गुरूलाई सफल बनाउन ०.१ प्रतिशत कम गरेर वृद्धि!

|

काठमाडौं : सत्तारुढ दलका सांसदबाट बजेटको विषयमा आलोचना भइरहँदा अर्थमन्त्री डा. युवराज खतिवडा बजेटको कार्यान्वयनबाट लक्ष्य पूरा गर्ने तयारीमा छन्। उनी आफैँले चुनौतीपूर्ण देखेको आठ प्रतिशत आर्थिक वृद्धिदरका लागि खतिवडाले केही आधार तय गरेर अघि बढेको बताएका छन्।

बुधबार अर्थ मन्त्रालयमा गरिएको 'बजेटपछिको छलफल' कार्यक्रममा उनले वित्तीय संघीयता कार्यान्वयन गर्ने पहिलो बजेट नयाँ ढंगबाट ल्याइएको बताउँदै लक्ष्य पूरा गर्न केन्द्रित हुने प्रतिवद्धता जनाए। पूर्वअर्थमन्त्री डा. रामशरण महत, एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेता तथा विज्ञले आठ प्रतिशतको आर्थिक वृद्धि नै बजेटको पहिलो चुनौती रहेको टिप्पणी गर्दा उनले आठ प्रतिशत नभए ७.९ प्रतिशतको आर्थिक वृद्धि हुने बताए।

पूर्वअर्थमन्त्री महतले आठ प्रतिशतको आर्थिक वृद्धि गरेमा आफू असफल र खतिवडा सफल भन्ने विषयमा गरिएको टिप्पणीमा व्यंग्य गरे। 'डा. महत मेरो गुरु पनि हो, त्यसैले म उहाँलाई असफल बनाउन चाहन्न', खतिवडाले भने, 'दशकौँ मुलुकको अर्थतन्त्रको नेतृत्व गरेका महतलाई सफल बनाउन ०.१ प्रतिशतको आर्थिक वृद्धिदर कम गरेर ७.९ प्रतिशत भए पनि वृद्धिदर कायम गरौँला'।

मन्त्री खतिवडाले बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता भएको भन्दै लक्ष्यअनुसारको काम गर्ने बताए।

यस्तो छ वृद्धिदरको लक्ष्य

अर्थमन्त्री डा. खतिवडाले आठ प्रतिशतको आर्थिक वृद्धिका लागि तुलानात्मक रूपमा औद्योगिक वृद्धिदर बढी हुने अनुमानसहित लक्ष्य हासिल गर्न सकिने बताएका छन्। उनले कृषिमा यन्त्रिकीकरणको प्रभाव बढ्ने र पछिल्लो १० वर्षको औसत कृषि वृद्धिदर चार प्रतिशत कायम हुने लक्ष्य लिएका छन्।

चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.७२ प्रतिशत रहेको छ तर कुल गार्हस्थ उत्पादनमा मापन गरिने १७ वटा उपसूचकमध्ये सबैभन्दा बढी कृषि क्षेत्रको योगदान २७.१० प्रतिशत रहेको छ।

चालू आर्थिक वर्षको तुलनामा औद्योगिक वृद्धिदर १२ प्रतिशतले वृद्धि हुने लक्ष्य निर्धारण गरिएको छ। यसलाई मुख्यतया विद्युत आपूर्ति सहज हुँदा पूर्ण क्षमताअनुसार उद्योग संचालनमा आउने बुझाइ रहेको छ। त्यस्तै, तामाकोसी र मेलम्ची आयोजनाको मूल्य अभिवृद्धि उद्योग क्षेत्रको योगदानमा रहने तथा सिमेन्ट र खानी उद्योग धेरै आउने भएका कारण त्यसको प्रभाव देखिने खतिवडाको बुझाइ छ।

अहिले कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक उद्योग क्षेत्रको योगदान ५.३९ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वृद्धिदर ८.३९ प्रतिशतको रहेको छ। त्यस्तै, सेवा क्षेत्रको वृद्धिदर आठ प्रतिशत पुग्दा समग्र आर्थिक वृद्धिदर आठ प्रतिशत पुग्ने लक्ष्य राखिएको छ।

'बजेट नयाँ ढाँचाबाट असफल भए शैली परिवर्तन'

वित्तीय संघीयता कार्यान्वयन गर्ने गरी ल्याइएको पाँच वर्षे सरकारको पहिलो बजेट विल्कुलै नयाँ ढाँचाबाट आएको दाबी गरेका छन्। उनले पुरानो शैलीबाट बजेट नआएको कारण तुलना गर्न सकिने अवस्था नरहेको समेत दाबी गरेका छन्। उनले बजेटमा नयाँ प्रयोग गरिएको र कार्यान्वयन गर्न मन्त्रालय केन्द्रित हुने बताउँदै कार्यान्वयन नभई आलोचना बढेमा सुधार गरिने संकेत गरेका छन्।

आगामी आर्थिक वर्षको मात्रै नभई सबै बजेटको समस्या नै कार्यान्वयन हुने खतिवडाले बताए। 'यसलाई हामीले फिंगर क्रसका रूपले अघि बढाउन खोजेका छौँ, सफलल भए भइगयो, असफल भए, आलोचना बढी भए अर्को वर्ष अर्को तरिकाबाट आउन सक्छ', खतिवडाले भने।

उनले कतिपय कार्यक्रम दोहोरो खबरदारीबाट आएको बताए। निर्वाचन क्षेत्र विकास कार्यक्रम दोहोरो क्षेत्रको खबरदारीबाट आएको उनको भनाइ थियो। संसदभित्र कार्यक्रम ल्याउन दबाब र संसदबाहिर कार्यक्रम हटाउन दबाब आएको कारण केही परिमार्जनसहित राखिएको बताएका छन्। उनले आगामी दिनमा यसको प्रभाव देखिनेसमेत दाबी गरे।

खतिवडाले आफैँले राखेको मूल्य वृद्धिदर कायम गर्न केही चुनौती रहेको स्वीकार छन्। पेट्रोलियम पदार्थको कर बढाइएको अवस्थामा त्यसको प्रभाव मूल्यवृद्धिमा जाने बताए। तर त्यसलाई कम गर्नका लागि विद्युतले पेट्रोललाई प्रतिस्थापन गरिने र पेट्रोलको कम प्रभाव पर्ने बताएका छन्। कृषि क्षेत्रको वृद्धिदर चार प्रतिशत नुपर्‍याइएमा पनि मूल्य वृद्धिको सीमा माथि पुग्ने उनले बताए। 'मैले कृषि क्षेत्रको मूल्यवृद्धि दर पाँच प्रतिशत हुने अनुमान गरेको छु, वृद्धि दर कम भएमा यसको प्रभाव मूल्यमा पर्नेछ', खतिवडाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.