बजेट नपुगेर उत्पादन घटाएका हौँ : वन कार्यालय

|

रौतहट : रौतहटमा विगतका वर्षभन्दा यसवर्ष विरुवा उत्पादन आधा घटेको छ। गत बर्ष १० लाख भन्दा बढी बिभिन्न जातको बिरुवा उत्पादन गरेको जिल्ला वन कार्यालय रौतहटले यसवर्ष साढे चारलाख मात्रै विरुवा उत्पादन गर्ने भएको छ।

गत वर्ष जिल्लाको विभिन्न स्थानबाट १० लाख विरुवा उत्पादन गरेर उपभोक्तालाई वितरण गरेको थियो। बजेट कम भएकोले थोरै मात्रै विरुवा उत्पादन गरेको जिल्ला वन कार्यालय रौतहटका जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए।

जिल्ला वन अधिकृत कोइरालाका अनुसार गतवर्ष बहुसरोकारका कार्यक्रम भएकोले उत्पादन पनि धेरै थियो। यसवर्ष सरकारी बजेट कम हुनुका साथै गत वर्ष भएको कार्यक्रम नभएकोले पनि विरुवा उत्पादन कम भएको उनले बताए। यसको साथै विरुवा उत्पादनको बजेट स्थानीय तहमा गएकोले पनि जिल्ला वन कार्यालयमा बजेट कम भएको उनले जानकारी दिए।

विरुवा उत्पादनको लागि बजेट स्थानीय तहमा गएको भएता पनि स्थानीय तहले विरुवा उत्पादन गर्न नसक्दा विरुवाको अभाव स्वतः हुने देखिएको हो। विरुवा उत्पादनबारे कटहरिया र गुजारा नगरपालिकाले मात्र समन्वय गर्न आएको तर अन्य नगरपालिकाले समन्वय गर्न नआएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ। आर्थिक वर्ष ०७२÷७३ मा १७ लाख विरुवा उत्पादन गरेको थियो। यसको तुलनामा साढे १२ लाख विरुवा घटी भएको देखिन्छ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत दुई लाख र वन दशक कार्यक्रमअन्तर्गत साढे २ लाख ५० हजार गरी ४ लाख ५० हजार विरुवा उत्पादन भइरहेको जिल्ला वन कार्यालय विकास फाँटका सहायक वन अधिकृत अखिलेशकुमार गुप्ताले जानकारी दिए।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालयको नर्सरी चन्द्रनिगाहपुरमा एक लाख र जंगलसहिया इलाका वन कार्यालयको नर्सरीमा एक लाख विरुवा उत्पादन भएको गुप्ताले जानकारी दिए। त्यसैगरी, वनदशक कार्यक्रमअन्तर्गत दुई लाख विरुवा खरिद र ५० हजार गौर नर्सरीमा विरुवा उत्पादन हुँदै गरेको उनले बताएका छन्।

यो उत्पादन स्थानीय उपभोक्ता र सामुदायिक वनको मागअनुसार ज्यादै कम हो। कार्यालयले प्राय मल्टीपर्पोज खालका बकाइनो, बडहर, टाँकी, मसला लगायतका विरुवाहरु उत्पादन गर्दै आएको छ।

जिल्लाको अतिक्रमित क्षेत्र तथा चुरे क्षेत्रमा वृक्षारोपण गर्ने लक्ष्यका साथ विरुवा रोपिएको हो। जिल्लाको जुडिबेला, पौराइ, गैडाटार, चन्द्रनिगाहपुर, हिलेखोला, रंगपुर क्षेत्रका सामुदायिक वन, निजी वन, राष्ट्रिय वनमा विरुवा रोप्ने योजना रहेको वन अधिकृत कोइरालाले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.