‘संविधान संशोधन नभई कुन नैतिकताले सरकारमा जाने?’

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच एकाएक सरकारमा जाने सहमति भएसँगै अर्को मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाललाई झट्का लागेको छ।

राजपाले सरकारमा जाने विषयमा अब के गर्ला भन्ने विषय अहिले निकै चर्चाको विषय बनेको छ। सरकारले फोरमलाई नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने वातावरण निर्माण गरेपछि राजपालाई भने आशंका उब्जिएको छ तर राजपाले सरकारमा सहभागी हुनका लागि पर्ख र हेरको नीति लिएको राजपाका नेताहरूको धारणा छ। 

संविधान संशोधन र एउटै मधेसका मुद्दा लिएर अघि बढेका यी दुई दलमध्ये एक दल सरकारमा सहभागी हुने भएपछि कतिपय राजपाका नेताहरूले फोरमको यस्तो निर्णयले केही नयाँ संकेत हुन सक्ने धारणा राखेका छन्। सरकार र फोरमबीच भएको सहमतिपत्रमा फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दा तथा संविधान संशोधनका विषयहरू देश र जनताका पक्षमा आपसी समझदारी तथा छलफल गरेर संविधान संशोधन गरिने भनिएको छ। तर फोरम संशोधनमा स्पष्ट नभई सरकारमा सहभागी हुने निर्णयमा पुगेको राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झा बताउँछन्। 

यसकारले यसअघि पनि यस्ता सहमति धेरै पटक भएकाले अहिले पनि सहमति कार्यान्वन होला भन्ने नलागेको उनी बताउँछन्। भन्छन्, ‘उहाँहरूबीच भएको सहमतिमा आपसी छलफलबाट संशोधन गरिनेछ भनेको रहेछ। यसअघि पनि पटक पटक सहमति भएका हुन् तर खोई कार्यान्वयन भएका? फोरमले सरकारमा जान केही हतार गर्‍यो कि!’

फोरम सरकारमा सहभागी भएसँगै अर्को मधेसकेन्द्रित दल राजपा पनि अब तत्काल सरकारमा सहभागी हुन्छ कि भन्ने विषयले यतिबेला चर्चा पाउन थालेको छ। एउटै मुद्दा भएका कारण पनि राजपाले सरकारमा सहभागी हुने निर्णय लिने धेरैको आँकलन छ। तर राजपाले भने संविधान संशोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ। आफूहरूले सरकारमा सहभागी हुनलाई मात्र संविधान संशोधनको मुद्दा नउठाएको राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्रराय यादव बताउँछन्। भन्छन्, ‘जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म हामी सरकारमा सहभागी हुँदैनौँ। सरकारमा सहभागी हुन यो मुद्दा उठाएका होइनौँ। माग पूरा नभएसम्म कुन नैतिकताले हामी सरकारमा जाने?’

राजपाले संविधान संशोधनका लागि भन्दै ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएको छ। उसले यो दुई तिहाई बहुमतप्राप्त सरकारबाट संविधान संशोधन हुनेमा आशा देखाएको छ तर राजपा ढुक्क भने छैन। यसअघि पनि कांग्रेस र तत्कालीन माओवादीले संशोधनको प्रस्ताव संसदमा पेस गरेका थिए तर तत्कालीन एमालेले पास हुन नदिएपछि मधेसकेन्द्रित दल ओलीसँग चिडिएका थिए। 

संविधान संशोधनको पक्षमा रहेको तत्कालीन माओवादी र एमाले एक भएपछि भने राजपाले केही आशा देखाएको छ। ‘हुनत संशोधन नभएसम्म केही भन्न सकिँदैन। संशोधनका लागि नै सरकारलाई विश्वासको मत दिएका हौँ’, अध्यक्ष मण्डलका सदस्य यादवले भने, ‘विश्वास त छ तर ढुक्क छैनौँ। पहिला पनि कांग्रेस र माओवादीले संशोधन प्रस्ताव पेस गर्दा एमालेले हलो अड्कायो।’ 

प्रदेश २ मा निर्वाचनमा तालमेल गरेर संयुक्त सरकार बनाएका फोरम र राजपाको सम्बन्धलाई नेकपाले समर्थन फिर्ता लिएसँगै अब के हुने हो भन्ने चर्चा चल्न थालेको छ। तर फोरमले सरकारमा जाने निर्णय गर्दैमा ऊसँगको सम्बन्ध नबिग्रिने राजपा नेता झा बताउँछन्। भन्छन्, ‘उहाँ अरू छुट्टै स्वतन्त्र पार्टी, हामी छुट्टै पार्टी हो। फोरमले के गर्छ, त्यो हामीले गर्नुभएन।’

यी दुई दलले बोकेको संविधान संशोधनको एजेण्डा सिंगो मधेसी जनताको एजेण्डा भएको उनी बताउँछन्। ‘यो हामी दुई पार्टीको एजेण्डा होइन, सिंगो मधेसी जनताको ३० वर्षदेखिको एजेण्डा हो। यो मधेसी जनताको सम्पत्ति हो’, उनले भने, ‘फोरमले संविधान संशोधन नभई सरकारमा जाने भएर राम्रो गर्‍यो/गरेन, म भन्न सक्दिनँ। यसको मधेसी जनताले मूल्यांकन गर्छन्।’

प्रदेश २ मा नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु र केन्द्रमा फोरम सरकारमा जाने निर्णय गर्नुले राजपा र फोरमको सम्बन्ध टुट्ने हो कि भन्ने चर्चा चल्न थालेको छ। अंक गणितका हिसाबले पनि प्रदेश २ मा सरकार निर्माणका लागि नेकपा र फोरमको बहुमत पुग्ने भएका कारण पनि यस्तो चर्चा चल्दै आएको छ। 

केन्द्र सरकारमा फोरम जाँदैमा प्रदेश २ सरकारमा आफूहरूको सहकार्य नटुट्ने राजपा अध्यक्ष मण्डलका सदस्य यादव बताउँछन्। भन्छन्, ‘प्रदेश २ को सरकारमा केही असर पर्दैन। प्रदेश २ को सरकार फोरमले चाहँदैमा, हामीले चाहँदैमा केही हुँदैन। त्यो सरकार आममधेसी जनताको चाहनामा बनेको सरकार हो। पहिचानको सरकार हो। त्यसैले प्रदेश सरकारमा सहकार्य टुट्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.