|

भक्तपुर :  हनुमन्ते नदीमा बुधवार आएको बाढीले निर्माणाधीन एक पुलको संरचना भत्काएको छ। मंगलवार राति परेको पानीका कारण आएको बाढीले मध्यपुर थिमी  ४ र सूर्यविनायक नगरपालिकाको ३ र ४ जोड्ने निर्माणाधीन पुलको संरचना भत्काएको हो

पुल ढलान गर्न तयार गर्दै गरेको संरचना भत्काएको सूर्यविनायक नगरपालिका ४ का कार्यवाहक वडाअध्यक्ष घनश्याम भट्टराईले जानकारी दिए। ‘पुलको स्लाप ढलानको लागि फर्मा ठोकेर छड बाँध्ने काम भईरहेको थियो। बाढीले भत्कायो’, उनले भने। फोहोर अड्केका कारण पुलको संरचना भत्काएको उनको भनाइ छ।

मंगलवार जिल्लाको उत्तर पूर्वी भाग नगरकोट, बागेश्वरी, ताथली, सुडालक्षेत्रमा परेको भीषण पानीका कारण हनुमन्तेमा ठूलो बाढी आएको थियो। सोही बाढीले हनुमन्तेका प्लाष्टिकलगायत फोहोर बगाएर ल्याएको र पुलको फर्मामा अड्केर खोलाको बहाव नै रोकिएका कारण पुलको संरचना भत्काएको भट्टराईले जानकारी दिए।

दुई मिटर चौडाई र १० मिटर लामो सो पुलको निर्माण सम्झौता सन् २०१६ को अप्रिल २० तारिखमा भएको थियो। सन् २०१७ को जुलाई १९ मा सम्पन्न हुनुपर्ने सो पुलको निर्माण ठेक्का मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक एक करोड साठी लाख सत्तासी हजार ५ सय ७८ रुपैंयाँमा भण्डार थोतुङ, श्याम बाबु, जेभी ललितपुरले पाएको थियो। तर ठेकेदारले समयमा सो पुल निर्माण नगरेपछि हाल सो पुल स्थानीय उपभोक्ताले निर्माण शुरु गरेको कार्यबहाक वडाअध्यक्ष भट्टराईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.