|

काठमाडौं : उपत्यकामा बढ्दै गएको सवारी उपत्यकामा बढ्दै गएको सवारी चाप, सीमित सडक, सवारी चालकले नियम उल्लंघन गर्ने जस्तो प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गएको छ।

 त्यसमा अझ महानगरीय ट्राफिक प्रहरी महाशाखामा जनशक्ति अभावका कारण समस्या उत्पन्न भएको ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तको भनाइ छ।

ट्राफिक प्रहरीका अनुसार उपत्यकामा दैनिक १२ लाख हाराहारीका सवारी साधन चल्ने गरेका छन्। तर, व्यवस्थापन गर्न भने ट्राफिक महाशाखामा एक हजार ८५ जनाको मात्रै दरबन्दी रहेको छ। दरबन्दी अभाव भएपछि ट्राफिक महाशाखाले देशभरबाट तालिममा आएका ट्राफिकलाई समेत काममा खटाएर एक हजार ३३६ जना पुर्‍याएको एसएसपी पन्तले बताए।

उपत्यकामा दरबन्दी भएका ट्राफिक प्रहरी अहिले उपत्यकामा बस्न इच्छुक नदेखिने गरेको ट्राफिक महाशाखाको भनाइ छ। यसमध्ये दरबन्दी भएका २८७ जना सरुवा भएका छन्। तर उपत्यकामै जनशक्ति अभावका कारण उनीहरूको रमाना नदिएर रोकिराखेको छ।

सरुवा भएर अन्य ठाउँ जान खोज्नेमा अधिकांश ट्राफिक प्रहरी जवान रहेका छन्। बाहिरी जिल्लाबाट उपत्यका सरुवा भएर आउनुपर्ने ३२८ जनासमेत हालसम्म नआएको एसएसपी पन्तको भनाइ छ। केही समयअघि बाहिरी जिल्लाबाट उपत्यका आउन शक्तिकेन्द्र धाउने ट्राफिक जवानदेखि ट्राफिकका हाकिमहरू आजभोलि उपत्यकाबाहिर जान शक्तिकेन्द्र धाउन थालेको ट्राफिक प्रहरी स्रोतको भनाइ छ।

उपत्यकाका विभिन्न ३५ स्थानमा कार्यालय खोलेर सेवा दिए पनि जनशक्ति अभावका कारण उपत्यकामा ट्राफिक जाम भने जस्ताको त्यस्तै रहेको छ। उपत्यकाका विभिन्न ३५ स्थानमा कार्यालय खोलेर सेवा दिए पनि जनशक्ति अभावका कारण ट्रफिक जाम भने जस्ताको त्यस्तै रहेको छ। उपत्यकामा अहिले एक जना ट्राफिक प्रहरीले दैनिक आठदेखि १४ घन्टासम्म काम गर्नुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ।

उपत्यकाको थापाथली, नयाँ बानेश्वर, बालाजु चोक, ललितपुरको सातदोबाटोलगायत मुख्य चोकमा कार्यालय संचालन हुने समयमा एकदेखि दुई घण्टा अनिवार्य ट्राफिक जाममा बस्नुपर्ने बाध्यता जस्तै भएको छ।

हाल महाशाखाले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारवाही, लेन अनुशासन कारवाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारवाही गर्न कडाइ गरेको छ। ट्राफिकले आफू चढेको सवारी साधनबाट उपत्यकाको सवारी व्यवस्थापन, गोब्रा क्यामेरामार्फत् सवारी साधन व्यवस्थापन गर्दै आएको छ। सवारी साधन दिनानुदिन भित्रिँदै जाने र आवश्यक पूर्वाधार नहुँदा उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न जटिल भएको महाशाखाको भनाइ छ। उपत्यकामा ट्राफिक व्यवस्थापन गर्न वि. सं. २०४९ सालमा स्थापना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय २०६३ सालमा आएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका रूपमा स्थापना भएको थियो।

किन बस्न मान्दैनन् ट्राफिक प्रहरी काठमाडौंमा?

ट्राफिक महाशाखाका अनुसार अहिले अधिकांश ट्राफिक प्रहरी उपत्यकामा बस्न अनिच्छुक देखिन्नन्। महाशाखाका अनुसार यस्तो हुनुको कारण उपत्यकाको धुलोधुवाँ र बढी खटाई र अर्को दैनिक आठदेखि १४ घन्टासम्म काम गर्नुपर्ने बाध्यता हो।

तर एक जना ट्राफिक प्रहरी भने लाखौँ सवारी साधान व्यवस्थापन गर्न गाह्रो हुने, तनाव त्यत्तिकै हुने, सेवा सुविधा सबै ठाउँ बस्नेको समान हुने बताउँछन्। 'पहिला जरिवाना गरे बराबर १५ प्रतिशत कमिसन ट्राफिक प्रहरीले पाउने गर्थ्यो, त्यो हटाएपछि उपत्यकामा बस्न भन्दा तनाव नहुने ठाउँतिर बस्न राम्रो', उनले भने। महाशाखाका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) मिङ्मार लामा हुँदा १५ प्रतिशत पाउने नियम हटाएका थिए। ट्राफिक कारवाहीवापत ट्राफिक प्रहरीले बढुवामा पनि केही राहत पाउने एक ट्राफिक प्रहरीले बताए। तर कमिसन र अन्य सुविधा हटाइएपछि सहज र आनन्दको स्थानतिर ट्राफिक प्रहरीहरू जाने गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.