपडा काट्दा अलि लजाएका पुरुषहरु प्याड तयारी भएपछि भने खुसी देखिन्थे।

मेलम्ची नगरपालिकाका विभिन्न विद्यालयका शिक्षकले पहिलो पटक प्याड बनाएका हुन्। बालसुधार मावि दुवाचौरका शिक्षक राजकुमार श्रेष्ठलाई सेनिटरी प्याड बनाउन अप्ठ्यारो लागेन। ‘पहिला बजारमा पाइने प्याड मात्रै देखेको थिएँ। आफैंले बनाउन थाल्दा सुरुमा त असहज महशुस भएको थियो। बनाउँदै जाँदा रमाइलो भयो, सजिलो पनि लाग्यो,’ शिक्षक श्रेष्ठले भने, ‘गाउँघरमा पाइने कपडाबाट पनि बनाउन सकिने र पुन: प्रयोग गर्न मिल्ने भएकाले आर्थिक बचत हुने र स्वास्थ्यका लागि समेत फाइदा पुग्ने रहेछ। अब विद्यालयमा शिक्षक शिक्षिका तथा विद्यार्थीलाई पनि प्याड बनाउन सिकाउँछु।’

जागेश्वरी आधारभूत विद्यालय तालामाराङका शिक्षक अमर तामाङ पनि प्याड बनाउन सक्ने भएका छन्। ‘महिनावारीका बेला छात्राहरु विद्यालयमा अनुपस्थित हुने अवस्था अझै रहेको र सिकाइ उपलब्धि पनि खस्कने गरेपछि महिनावारी व्यवस्थापनबारे छलफल गर्न थालेका छौं,' तामाङ भन्छन्, 'प्याड बनाउँदा मैले महिनावारी व्यjस्थापनमा पुरुषको भूमिका प्रष्टसँग बुझेको छु।’ बजारमा पाइने सेनिटरी प्याडको प्रयोग गर्दा एक त खर्च धान्न मुस्किल पर्ने रहेछ, अर्कोतर्फ आवश्यक परेको बेला पाइँदैन। स्थानीय स्तरमा प्याड बनाउन सकिने विधि सिकेकाले विद्यालयमा प्याड बनाएर जगेडा राख्ने र आपतमा परेका छात्रालाई उपलब्ध गरी महिनावारी हुँदा पनि विद्यालय आउने वातावरण बनाउन सहजीकरण गर्ने शिक्षक तामाङले बताए।

तालिमको क्रममा प्याड बनाउन सिकेका यी शिक्षकले विद्यालयमा महिनावारीबारे छलफल गर्ने, शिक्षक–शिक्षिका तथा छात्रछात्रालाई प्याड बनाउन सिकाउने र यस विषयमा समुदायसम्म सन्देश फैलाउने प्रतिवद्धता गरेका छन्। राजकुमार, अमरसहित पाँच जना पुरुष र १३ जना महिलाले पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउने तालिम लिएका छन्। सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सीडीईसीएफ) र कारितास स्विटजरल्याण्डले मर्यादित महिनावारी र पुनः प्रयोग गर्न सकिने प्याड तयारीका विषयमा शिक्षक शिक्षिकालाई तीन दिने तालिम दिएको हो। महिनावारीका विषयमा अझै खुलेर कुरा हुन नसकेको र महिनावारीका बेला छात्राहरु चार दिनसम्म विद्यालय अनुपस्थित हुने गरेकाले त्यो दर कम गर्न प्याड बनाउने तालिम दिइएको सीडीईसीएफका कार्यक्रम अधिकृत विनोद शर्माले बताए। 

तालिमको क्रममा प्याड बनाउन सिकेका यी शिक्षकले विद्यालयमा मर्यादित महिनावारीका बारेमा छलफल गर्ने, शिक्षक, शिक्षिका तथा छात्र छात्रालाई प्याड बनाउन सिकाउने र यस विषयमा समुदायसम्म सन्देश फैलाउने प्रतिवद्धता गरेका छन्।

‘बजारमा पाइने प्याड महँगो पनि हुन्छ र ग्रामीण भेगमा सहज उपलब्ध पनि हुँदैन। अर्कोतिर बजारीया प्याडमा प्रयोग हुने रासायनिक तत्वले महिलाको स्वास्थ्य र वातावरणमा समेत नकारात्मक असर पर्न सक्ने भएकाले गाउँ घरमै पाइने कपडाबाट प्याड बनाउन सिकाइएको हो।’ अधिकृत शर्मा भन्छन्, ‘खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्द्धन कार्यक्रमअन्तर्गत विद्यालयमा छात्रामैत्री शौचालय तथा प्याड जलाउने इन्सिनेटर समेत बनेको र सरसफाइसम्बन्धी अभिमुखीकरण भैरहेकोमा शिक्षक शिक्षिकालाई प्याड बनाउने तालिम दिएका हाैं।’ 

गाउँघरमा बनाएको सेनिटरी प्याड सफा गरेर पुनः प्रयोग गर्न सकिने भएकोले सहज उपलब्ध हुने, सजिलो, कम खर्चिलो हुने अधिकृत शर्मा बताउँछन्। यस किसिमका प्याडको प्रयोग गर्दा वातावरण प्रदूषण कम गर्ने र महिलाको स्वास्थ्य (छाला तथा पाठेघर) मा पर्न सक्ने नकारात्मक असरलाई पनि कम गर्न सकिने उनको भनाइ छ।

शिक्षाको अगुवाइमा विद्यालयलाई मर्यादित महिनावारीमैत्री बनाउने अभियान सञ्चालन हुने र त्यसमा सीडीईसीएफले पनि सहयोग अधिकृत शर्माले बताए। मेलम्ची नगरपालिकाका ६, ७ र ८ तथा हेलम्बु गाउँपालिकाको १, ३, ४, ५, ६ र ७ का ३२ विद्यालयमध्ये कक्षा ६ भन्दा माथि पढाइ हुने आधारभूत र माध्यामिक गरी १५ विद्यालयलाई मर्यादित महिनावारीमैत्री बनाउने योजना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.