संखुवासभा : निर्माणाधीन राष्ट्रिय गौरवको अायाेजना अरुण तेस्रो परियाेजनाको निर्माण कार्यमा अवरोध गर्ने जोकाेहीलाई पनि आतंककारी घोषणा गरी कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताएका छन्। मुअब्जा नपाएको भन्दै पावर हाउस दिदिङ जाने अरुण तेस्रो प्रवेशमार्ग आसपासका प्रभावितहरूले पटक पटक अवरोध गर्दै आएका छन्।
अरुण तेस्रो प्रवेश मार्गमा अवरोध भएको उजुरी जिल्ला प्रशासनलाई गरेपछि सोमबार जिल्ला प्रशासन कार्यालय संखुवासभामा भएको स्थानीयसँगको छलफलमा अधिकारीले यस्तो बताएका हुन्। हालसम्म भएका अवरोधलाई माफी दिए पनि आगामी दिनमा यस्ता गतिविधि गर्नेलाई आतंककारी घोषणा गरी प्रशासनले कडा कारवाही गर्ने पनि अधिकारीले बताए।
आफ्ना मागहरू पूरा गराउन स्थानीय सरकारमार्फत् विधिगत ढंगले सम्बन्धित निकायमा पहल गर्न अधिकारीले सुझाव दिएका छन्। आफू र आफ्नो कार्यालय सदैव जनताको हितमा काम गर्ने निकाय भएकाले स्थानीयका जायज मागप्रति आफूले जहिलै सकारत्मक रूपमा लिने पनि प्रजिअ अधिकारीले बताए। यस सडक खण्डमा छ्यांकटी २४ किलोमिटरसम्मका २२० रोपनी जग्गाधनीले मुअब्जा पाउन बाँकी रहेको अरुण प्रवेश मार्ग खाँदबारीका इन्जिनियर गागलबहादुर भण्डारीले बताए। त्यसैगरी पावर हाउस क्षेत्र नजिकको साढे चार किलोमिटर सडक क्षेत्रका जग्गाधनीले पूर्ण रूपमा मुआब्जा पाउन सकेका छैनन्। यस क्षेत्रमा पर्ने १९ घर परिवारले ७८ रोपनी जग्गाको मुअब्जा लिएको कुनै विवरण नभएको पाइएको छ।
अरुण प्रवेश मार्गले अहिले चार किलोमिटर क्षेत्रमा मुआब्जा वितरण नगरी सडकको ट्र्याक खोल्ने कार्य धमाधम चलिरहेको छ। मुआब्जा नपाएकाहरूको विवरण निर्माण कम्पनी र नेपाल सरकारलाई बुझाइसकिएको छ। चिचिला गाउँपालिकाअन्तर्गत अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माणस्थल पुखुवा जाने सडकमार्गमा स्थानीयले अवरोध गरेका थिए। स्थानीयले अरुण तेस्रोअन्तर्गत २९८ रोपनी जग्गाको मुअब्जा पाउनुपर्ने भन्दै एक वर्षअघिदेखि माग राख्दै लगानी बोर्ड समक्ष ज्ञापनपत्रसमेत बुझाइसकेका छन्।
पीडितहरूले साढे चार किलोमिटर जग्गाको पूर्ण रूपमा मुआब्जा पाएका छैनन्। सडक निर्माण कार्यमा निर्माण व्यवसायीको लापरवाहीले सडक निर्माण गर्दा स्थानीयको उब्जनीयोग्य जमिन र अन्नबालीमा समेत क्षति पुगेको छ। स्थानीय छत्रमणि काफ्लेका अनुसार सडक निर्माणका लागि १५ मिटरको मुआब्जा वितरण गरिएको भए पनि सडक निर्माणले २०० मिटर तलसम्म क्षति पुर्याएको छ। उनले भने, 'कम्तीमा चार मन अलैँची उत्पादन हुने वगानमा सडक खनियाे। अलैँची माटोले पुरेर सखाप परेको छ। यसको क्षतिपूर्ति कसले दिन्छ।' अर्का स्थानीय नयन्द्र राईले भने, '३० पाथी धानको बिउ लाग्ने खेतमा अहिले ३० गेडो लाग्ने छैन।' पटक पटक समस्याको समाधानका लागि सम्बन्धित निकायसँग माग गर्दा सुनुवाइ नभएको उनको भनाइ छ।
सडकामा नाली काट्ने, पाइप राख्ने जस्ता काम हिउँदमा नै गर्नुपर्ने भए पनि वर्षायाम सुरु भइसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन। सडकको भल व्यवस्थापन नगर्दा खेतीयोग्य जमिन सडकको लेदो माटोले पुरिएपछि स्थानीय चिन्तित बनेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।