|

काठमाडौं : आइतबार दिउँसो ३ बजेतिर चोभार पुग्दै गर्दा बाटोमा केही फरक दृश्य देखियो। रोडको साइडमा दुई कार ठोकिएलाझैँ गरी रोकिएको थियो। त्यसको साइडमा एउटा रातो (डुकाटी) बाइक पनि रोकेर राखिएको थियो।

दुई जना बाटोमै फाइट गरिरहेका थिए। छेवैमा एउटा क्यामेरामा उक्त दृश्य कैद भइरहेको थियो। द्वन्द्व निर्देशक अष्ट महर्जन निर्देशन दिइरहेका थिए।

नायक अनुपविक्रम शाही अमित गिरीसँग जुधिरहेका देखिन्थे। अनुप भन्दै थिए, 'यो तेरो बाउको रोड हो, जता मन लाग्यो त्यतै गाडी कुदाउन?'

एउटा कारको ढोका नजिक एक युवती उभिरहेकी थिइन्। उनको अनुहारमा डर र निर्दोषपन देखिन्थ्यो। उनी थिइन्, सन्दीपा लिम्बू।

त्यहाँ फिल्म 'कप्स'को सुटिङ भइरेहको बुझियो, जुन फिल्ममा अनुपविक्रम शाही, अमित गिरी र सन्दिपा लिम्बूको मुख्य भूमिका रहेको छ।

'खास के भइरहेको छ यहाँ?'

अनुपले भने, 'यहाँ फिल्म कप्सको सुटिङ भइरहेको छ।' त्यहाँ फाइटको सिन खिचिइरहेको थियो। 'फिल्मको भिलेन अमितको गाडी हाम्रो नायिकाको गाडीमा ठोकिन्छ', अनुप भन्छन्, 'अमित आएर नायिकालाई जबर्जस्ती गर्न खोज्दा म बाइकमा आएर बचाउने सिन हो यो।'

यत्ति भन्न नपाउँदै अनुपलाई सट दिनका लागि बोलाइयो। हामीसँग 'एकछिन है!' भन्दै उनी सट दिन गए।

अष्ट महर्जनले अमित र अनुपलाई 'यो यसरी गर, यो यसरी, यो यस्तो' भन्दै थिए। 

अष्टले सिकाएको जस्तै गर्न उनीहरूलाई धेरै पटक लाग्यो। नक्कली फाइट गरेजस्तो मात्र गर्नुपर्ने उनीहरूले कति पटक झुक्किएर साँच्चिकै पनि लात खान्थे। एक पटक त अनुपले हानेको लात साँच्चिकै अमितको पेटमा लाग्यो। सट ओके भएसँगै अनुपले अमितलाई अंकमाल गरेर 'सरी' भने।

पुन: उनीहरू नयाँ सट दिन तयार भए। उनीहरूले टाउको जुधाउनुपर्ने दृश्य थियो। त्यो दृश्य ओके हुन तीन पटक लाग्यो। तीनै पटक उनीहरूको टाउको मज्जाले नै ठोकियो।

'गाह्रो छ है फाइट सिन गर्न?' 

हाम्रो प्रश्नमा अनुपले थाकेको स्वरमा भने, 'अँ, यस्तै हो। यो त सामान्य हो।' उनी हरेक फिल्ममा काम गर्दा घाइते भएको बताउँछन्। भन्छन्, 'म घाइते नभएको भन्ने त फिल्म नै छैन होला।'

'हेन्डसम हंक' अभिनेताका रूपमा परिचित अनुपलाई प्राय: फिल्ममा एक्सन अवतारमा देखिन्छ। उनी यसैमा रमाउने गर्छन्। भन्छन्, 'मैले धेरैजसो फिल्ममा एक्सन गरेको छु। त्यही भएर पनि होला मलाई एक्सन गर्न मनपर्छ।' यस फिल्ममा भने उनी एक कर्मनिष्ठ प्रहरीको भूमिकामा देखिन लागेको बताउँछन्।

अनुपलाई हिरोमा भन्दा पनि भिलेनमा बढी रुचाइएको पाइन्छ। उनी पनि त्यो कुरालाई स्वीकार्छन्। 'हो, मलाई हिरोभन्दा पनि भिलेनमा बढी नोटिस गरिएको छ तर हिरो भएर पनि धेरै काम गरिसकेको छु।'

आफूलाई हिरो वा भिलेन भएर काम गर्नभन्दा पनि राम्रो कलाकार भएर काम गर्ने इच्छा भएको अनुप बताउँछन्। भन्छन्, 'मलाई हिरो वा भिलेन नभनिदिए हुन्थ्यो जस्तो लाग्छ। म कलाकार हो, जस्तो भूमिका पाए पनि गर्न तयार हुनुपर्छ र हुन्छु पनि।'

अनुप अभिनित तीन फिल्मको सुटिङ सकिइसकेको छ। 'कमलेको बिहे', 'जाइरा', 'जय शम्भु' उनका प्रदर्शनको तयारीमा रहेका फिल्म हुन्। सबै फिल्ममा उनी मुख्य भूमिकामा प्रस्तुत छन्। 'जति पनि फिल्ममा काम गरेको छु, सबैमा हिरो नै बनेर काम गरेको छु', उनले भने।  

'कमलेको बिहे'मा एक पण्डित बनेका छन् भने अन्य फिल्म एक्सन प्रधान नै छन्। 'मेरो लुक्स नै एक्सनका लागि फिट हुने खालको भएर होला, सबैले एक्सनमै अफर गर्छन्', उनी भन्छन्। यसपछि अनुपले फिल्म 'पुरानो बुलेट'मा काम गर्दै छन्। एक्सनप्रधान उक्त फिल्ममा पनि उनी नायकको भूमिकामा प्रस्तुत हुन लागेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.