कबाट कलम, ख खुकरी, ब बन्दुक...

|

रुकुम : तत्कालीन नेकपा माओवादीले रुकुमको तत्कालीन मोराबाङ गाविसको क्याङ्सीमा २०६१ मा स्थापना गरेको वासु स्मृति जनवादी विद्यालय राष्ट्रिय शैक्षिक संग्रहालय हुने भएको छ। उक्त विद्यालय माओवादीका पोलिटब्युरो सदस्य सुरेश आले (‘वासु’ नाम स्थापना भएको हो। अहिले बन्द भएको उक्त विद्यालयको भवन, ‘जनवादी’ पाठ्यपुस्तक र अन्य भौतिक सामग्रीहरूलाई राखेर शैक्षिक संग्रहालयको विकास गर्ने तयारी गरिएको हो।

माओवादीले स्थापना गरेका जनवादी विद्यालयमा रुकुम पूर्वको भूमे गाउँपालिका–३, क्यांसीमा रहेको उक्त विद्यालय पनि एक हो। सोही विद्यालयलाई गाउँपालिकाले राष्ट्रिय शैक्षिक संग्रालयको रुपमा विकास गर्ने अन्तिम गृहकार्य भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए।

के हो जनवादी विद्यालय ?

माओवादी सशस्त्र युद्धताका उसले आफ्ना नेता, कार्यकर्ता, जनसेना, शहीद, घाइते, अपाङ्ग परिवारका छोराछोरीहरुलाई शिक्षा दिलाउने उद्देश्यले माओवादी शिक्षा विभागअन्तर्गत खोलिएका विद्यालय हो। उक्त विद्यालयमा पार्टीले नै तयार गरेको ‘जनवादी’ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढाइ हुन्थ्यो।

यस विद्यालयमा २० जना टुहुरा बालबालिकासहित १११ जना अध्ययन गर्थे। विद्यालयमै खाने बस्ने व्यवस्था गरिएको थियो। रुकुमसँगै छिमेकी जिल्ला जाजरकोट, रोल्पा, सल्यान र बाग्लुङका विद्यार्थी थिए। विद्यालयको सम्पूर्ण खर्च माओवादी कार्यालयबाट नै ब्यहोरिने गरिएको थियो। 

क कलम, ख खुकुरी... 

जनवादी विद्यालयमा कक्षा ४ सम्म पठनपाठन हुन्थयो। पार्टीको शिक्षा विभागले तयार पारेको पाठ्यपुस्तक सरकारी विद्यायको भन्दा फरक रहेको स्थानीय मनराखे कामीले बताए। ‘सुरुमा अनौपचारिक रुपामा पढाइ भए पनि पछि आफ्नै फरक पाठ्क्रम, कार्ययोजना र शिक्षण विधि अपनाई आवासीय तरिकाबाट पढाइन्थ्यो,’ उनले भने, ‘पुस्तकमा माओवादी पार्टीको परिचय, नेताका जीवनी, हातहतियार र युद्ध कौसलसम्बन्धी पढाइ हुन्थ्यो।’

यस विद्यालयमा क कलम, ख खुकुरी र ब बन्दुक, छ छापामार,  ल लालसेना, क्ष क्षेप्यास्त्र भनेर पढाइ हुने गरेको स्थनीय शिक्षक जीवन रोकाले बताए। त्यस्तै, अंग्रेजीमा ए फर आर्मी, बि फर ब्लास्ट, जि फर गन र आर फर राइफल भनेर अक्षर चिनाउने गरिएको रोकाले बताए। विद्यालयको राष्ट्रिय गानमा जहाँ विश्वभरिका कम्युनिष्टहरूले गाउने ‘उठ जाग भोका नाङ्गा...’ बोलको गीत गाइन्थ्यो। 

स्थापनाकालमा माओवादी पार्टीको शिक्षा विभागले तयार परेको पाठ्यपुस्तक पढाइ भए पनि करिब सात वर्षपछि सरकारी पाठ्यपुस्तक पठनपाठन सुरु भएको थियो। माओवादी शान्ति प्रकृया मार्फत गएर सरकारमा सामेल भएपछि सरकारी पाठ्यपुस्तक पढाइ हुन थालेको थियो।

नजिकै अर्को सरकारी विद्यालय भएकाले व्यवस्थित बनाउने भन्दै उक्त विद्यालयलाई जनवादी विद्यालयलाई सरकारी विद्यालयमा गाभियो। दुई विद्यालय एकापसमा गाभ्दा स्थापना भएको विद्यालयको नाम शहीद वासु स्मृति नमुना आधारभूत विद्यालय राखियो। विद्यालय नेपाल सरकार मातहत आएपछि जनवादी विद्यालयको भवन र पाठ्यपुस्तक बेवारिसे बनेको स्थानीय मनराखे कामीले बताए।

जीर्ण विद्यालय

शैक्षिक संग्रहालयको रूपमा विकास गरिने जनवादी विद्यालय अहिले जीर्ण छ। भवनको बाहिर तारजाली लगाएर सुरक्षित गरिए पनि भित्र भद्रगोल छ। भित्र भवन मुसाले खोलेको छ। विद्यालय परिसरमा झार उम्रिएको छ। किताब र अन्य शैक्षिक सामग्रीहरु यत्रतत्र छरिएका छन्।

यस विद्यालय ऐतिहासिक भएकाले सरकारले संरक्षणका विशेष कार्यक्रम ल्याउनु पर्ने स्थानीयको माग छ। स्थनीय रामबहादुर रोका क्याङ्सीकै जनताको पसिनाबाट निर्माण भएको भन्दै त्यसलाई पार्टीको कुरा मात्र नगरेर तत्काल संरक्षण गर्नुपर्ने बताउँछन्। 

रोकाका अनुसार उक्त विद्यालयको भवन स्थानीयसँगै आसपासका नागरिकले जनश्रमदानबाट निर्माण गरिएको हो। ‘द्वन्द्वकालमा पनि व्यवस्थित रूपमा सञ्चालन भएको विद्यालय माओवादी शान्ति प्रकृयामा आएपछि पार्टीले बेवास्था ग¥यो र लथालिंग भयो,’ उनले भने,  ‘अब स्थानीय सरकारले पनि यसको बेवास्ता नगरोस्, यो हाम्रो प्रतिष्ठासँग जोडिएको पनि विषय हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.