|

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापनरत प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूको मानक नेपाली भाषा अभियान-२०७३ का संयोजक हुन्। नेपाली भाषाको विषयमा अहिले भइरहेको विवादलाई उनी जबर्जस्ती भित्र्याएको भाँडभैलो भन्छन्। नेपाली भाषा र यसमा अहिले देखिएको विवादमा केन्द्रित रहेर प्रा. डा. लुइँटेलसँग गरिएको कुराकानी : 

नेपाली भाषामा अहिले देखिएको भाँडभैलो के हो खासमा?

यो देखिएको भाँडभैलो होइन, जबर्जस्ती निम्त्याइएको भाँडभैलो हो। नेपालीमा पछिल्लो समयमा पदको समेत दुरुपयोग गरी बल्झाइएका जटिल समस्या विशेषतः संयुक्त वर्णाको प्रयोग, पदयोग र पदवियोग तथा ह्रस्व-दीर्घमा केन्द्रित रहेका छन्। यिनमा पनि संयुक्त व्यञ्जनको खुट्टा काटेर जथाभावी प्रयोग गरी नेपाली भाषाको मात्र होइन देवनागरी लिपिको वर्णको चीरहरण गरिएको छ। पदयोग र पदवियोगसम्बन्धी प्रचलित मानक परम्परालाई भत्काएर अस्तव्यस्त तुल्याइएको छ।

नेपालीमा पदयोग र पदवियोग सम्बन्धी स्पष्ट प्रचलन र नियम हुँदाहुँदै 'दुईदुई लिपिमा लेखिने दुइटा शब्दले बनेका शब्द जोडेर लेख्ने', 'दुई अक्षरसम्मको स्वरान्त नामयोगीलाई विभक्तिजस्तै शीर्षशब्दसँग जोडेर लेख्ने' 'व्यञ्जनान्त दुई अक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई अलग डिकोमा लेख्ने' तथा 'दुई र तीन अनि तीन र दुई लिपिमा लेखिने दुइटा शब्दको समासबाट बनेको शब्द अलग डिकोमा लेख्ने' भन्नेजस्ता निर्रथक र औचित्यहीन प्रसङ्ग भित्र्याएर नेपाली भाषाप्रति वितृष्णा फैलाउने काम गरिएको छ। यस्तै नेपाली भाषाको सौन्दर्यका रूपमा रहेका 'फुल, फूल’, 'जुन, जून’, 'पुरा, पूरा’ जस्ता श्रुतिसमभिन्नार्थक शब्दलाई जबर्जस्ती हटाएर तिनलाई अनेकार्थी शब्दका रूपमा प्रस्तुत गरिएको छ। हालसाल नेपाली भाषामा निम्त्याइएका भाँडभैलोका मुख्य नमुना यिनै हुन्।

नेपाली भाषामा अहिले देखिएको भाँडभैलो मच्चाउन ककसको हात छ?

नेपाली भाषाको शिष्ट परम्परामा प्रचलित मानक वर्णविन्यासलाई केही व्यक्ति र संस्थाहरूले घोषणापत्र, परिपत्र र केही व्यक्तिबाट तयार पारिएका पुस्तकहरूका माध्यमबाट पदीय दुरुपयोगसमेत गरी अस्तव्यस्त तुल्याएर भाँडभैलोको सिर्जना गरिएको छ।

भाषामा भाँडभैलोको सिर्जना गर्न विशेषतः चन्द्रगढी घोषणापत्र (२०६६), अनिवार्य नेपाली विषय समितिका नाममा तयार पारेको भनिएको अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६), केही व्यक्तिबाट तयार पारिएको सबैको नेपाली (२०६७) नामक पुस्तक, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाली भाषा सङ्गोष्ठी (२०६७), ललितपुर घोषणापत्र (२०६८), नेकशुले (२०६९), शिक्षा मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको परिपत्र (२०६९) र त्यसैका आधारमा तयार पारिएको भनिएको प्रकाशन शैली (२०७०) तथा नेपाली बृहत् शब्दकोश (२०७२) को उल्लेख्य भूमिका रहेको छ। यीमध्ये ललितपुर घोषणापत्र (२०६८) र नेकशुले (२०६९) केही मत्थर छन्।

नेपाली भाषा वा वर्णविन्यास सुधार गर्नपर्ने आवश्यकता किन परेको होला?

लामो इतिहास भएको र बेलाबखत नैसर्गिक रूपमा परिवर्तन हुँदै आएको विकसित भाषाको वर्णविन्यासमा अहिले आएर परिवर्तन गर्नुपर्ने आवश्यकता पटक्कै थिएन। कतिपय कुराहरू परिवर्तन गर्नैपर्ने भए पनि आम प्रयोक्ता र सरोकारवालाहरूसँग व्यापक छलफल गरी निष्कर्षमा पुगेर मात्र गर्नुपर्नेमा केही व्यक्तिहरूले लहडबाजीमा भाषामाथि खेलबाड गर्ने प्रयत्न गरेको देखिन्छ। यस्तो गर्नु निन्दनीय कार्य हो।

आवश्यकता नै थिएन भने यतिका कामहरू किन र कसरी भए, जबकि विद्यालय र उच्चमाविका पाठ्यक्रममा नयाँ नियम लागू भइसकेको छ, प्रज्ञाको शब्दकोश नयाँ नियमअनुसार बनिसकेको छ?

मैले अघि नै भनिसकेँ यो केही व्यक्तिहरूले पदीय दुरुपयोग गरी लहडमा आएर गरिएको काम हो। विद्यालय तहमा २०६९-४-२३ को शिक्षामन्त्रीस्तरीय निर्णय भनी शिक्षा मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको परिपत्र तथा पाठ्यक्रम विकास केन्द्रका नामबाट प्रकाशित प्रकाशन शैली (२०७०) बाट ह्रस्व-दीर्घ, पदयोग र वियोग तथा संयुक्त वर्णसम्बन्धी परम्परा र प्रचलनलाई भत्काएर माध्यमिक तहको शिक्षालाई अस्तव्यस्त तुल्याउने तथा नेपाली भाषाका वर्णविन्यासलाई बिगारेर तमाम शिक्षक विद्यार्थीलाई अन्योलग्रस्त तुल्यायो।

उच्चमाविका सन्दर्भमा २०६७ सालमा केही व्यक्तिहरूबाट उच्च माध्यमिक शिक्षा परिषद्को लोगोमा 'सबैको नेपाली' नामक पुस्तक तयार गरी त्यसलाई सबैतिर अनिवार्य रूपमा लागु गर्नु भन्ने हुकुमी शैलीको परिपत्र जारी गर्नाका साथै सञ्चार माध्यमबाट सूचनासमेत प्रसारण गरियो। नेपाली वर्णविन्यासमा प्रचलित शिष्ट परम्परालाई पूरै खल्बल्याएर तयार पारिएको यस पुस्तकले एकाधिकारवादी चिन्तनका साथै निषेधको प्रक्रिया अनुसरण गरेकाले यसको सर्वत्र विरोध भयो र भइरहेको छ।

२०६७ सालमै नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा सङ्गोष्ठी गरे तापनि ठोस निष्कर्ष निकाल्न नसकी अलमलकै स्थितिमा छोडिदियो र २०७२ सालमा 'नेपाली बृहत् शब्दकोश'लाई जथाभावी भत्काएर मानक नेपाली भाषालाई नै अस्तव्यस्त पारेर कुरूप पारियो।

यति मात्र होइन, अनिवार्य नेपाली विषय समितिका नाममा तयार पारिएको भनिएको अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) मा प्रस्तुत संयुक्त क्रिया र लिपिचिह्न गणनामा आधारित पदयोग र वियोगसम्बन्धी अवस्तुवादी सन्दर्भले पनि नेपाली भाषालाई खल्बल्याउने काम गर्‍यो।

नेपाली भाषालाई अस्तव्यस्त तुल्याउने कामको प्रारम्भ २०६६ सालमा व्यक्तिविशेषको जन्मोत्सव मनाउने नाममा तथाकथित 'चन्द्रगढी घोषणापत्र'बाट भयो र यसले नेपाली भाषालाई मरणासन्न अवस्थातर्फ धकेल्यो। नेपाली भाषामा 'चन्द्रगढी घोषणापत्र'देखि 'नेपाली बृहत् शब्दकोश' (२०७२) सम्म जेजति विकृतिहरू भित्र्याइए, ती सबैमा उही व्यक्तिको हात देखिनाले यो नेपाली भाषामाथि प्रायोजित रूपमा गरिएको षड्यन्त्र हो भन्न हिच्किचाउनु पर्दैन।

यी सबैमा प्रस्तुत गरिएको अराजकतालाई नयाँ नियम भन्न मिल्दैन। यी सबै कार्यमा सीमित व्यक्तिको हात रहेको देखिन्छ। आम सरोकारको विषय भाषालाई केही व्यक्तिले मनपरी जे पायो त्यही गर्न मिल्दैन।

त्यतिबेलै, जुनबेला नयाँ वर्णविन्यासको चर्चा भयो, गोष्ठी, अधिगोष्ठी भए, त्यसबेला किन अहिले जसरी कुरा उठाउनुभएन तपाईँहरूले?

हामी कुरै नउठाई चुप लागेर बसेको पटक्कै होइन। विभिन्न गोष्ठी, अधिगोष्ठी, परिपत्र, शिक्षणनिर्देशिका, पुस्तक आदिका माध्यमबाट भाषामा भाँडभैलो मच्चाउन सुरु गर्नेबित्तिकै हामीले विभिन्न लेख, अन्तर्वार्ता, सभा, समारोह आदिका माध्यमबाट त्यस्ता भाँडभैलोका विरुद्धमा आवाज उठाएकै हौँ। अहिलेजति सङ्गठित रूपमा नभए पनि कुरै नउठाएको भने पटक्कै होइन।

कुरा यत्ति हो, त्यतिखेरको विरोध व्यक्तिगत रूपमा बढी थियो भने अहिले सङ्गठित रूपमा छ। नेपाली बृहत् शब्दकोश (२०७२) लाई जथाभावी भत्काएर मानक नेपाली भाषालाई नै अस्तव्यस्त पारेर कुरूप तुल्याइएपछि नेपाली भाषामाथि गरिएको बलात्कार हेर्न नसकी हामी त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूले सङ्गठित रूपमा 'मानक नेपाली भाषा अभियान'- २०७३ गठन गरी नेपाली भाषाको लेख्य मानक प्रयोगलाई केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भएकोप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेर अवधारणापत्रसमेत प्रस्तुत गरिसकेका छौँ।

नेपाली भाषाको मानकीकरणका लागि यस अभियानबाट प्रस्तुत गरिएका अवधारणा र चालिएका कदमप्रति व्यापक समर्थन र नेपाली भाषामा बल्झाइएका विवाद, अव्यवस्था एवं अराजकताप्रति विरोध जनाउँदै विभिन्न क्याम्पस तथा सङ्घसंस्थाहरूबाट निरन्तर रूपमा विज्ञप्ति जारी भइरहेको कुरा सर्वविदितै छ।

नयाँ वर्णविन्यास लागू गरिदिँदैमा चाहिँ के बिग्रन्छ र?

के हो नयाँ वर्णविन्यास भनेको? व्यक्ति विशेषले लहडमा ल्याएको भाषिक विकारलाई नयाँ वर्णविन्यास भन्न मिल्छ? यसर्थ यहाँ नयाँ वर्णविन्यास भन्ने कुनै कुरै छैन। यो त सीमित व्यक्तिले भन्ने गरेको प्रलाप मात्र हो। शिष्ट परम्परामा प्रचलित मानक वर्णविन्यासलाई अस्तव्यस्त पारी कसैका लहडमा ल्याइएको तथाकथित नयाँ भन्ने गरिएको वर्णविन्यास प्रयोग गर्ने भन्ने कुरै आउँदैन । यसले के बिग्रन्छ भन्ने होइन, सिङ्गो नेपाली भाषा नै बिग्रन्छ, आम प्रयोक्तालाई नेपाली भाषाप्रति वितृष्णा पैदा गराउँछ र अन्ततः हाम्रो भाषिक मात्र होइन सामाजिक-सांस्कृतिक पहिचान नै समाप्त गर्छ।

यसले केके कुरा वा कुनकुन क्षेत्रमा असर पार्छ?

भाषामा निम्त्याइएको यसप्रकारको बेथितिले नेपाली भाषाको अस्तित्व नै समाप्त पार्ने अवस्था सिर्जना गरेको छ। यति मात्र होइन यसले बहुभाषी नेपाली जातिका बीचमा रहेको सामाजिक, सांस्कृतिक सद्भाव नै बिगार्ने र आपसी वैमनस्य उत्पन्न गर्ने स्थिति पैदा हुन्छ। यसको दीर्घकालीन असर भनेको नेपाली भाषा र नेपाली जातिको अस्तित्व नै धराशायी हुन सक्छ ।

अहिले नयाँ वर्णविन्यासको पक्षमा रहेकालाई एक पक्षले 'भाषाका भष्मासुर' भन्ने आरोप लगाएका छन्, के उनीहरू साँच्चै भष्मासुर नै हुन् त?

नेपाली भाषाको चीरहरण गरेको देखेर कसैले दुर्वासा भई कसैलाई 'भाषाका भष्मासुर' भने होलान्, तर म अहिले नै त्यसो भन्दिनँ। सीमित व्यक्तिहरूले वैयक्तिक स्वार्थपूर्तिका लागि पदीय दुरुपयोग समेत गरेर नेपाली भाषामाथि खेलबाडचाहिँ गरेकै हुन्। आफूले जानेर वा नजानेर गरेका गल्तीलाई सच्याएर नेपाली भाषाको अस्तित्व जोगाउन हामी सब नेपाली भाषी एक हुनुपर्छ। यसका लागि म उहाँहरूलाई पनि हार्दिकतापूर्वक आग्रह गर्दछु।

आम प्रयोक्ता र सरोकारवालाहरूले यति धेरै विरोध गर्दागर्दै पनि उहाँहरू जबर्जस्ती गर्न खोज्नुहुन्छ भने त्यो उहाँहरूका लागि दुर्भाग्यपूर्ण हुन्छ। अहिले परिस्थिति नियन्त्रणबाहिर गइसकेको छैन। आम प्रयोक्ता र सरोकारबाट देखाइएको भाषाप्रेमलाई हेर्दा अब पनि उहाँहरू नसच्चिने हो भने परिस्थिति नियन्त्रणबाहिर जान सक्छ। त्यतिखेर के हुन्छ, कसैले अनुमानै गर्न सक्दैन। यस्तो दिन भरसक नआओस् भन्ने मेरो हार्दिक चाहना र कामना छ।

को को हुन् यस्ता भष्मासुर, नाम भन्न मिल्छ?

नेपाली भाषालाई अस्तव्यस्त तुल्याउने कोको हुन् भन्ने सबैलाई थाहा भइसकेको छ र उहाँहरूको नाम यति बदनाम भइसकेको छ कि म अहिले त्यस्ता गैरजिम्मेवार व्यक्तिको नाम लिएर भाषाप्रेमी नेपालीलाई थप आक्रोशित तुल्याउन चाहन्न। यस्ता व्यक्ति नेपाली भाषामा अनावश्यक विवाद र त्रुटि भित्र्याउने गैरजिम्मेवार अपराधी हुन्।

अब के गर्ने त? कसरी सच्याउन सकिन्छ हिजोका त्रुटिलाई? र सच्याउने ककसले कसरी हो?

अबको विकल्प भनेको हिजो गल्ती गर्ने जोकोहीले पनि पदीय दुरुपयोग गरी भाषाको लेख्य रूपलाई विकृत तुल्याउन गरेका दुष्कार्य र जबर्जस्ती लादिएको नियमलाई आमसञ्चार, पत्रकारिता, स्रष्टाहरू, प्रकाशन संस्था, भाषाका आम प्रयोक्ता कसैले पनि स्वीकार नगरेकाले अब तिनीहरूले सार्वजनिक रूपमा माफी मागेर आफ्ना गल्तीलाई सच्याउने, पहिले परिपत्र गर्ने मन्त्रीले नै गल्ती स्वीकार गरिसकेकाले मन्त्रालयको पुरानो परिपत्र अर्को परिपत्रबाटै बदर गर्ने तथा नेपाली बृहत् शब्दकोश (२०७२) लाई रद्द गरिएमा अहिले नेपाली भाषा बल्झाइएका समस्याको समाधान हुन्छ अन्यथा नेपाली भाषाको अस्तित्व समाप्त हुन सक्ने हुँदा यसको अस्तित्व बचाउनका लागि जस्तोसुकै कदम चाल्नुपर्ने स्थिति आउन सक्छ। म यस्तो स्थिति नआओस् भन्ने अपेक्षा गर्दछु।

बाँकी केही भन्नु छ कि?

भाषासम्बन्धी पीडा नेपालभित्रभन्दा नेपालबाहिर बढी छ र तिनीहरू भाषाको मानकीकरण यतातिर फर्केर हेर्छन् तर हामी आफूमै लड्न व्यस्त छौँ। नेपाली भाषा अन्तर्रष्ट्रियकरण भइसकेको अवस्थामा आफ्नै घरबाट आगो लगाउन सुरु गर्नु पटक्कै ठीक होइन। फुटेर होइन जुटेर अनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली भाषाको रक्षा गरौँ। मान्य ढङ्गबाट क्रमशः सरलीकरण गर्दै जाऔँ।

कतैबाट सञ्चालित भएर विरोधभासपूर्ण काम नगरौँ। सके भाषाको सेवा गरौँ नसके चुप लागेर बसौं। भाषा रहे मात्र हाम्रो अस्तित्व रहन्छ भन्नेतर्फ सम्बद्ध सबै सचेत होऔँ, चरम पश्चगामी वा अग्रगामीका नाममा अराजक पनि नहोऔँ। आपसमा छलफल गरी समझदारीपूर्वक अगि बढौं। भाषाको माया गरौँ र भाषालाई बचाऔँ। यसैमा हामी सबै भाषावादीको कल्याण छ। नेपाली भाषाको विकास गर्नु भनेको अरू भाषाका विकासको बाटो रोक्नु होइन। सबै भाषाको विकास गर्दै जानुपर्छ।

राज्यबाटै हाम्रा राष्ट्रिय पहिचान भाषा र भेषमध्ये भेष हटाउने दुष्कार्य गरिसकेपछि भाषामाथि आक्रमण गर्नु दुखद कार्य हो। भाषा जननी भएकाले यसमाथि राजनीति नगरौँ र यसलाई कुनै पदाधिकारी वा व्यक्तिवशेष कोहीकसैले पनि वैयक्तिक प्रतिष्ठा सङ्घर्षको विषय नबनाई यसपूर्व जानेर वा नजानेर गरेका गल्तीलाई सच्च्याएर नेपाली भाषाको अस्तित्व जोगाऔँ। भाषा हाम्रो खास पहिचान भएकाले भाषा रहे मात्र हामी रहन्छौँ।

प्रस्तुति : घनेन्द्र ओझा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.