|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले सरकारले १०० दिनमा गरेको कामको प्रगति विवरण पेस गरेका छन्। साेमबार मुख्यमन्त्री राउतले पेस गरेकाे सरकारकाे १०० दिनको अवधिमा भएका कामकाे कार्य प्रगति विवरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणदेखि प्रदेशमा भएका सडक, सिँचाइ तथा भौतिक पूर्वाधारका क्षेत्रमा भएका विकास निर्माणसम्मका योजनालाई समेटिएको छ।

मुख्यमन्त्री राउतले तीन लाख बढी जनताको उपस्थितिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल बनाएर प्रदेश सरकारले दशकौँसम्म नभएको काम गरेर इतिहास बनाएको र जनकपुरलाई विश्वभर चिनाउन सहयोग पुर्‍याएको बताए। यसको फलस्वरूप प्रदेश २ का जनताको मानसम्मान र गरिमा उच्च बनाएको दाबी पनि गरेका छन् प्रतिवेदनमा। उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले अन्तर्र्राष्ट्रियस्तरमा प्रसिद्धि कमाउँदै पर्यटकको संख्यामा बढोत्तरी भएको पनि उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले सरकारको दोस्राे सफलताको रूपमा संविधानको अनुसूची- ६ मा समावेश भएका २१ वटा अधिकारहरूमध्ये अधिकांश विधेयक तयार भइसकेकाे  बताए। साथै प्रदेशलाई शक्तिशाली बनाउने प्रदेश प्रहरी ऐन अन्तिम चरणमा पुगेको र छिट्टै संसदमा टेबल हुने पनि जानकारी दिए। त्यस्तै, प्रदेश लोकसेवा आयोग, निजामती कर्मचारी ऐन जस्ता शक्तिशाली विधेयक तयार भइसकेको र कानुन आर्थिक कार्यविधि ऐन र विनियोजन ऐन प्रदेशसभाबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित भइसकेको समेत जनाए।

मुख्य न्यायधिवक्ताका काम, कर्तव्य र अधिकार तथा सेवा शर्तसम्बन्धी विधेयक, जिल्ला समन्वय समिति, नगरसभा, गाउँसभा, गाउँसभा सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का पदाधिकारीहरूको सेवा सुविधासम्बन्धी विधेयक, सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक, प्रदेशसभा सभामुख/उपसभामुख तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक प्रदेशसभामा दर्ता भइसकेको जानकारी पनि गराए।

यसैगरी प्रदेश प्रहरी विधेयक, प्रदेश सञ्चित कोष संचालन कार्यविधि विधेयक, कर तथा गैरकर राजश्व उठाउनेसम्बन्धी विधेयक, प्रदेश आकस्मिक कोष संचालनसम्बन्धी विधेयक, प्रदेश सवारी कर असुर उपर विधेयक, मनोरंजन कर असुल उपर विधेयक, वन विधेयक, विपद् व्यवस्थापन विधेयक बनाउनका लागि मन्त्रिपरिषद्‌बाट सैद्धान्तिक सहमति भइसकेको उनले बताए।

मुख्यमन्त्री राउतले प्रदेश विश्वविद्यालय, प्रदेश गुठी व्यवस्थापन, प्रदेश रेडियो तथा टेलिभिजन संचालन, वैदेशिक रोजगारमा रहेका युवाहरूका घर परिवारलाई सामाजिक सुरक्षा उपलब्ध गराउने विधेयक तयार भइसकेको जानकारी पनि गराए। संसदमा मुख्यमन्त्री राउतले आफूले ल्याएको 'बेटी पढाऊ, बेटी बचाऊ' अभियानअन्तर्गत बारा, पर्सा र धनुषालगायतका स्थानमा पाँच हजार बढी बालबालिकालाई विद्यालय भर्ना गराई केही बालबालिकाको मुख्यमन्त्री तथा मन्त्रीहरूले अभिभावकत्वसमेत गहण गरेको उल्लेख गरेका छन्। साथै मुख्यमन्त्रीले निम्न आय भएका, गरिब, असहाय तथा दलित विद्यार्थीका लागि जीवन बीमा र साइकल उपलब्ध गराउने कार्यको थालनी गरेको प्रगति विवरणमा उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले स्वच्छता अभियानअन्तर्गत जनकपुरधाम, वीरगंजलगायतका शहरहरूमा सरसफाई अभियान, असई परीक्षामा अनुगमनसँगै परीक्षा प्रणालीमा सुधार ल्याएको समेत दाबी गरेका छन्। उनले प्रदेश सरकारले नीति आयोगको गठन, मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको मधेस शहीद प्रतिष्ठान कार्यविधिले एक शहीद एक रोजगारको व्यवस्था यसै महिनामा कार्यान्वयनमा आउने, शहीद परिवारका लागि उच्च नश्लका दुधालु गाई-भैँसी उपलब्ध गराउने तथा गोठ निर्माणका लागि आर्थिक सहयोग गर्ने पनि जनाए। 

मुख्यमन्त्रीले जनताको कचहरी, जनताको सरकार, जनताकै योजनाअन्तर्गत धनुषाको नाथपट्टी, विसनभोरा, महोत्तरीको सोनमा तथा वीरगंज इनर्वामा जनतासँग प्रत्यक्ष संवाद भइसकेको र घरसम्म पुग्ने कार्यक्रम पनि जारी रहेको बताए। यसैगरी जन्मसिद्ध नागरिकता लिएका सन्तानका छोराछोरीलाई वंशजको नागरिकता यथाशीघ्र दिन मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रमुख जिल्ला अधिकारीलाई पत्राचारसमेत गरिसकेकाले नागरिकता वितरणमा सहजता आउने आशा गरिएको उल्लेख गरे।

सिरहाको लहानमा बम विस्फोटको घटनालाई सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिका लागि सरकारको निर्णय भइसकेको जलेश्वर, सिरहा, सप्तरीलगायतका कारागारहरूको अनुगमन भई सुधारका लागि निर्देशन दिइसकिएको जनाएको छ। यसैगरी प्रदेश सरकारको प्रहरी तालिम केन्द्र मिथिला नगरपालिकास्थित चमिनियामाई स्थापना गर्न सर्वदलीय निर्णय गरिएको, बाराको गढीमाई नगरपालिकामा भएको आगलागीपीडितलाई २४ घण्टाभित्र राहत उपलब्ध गराइएको, जनकपुर-जलेश्वर-जटही सडक खण्डमा अनुगमन गरी काम द्रुतगतिमा अगाडि बढाउन निर्देशन दिइएको लगायत २४ बुँदे प्रगति विवरण संसदमा पेस गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.