|

काठमाडौं: आगामी आर्थिक वर्षका लागि मंगलबार  सार्वजनिक गर्ने बजेटका लागि मन्त्रीसहितका अर्थका अधिकारीहरूले सोमबार मध्य रातसम्म कसरत गरे। अर्थमन्त्री युवराज खतिवडा राति १२ बजे बजेटका लागि गर्नुपर्ने काम सकेर 'क्वार्टर' फर्केका थिए।

सोमबार साँझ ५ बजेपछि अर्थमन्त्रालयका सबै ढोका थुनेर मन्त्रीसहितका अधिकारी बजेट निर्माणको अन्तिम तयारीमा जुटेका थिए। अर्थमन्त्रालय बजेट महाशाखा,अन्तर्राष्ट्रिय बजेट समन्वयन महाशाखा र अनुगमन तथा मूल्यांकन महाशाखाका अधिकारीका साथै सचिव र सहसचिवहरू राति अवेरसम्म बसेर बजेट निर्माणमा जुटेका हुन्।

सोमबार राति नै आर्थिक ऐन छपाइको लागि पठाएर छाप्ने काम सकिएको अर्थमन्त्रालयले जनाएको छ। आर्थिक ऐनको काम सकिएपछि अनुगमन शाखाका अधिकारीहरूले राति छाप्न लगेका थिए।

अर्थमन्त्रीले सदनमा प्रस्तुत गर्ने बजेट भने अझै छापामा पठाइएको छैन। अर्थका अधिकारीहरूका अनुसार दिउँसो ११ बजेपछि मात्रै बजेट छाप्न पठाइने छ। बजेट निर्माणको काम सकिएर तयार गरिए पनि बजेट अंक भाषणअगावै सार्वजनिक हुने डरमा छपाइमा ढिलाइ गरिएको हो।

अर्थमन्त्री खतिवडा बजेटमा निकै कडाइ गरेका छन्। उनले शंका मान्न सकिने आधारमा पनि बजेट आउनु अघि बजेटका अनुमानित अंक वा कार्यक्रमको विषयमा नबोल्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन्।

यसअघि २०६७/६८ मा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ल्याएको बजेट पढ्नुपूर्व सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। त्यसपछि बजेट निर्माणमा विशेष कडाइ गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.