नागरिकताको प्रमाणपत्रै नक्कली

|

भक्तपुर मिर्गौला तस्करीमा गिरोह नै सक्रिय भएको पाइएको छ। तस्करहरुले नाताप्रमाण र नागरिकताको प्रमाणपत्र समेत नक्कली बनाई कानुन बमोजिमको आवश्यक कागजपत्र समेत तयार गर्ने गरेका छन्। मिर्गौला पीडितले प्रत्यारोपणका लागि मिर्गौलाको खोजी गरेको थाहा पाएपछि तस्करहरुले विपन्न परिवारका नागरिकलाई आर्थिक लोभमा फसाएर अंग दान गर्न राजी गराउने गरेको समेत खुलासा भएको छ।

भक्तपुरमा मानसिक रूपमा अशक्त युवकको मिर्गौला झिकेर प्रत्यारोपण गरेको घटना प्रकाशमा आएसँगै मिर्गौला तस्करीमा गिरोह नै संलग्न भएको खुलासा भएको हो। मानसिक रूपमा अस्वस्थ काभ्रेपलाञ्चोकको साविक टुकुचा गाविस–९ घर भई हाल बनेपा नगरपालिका–२ बस्ने २९ वर्षीय कुमार गिरीको मिर्गौला झिकेर विराटनगर उपमहानगरपालिका–१ घर भई हाल भक्तपुर नगरपालिका–१ डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरेको घटनाले मिर्गौलाको तस्करी हुने गरेको खुलासा भएको हो।

कुमारका दाजु प्रल्हादको जाहेरीका आधारमा थर्कबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले बताए। प्रल्हादले मिर्गौला पिडित थर्कबहादुरले लोभलालच देखाएर आफ्ना भाइ कुमारको मिर्गौला लिएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका थिए। थर्कबहादुरले गत बैशाख १० गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका थिए।

कुमारका बुवा भोलानाथका अनुसार मानसिक रोगका कारण कुमार एकै स्थानमा नबस्ने, प्रायः आफन्त, नातागोताकोमा गएर बस्ने गर्दथे। ‘यस पटक पनि महिना दिनसम्म घर नआउँदा आफन्तकोमा गएर बसेको होला भनेर बसियो, भोलानाथले भने, ‘अहिले आएर यस्तो गति भयो।'

गिरोहले थर्कबहादुर र कुमारबीच बाबु–छोरा भएको नाता प्रमाणित गरेका थिए। त्यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङबाट कुमार थर्कबहादुरको छोरा भएको नागरिकता समेत निकालिएको छ। नागरिकतामा कुमारको जन्म मिति २०५१ साल उल्लेख भएको छ भने नागरिकता नं. २०६५ रहेको छ। नाता प्रमाणितको चलानी नं. २०७४/०७५/५३३ रहेको छ।

यसरी बनेको थियो योजना

पीडित कुमारले आफुलाई गाउँकै डिल्लुराम गिरी र लालचन्द्र गिरीले थर्कबहादुरको छोरा आशीष बस्नेतसँग चिनजान गराएको बताए। आफ्ना बुवाका लागि मिर्गौलाको खोजीमा रहेका आशीषले आफुलाई पैसा र जग्गाजमिन दिन्छु भनी लोभ देखाएको र एक पटक भागेर जाँदा पक्रेर धम्की समेत दिएकाले मिर्गौला दिन राजी भएको बताए।

बाबुको मिर्गौला प्रत्यारोपण गर्न आशीषले मिर्गौला खोजी गर्ने क्रममा डल्लुराज र लालचन्द्रसँग भेट गरी योजना बनाएको पाइएको प्रहरी स्रोतले बतायो। डल्लुराज र लालचन्द्रले आशीषलाई मानसिक रोगी रहेको र परिवारसँग सधै नबस्ने कुमारको मिर्गौला झिक्दा कसैलाई थाहा नहुने भन्दै योजना बनाएको पीडितका बुबा भोलानाथ गिरीले दाबी गरेका छन्। गिरोहले योजनाअनुसार चाँगुबाट कुमारलाई समातेर डेरामा ल्याई फकाएर राखेको र भाग्दा पनि पिछा गरेर समातेर ल्याउँदै कोठामा राख्दै डर, धम्की, त्रास र प्रलोभन देखाउने गरेको पाइएको पीडित परिवारको जिकिर छ। हाल आशीष, डल्लुराज र लालचन्द्र फरार छन्। प्रहरीले उनीहरुको खोजी भइरहेको बताएको छ।

प्रत्यारोपण केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले सबै कागजी प्रकृया पूरा गरेर र पीडित कुमारसँग पनि पटक पटक सोधपुछ गरेर उनको मञ्जुरीमा नै मिर्गौला झिकिएको दावी गरे। ‘मिर्गौला झिक्नुअघि हामीले अंग दिनेलाई एक्लै राखेर पनि साधेपुछ गर्छौ, उनले भने, ‘त्यसबेला पनि उनले थर्कबहादुरको छोरा भएको र बुवाको ज्यान बचाउन आफुले मिर्गौला दिन राजी भएको बताएको थियो।’उनले नक्कली छोरा बनेको भए कानुन बमोजिम सजाए हुने र १० वर्ष जेल बस्नु पर्ने डर देखाउँदा समेत थर्कबहादुर कै छोरा भएको कुमारले जिकिर गरेको बताए। उनका अनुसार कुमार थर्कबहादुरको छोरा भएको थप प्रमाणका रुपमा विद्यालयको प्रमाणपत्रहरु समेत पेश भएको र ती प्रमाणपत्रमा कुमारले ८० प्रतिशतसम्म अंक हासिल गरेको देखाएको छ।

गत वैशाख १० गते मिर्गौला निकालेर थर्कबहादुरमा प्रत्यारोपण गरिएपछि एक साता केन्द्रमा नै राखेर उपचार गरेको र त्यसपछि डेरामा लगिएको पीडित कुमारले बताए। बस्नेत परिवारले अस्पतालबाट डिस्चार्ज भएपछि कुमारलाई झन्डै दुई साता आफ्नै डेरामा राखेर जेठ ९ मा सीतापाइलास्थित कुमारका फुपु शारदा गिरीको घर नजिक लगेर छाडिदिएका थिए। फुपुको घरमा कुमारले नुहाउँदा पेट चिरिएको देखेपछि घटना सार्वजनिक भएको थियो।

पीडित परिवारले घटनामा प्रत्यारोपण केन्द्रका चिकित्सकको समेत संलग्नता हुन सक्ने आशंका व्यक्त गरेको छ। ‘मिर्गौला झिक्नुअघि पटक–पटक स्वास्थ्य परीक्षणलगायत रगतको समेत जाँच गर्दा मानसिक अवस्था ठिक नभएको र मानसिक रोगको औषधि सेवन गरेको चाल नपाउनु केन्द्रको कमजोरी हो।’ कुमारका आफन्तले नाम नखुलाउने सर्तमा भने, 'यसमा प्रशासनले गम्भीर ढंगले अनुसन्धान गर्नुपर्छ।'

हाम्रो गल्ती छैन : प्रत्यारोपण केन्द्र

यसैबीच राष्ट्रिय प्रत्यारोपण केन्द्रले कुमारको मिर्गौला झिकेर थर्कबहादुर बस्नेतमा प्रत्यारोपण गरेको घटनामा केन्द्रको कुनै लापरवाही र अनियमितता नगरेको दाबी गरेको छ। केन्द्रले सोमबार पत्रकार सम्मेलन गर्दै कानुन र प्रत्यारोपणका सबै प्रकृया पुर्‍याएर प्रत्यारोपण गरेको दावी गरेको छ। पत्रकार सम्मेलनमा केन्द्रका प्रमुख डा. पुरकारचन्द्र श्रेष्ठले सम्पूर्ण कागज मिलाएर सरकारले व्यवस्था गरेअनुसार गठन भएको प्रत्यारोपण स्वीकृति समितिले गरेको अन्तिम सिफारिसको आधारमा केन्द्रले मिर्गौला प्रत्यारोपण गरेको बताएका छन्। उनले नक्कली कागज बनाएर अस्पताल र प्रशासनलाई समेत झुक्याउने गिरोहलाई कडा कारबाही हुनुपर्ने माग समेत गरे।

डा. श्रेष्ठले भने, ‘घट्नाको सूक्ष्म रुपमा अनुसन्धान होस्, हामी अनुसन्धनमा सघाउन तयार छौं। पछिका दिनमा यस्ता घटना नदोहरियोस्, घटनामा दोषीलाई कडा कारबाही होस्।' केन्द्रका नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठले उक्त घटनामा अस्पतालको कुनै दोष नभएको दाबी गरिन्। उनले भनिन्, ‘वडा कार्यालयदेखि नै नाता प्रमाणित गरेर सबै प्रक्रिया र कागजपत्रहरु मिलाएर ल्याइएको छ। अप्रेशन हुनुभन्दा अगाडि पनि दातालाई अन्तिम पटक सोध्ने गरिन्छ, यसमा अस्पतालको तर्फबाट कुनै कमजोरी भएको छैन।’उनले पिडित कुमारले मानसिक रोगको औषधी सेवन गरिरहेको भने पनि स्वास्थ्य परीक्षणका क्रममा त्यस्तो नपाएको दावी गरे।

केन्द्रका कानूनी सल्लाहकार कुमुद भट्टराईले पनि मिर्गौला प्रत्यारोण गर्नु अगाडि नै प्रत्यारोपण स्वीकृत समितिले सबै कागजपत्र हेरेर शंकास्पद देखिएको हकमा सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासनमा थप प्रमाणिकरणका लागि पत्र पठाउने गरिएको बताउँदै सबै प्रक्रिया पुर्‍याएपछि मात्रै मिर्गौला झिक्ने गरिने बताए। उनले भने, ‘मिर्गौला दान गर्ने दातालाई मिर्गौला झिक्नका लागि शल्यक्रिया गर्नु अगाडिसम्म सोध्ने परम्परा रहेको छ। यस घटनामा पनि कुमारले मै आशिष हुँ, म थर्कमान कै छोरा हुँ मिर्गौला दान गर्न म राजी छु भनेपछि मात्रै शल्यक्रिया गरिएको हो।' सबै कागजतमा पीडित कुमारले आफैले सनाखत गरेको उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.