पाँचौँ पटक मिति थप्दासमेत एउटा खण्डको मात्रै काम सकियो

|

चितवन : चितवनको महत्त्वपूर्ण नारायणगढ–मुग्लिन सडक खण्डको पाँचौं पटक थपिएको मिति सकिँदासमेत काम पूरा हुन सकेको छैन। पाँचौं पटक थपिएको मिति बुधबारबाट सिकँदा तीन खण्ड मध्ये एउटा खण्डमा मात्रै काम सकिएको छ। बाँकी दुई खण्डको काम भने सकिएको छैन।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको बताए। सो सडकको काम हाल सम्पन्न भए पनि एक वर्षसम्म भत्केबिग्रिएमा हेर्नुपर्ने भएकाले बजेटको हिसाबले सतप्रतिशत सम्पन्न भएको भन्न मिल्दैन।

खनालका अनुसार आँपटारीदेखि दासढुंगासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ।

जसमध्ये बीचको खण्ड उडहिल लामा जेभीले काम सम्पन्न गरेको हो। उसले ९७ प्रतिशत काम सम्पन्न गरेको छ भने पहिलो खण्ड बिएलए श्रेष्ठ जेभीले ८९.६ प्रतिशत र तेस्रो खण्ड सुप्रिम रौताहा जेभीले ८४ प्रतिशत काम सम्पन्न गरेका छन्। समग्रमा ८९.८ प्रतिशत काम सम्पन्न भएको खनालले बताए।

सो सडकको पाँचौं पटक थप गरिएको मिति पहिलो खण्डको बैशाख २७, दोस्रो खण्डको जेठ ६ र तेस्रो खण्डको बुधबार जेठ १६ गते सम्पन्न भएको छ। पुनः मिति थपका लागि तीन वटै कम्पनीले परामर्शदाता कम्पनीलाई आग्रह गरिसकेका छन्। हाल सो सडकको ४५० मिटर बाहेक अन्यत्र एक तह र कतिपय तेस्रो तहको कालोपत्रेको काम सम्पन्न भएको छ।

सो सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार तेस्रो खण्डको चेपाङ डाडामा मंगलबार साँझसम्ममा भित्तो काट्ने काम सकिने अनुमान छ। 

दुई दिनमा कालोपत्रेको पहिलो तह सम्पन्न हुने जनाइएको छ। तेस्रो खण्डकै एंकर वाल उठाउने काम बाँकी रहेकाले झण्डै तीन हप्ता सो कामका लागि समय लाग्ने अनुमान गरिएको छ। सो सडक हेर्दै आएका प्राविधिकहरुले असार मसान्तसम्ममा अन्य दुई खण्ड पनि सम्पन्न हुने अनुमान गरेका छन्। चाडै वर्षात् भएकाले काममा केही ढिलाई भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.