कारागार पठाउन लाग्दा बिरामी भएपछि आचार्यलाई कोशी अञ्चल अस्पताल भर्ना

|

विराटनगर : आफैँमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु स्वामी श्रीनिवासाचार्यलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको ईजलासमा भएको बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो। 

स्वामी श्रीनिवासचार्यलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पुर्पक्षकालागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए। 

आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो। सो क्रममा उनले आफूलाई फसाईएको दाबी गरे। आदेशपछि झुम्का कारागार लाने तयारी गर्दै गर्दा आफू बिरामी भएको बताएपछि आचार्यलाई कोशी अन्चल अस्पताल भर्ना गरिएको छ। आचार्यले आफूलाई सास फेर्न गाह्रो भएको बताएपछि अस्पताल भर्ना गरिएको हो। 

जिप्रका मोरङको इजालसमा भएको थुनछेक बहसमा धर्मगुरु श्रीनिवासाचार्यको पक्षबाट अधिवक्ता उद्धबचन्द्र घिमिरेले प्रतिरक्षा गर्दै बहस गरेका थिए भने प्रशासनले भने इनक्वारी बयान लिएको थियो।

धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैँले आफैँलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासाचार्यलाई प्रहरीले वैशाख २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो। भारतको नयाँ दिल्ली जाने तयारी गर्दा गर्दै उनलाई प्रहरीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको आसपासबाट पक्राउ गरी सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङ ल्याएको थियो।

प्रहरीले धर्मगुरुलाई वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा हातहतियार तथा खरखजना अन्तर्गत मुद्दा दर्ता गरेको थियो। जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दाको फैसला भएमा एक वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ।

बाराको सिमरा ३ घर भई सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए। आचार्यमाथि चैत २५ गते बिहान १ः४५ बजे शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो। उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए।

गोली हान्नेलाई कारागार चलान

धर्मगुरु श्रीनिवासाचार्यको निर्देशनमा गोली हान्ने उनका अगंरक्षक चितवन भरतपुर ४ का २९ वर्षीय रोशन भन्ने माधव चौधरी र पेस्तोल उपलब्ध गराउने नवलपरासी गैडाकोट ५ का ३२ वर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारी पनि पूर्पक्षको लागि जेल चलान भएका छन्। जिल्ला अदालत मोरङको ४ नम्बर इजालसका न्यायाधीश नवराज दाहालले बुधबार नै चौधरी र अधिकारीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन्। 

आदेशपछि उनीहरूलाई प्रहरीले जिल्ला कारागार मोरङ लगेको छ। उनीहरूलाई मुलुकी ऐन अदालती बन्दोवस्तीको ११८ को दफा २ बमोजिम पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको मोरङ जिल्ला अदालत मोरङले जनाएको छ। अदालत समक्ष उनीहरूले बयान दिएपछि थुनछेक बहस भएको थियो। 

अधियुक्तले प्रहरीलाई दिएको बयान भन्दा अदालतमा दिएको बयान फेरेका थिए। थुनछेक बहसमा वादीकोतर्फबाट जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठक र प्रतिवादीकोतर्फबाट वरिष्ठ अधिवक्ता हेमराज पराजुली, अधिवक्ता मोहन कोइराला र जनकबहादुर पुरीले बहस गरेका थिए। चौधरी र अधिकारीलाई मोरङ प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.