|

काठमाडौं : कुनै बेला 'मबिना कसैकसैलाई मुस्किल छ पोखरामा' गजलले नेपाली सांगीतिक बजार तातेको थियो। प्रमोद खरेलको स्वरमा रहेको उक्त गजलले हरेक नेपालीको मन-मुटु जित्न सफल भयो। यस गजलमा सबैभन्दा धेरै युवायुवती लट्ठिए। शीतल गिरीले जन्माएका शब्दमा महेश खड्काले धून भरेको यस गजलले शीतललाई पनि नेपाली सांगीतिक क्षेत्रमा नौलो पहिचान दियो।

नेपाली सांगीतिक क्षेत्रमा आशलाग्दा गजलकारका रूपमा लिन थालिए शीतल। तर नेपाली गजललेखनमा उनको आगमन सोचिएजति आक्रामक र निरन्तर हुन सकेन। उनी भन्छन्, 'सृजना सबै सुन्दर हुन्छन् भन्ने हुँदैन, यसको आफ्नै समय र परिवेश हुन्छ।' गीत/गजल लेखिरहे पनि उनका गीत/गजल बजारमा आइरहेका छैनन्। 'उपन्यास लेखनमा व्यस्त छु', शीतल भन्छन्, 'उपन्यास सकिएलगत्तै पुन: सांगीतिक क्षेत्रमा शीतलको आगमन हुन्छ।'

वि. सं. २०६२ सालको कुरा हो। अध्ययनको सिलसिलामा कीर्तिपुर, काठमाडौंमा रहेको त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागमा थिए शीतल। उच्च शिक्षाका लागि झोला बोकेर कास्कीकोट गाउँबाट यात्रा थालेका थिए उनले। गजल र मुक्तक बच्चैदेखि लेख्न थालेका उनले त्रिभुवन विश्वविद्यालयसम्म आइपुग्दा आफ्नो कला तिखार्दै र निखार्दै गए। आफूले माया गर्ने र आफूलाई माया गर्ने सबै पोखरामा छाडेर काठमाडौं आएका थिए उनी। कीर्तिपुरको ट्याङ्ला फाँटमा एक्लै बस्थे। नियमित कक्षा नहुँदाको दिन बिहानै केन्द्रीय पुस्तकालयमा गएर भोक नलागेसम्म पढ्ने गर्थे। जब भोक लाग्थ्यो अनि डेरातर्फ दौडिन्थे। 'घर छाडेर भविष्‍य रंगीन बनाउन हिँडेको मैले आफ्नो गाउँ सम्झिएँ। आमा सम्झिएँ। मन मिल्ने साथीसंगी सम्झिएँ। त्योभन्दा धेरै मैले अरू कसैलाई सम्झिएँ', उनी खिस्स हाँसे।

उनले विगत सम्झिए, 'त्यो कुनै एउटा बिहान थियो। पुस्तकालयदेखि डेरासम्म जाने जम्मा पाँच मिनेटको बाटोमा त्यस समयको अंग्रेजी केन्द्रीय विभाग पछाडिको गेटमा नै 'मुस्किल छ पोखरामा' यी तीन शब्द फुरेका हुन्। त्यो फुर्नुका पछाडि ममा भइरहेको होमसिक पनि हुन सक्छ।'

त्यहाँबाट कोठासम्म जाँदा 'मबिना कसैकसैलाई मुस्किल छ पोखरामा/ म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा' यी दुई लाइन तयार भए। काफियाहरू पनि बाटोमा नै तय भए। कोठामा पुगेपछि फटाफट तयार भयो सिंगो गजल। कीर्तिपुरको बसाइमा उनी जस्तै सृजना गर्ने पोखरादेखिको साथी निर्मल पोखरेल र उनले आपसमा सृजना सुन्ने सुनाउने गर्थे।

एक दिन कुनै एक साथीले खत्रा गजलकार भनेर सहपाठी राधा कणेलसँग परिचय गराइदिए उनलाई। राधाले गजलमा बहर/छन्दका बारेमा कुरा गर्थिन्। बहर र छन्दका सूत्र, गण, मात्राका बारेमा व्यापक चर्चा गर्थिन्। बहर/छन्दमा लय हालेर गजल वाचन गर्थिन्। उनलाई र उनका साथीहरूलाई बहर/छन्दमा नै गजल लेख्ने र लयमा सुनाउने राधाले अनाममण्डलीबाट बहर/छन्द सिकेको बताएपछि उनलाई पनि अनाममण्डली जाने भुत जाग्यो।

साथी बलराम सुवेदीले कीर्तिपुर नयाँबजारको तरकारी बजारमा पिसिअो चलाउँथे। रातीको समयमा थोरै पैसामा धेरै कुरा गर्न पाउने सुविधा थियो त्यहाँ। सुरेश सुवेदी, जय गौडेल, विपीन किरणलगायतका गजलकार त्यहाँ आएर लामो समय गजल चिन्तन गर्छन् भनेर खबर बलरामले दिएका थिए उनलाई। उनीहरूसँग भेट्नका लागि कुरेर बसे उनी पनि। त्यस दिन सुरेश सुवेदी मात्र आए। उनी भन्छन्, 'प्रतीक्षा गर्दागर्दै आँखा दुखिसके तर अन्त्यमा सुरेश मात्र, क्या बोर के?' तर 'बोर'लाई मुक्त गर्ने एउटा उपाय गजल थियो। सुवेदीसँग उनको गजलका कुरा भए। उनी भन्छन्, 'त्यही बेला मैले उहाँलाई मबिना कसैकसैलाई सुनाएको हुँ। उहाँले बडो तारिफले उत्प्रेरित गर्नुभयो। सँगसँगै काफिया मिल्दो भनेर जय गौडेलको 'ठूलो घाउको खिल तिमीका लुकेको/ थियो मेरो यो दिल तिमीमा लुकेको' सुनाउनुभयो।'

'कुरा गर्दै जाँदा थाहा भयो उहाँ त अनाममण्डलीको हर्ताकर्ता हुनुहुँदोरहेछ', उनले भने। प्रदर्शनीमार्गमा रहेको वाल्मीकि विद्यापिठमा हरेक शनिबार ४ बजेपछि गजल सुन्ने सुनाउने कार्यक्रम हुन्थ्यो अनाममण्डलीको। एक शनिबार अनाममण्डलीमा उनी यही गजल लिएर छिरे। उनलाई निकै डर लागेको थियो रे त्यसबेला, कारण- अनाममण्डली त्यस समय नेपाली गजलमा बहर/छन्दको पैरवी गर्दै आएको थियो। गजलमा लयको अनिवार्यताबारे गोष्ठी, प्रशिक्षण र अन्तर्क्रिया व्यापक पार्दै थियो अनाममण्डली। उनलाई लागेछ- त्यहाँ आफ्नो गजल नराम्रो भनिदिने हुन् कि वा बहर/छन्दमा नलेखिएको भनेर आलोचना गर्ने हुन् कि! तर भयो नसोचेको- सबैले मनपराए उनको गजल। तालीको वर्षा भयो। गजललेखनमा थप  प्रेरित गरे उनलाई अनाममण्डलीका साथीहरूले। त्यो समूहमा त्यति बेला उनको नामै 'पोखरा' बनेको थियो। अनाममण्डलीमा गएपछि थप अरू गजलकारहरू देवी नेपाल, घनेन्द्र ओझा, बलराम दाहाल, माधव खतिवडा, प्रभाती किरण, नारायण निराशी, रश्मि असफल, जानुका नेपाल, घनश्याम पथिक, सप्रेम अर्चना, शारदा सजल, जनकराज पौडेल, जीत कार्कीलगायतसँग नजिकिने मौका पाए उनले।

साथीहरूको जमघटमा र विभिन्न कार्यक्रमहरूमा यही गजल वाचन गर्थे उनी। कपाल पाल्ने र गजल लेख्ने शोख थियो उनको। दिनभर काव्यगोष्ठीमा गजल वाचन गर्न पुग्थे। उनी भन्छन्, 'दिनभर गजल वाचन गर्‍यो, रातभर पढ्यो।'  विश्वविद्यालयमा हुने हरेक कार्यक्रममा उनी छुट्टै सेलिब्रिटी बने। जसले भेट्यो सोधिहाल्थे, 'के छ पोखरामा?' उनी भनिहाल्थे, 'मबिना कसैकसैलाई मुस्किल छ पोखरामा।' युवा अवस्था, त्यसमाथि आफ्नो गजल हिट भएको अनि के चाहियो र उनलाई! पछि यो गजल त्यस समयमा लक्ष्मण थापाले सम्पादन गर्ने पोखराबाट प्रकाशन हुने 'सिउँडी' पत्रिकामा प्रकाशन भएको थियो।

उनको गजल बजारमा यसरी आइपुग्यो

शीतलका  दाजु रेशम गिरी, गीतकार/गजलकार विपीन किरणा, संगीतकार महेश खड्का र उनी उनको गाउँ कास्कीकोट गएका थिए। त्यही बेला मध्यरातमा यो गजल विपीन किरणको अनुरोधमा सुनाएका थिए उनले। महेश खड्काले उतिबेलै लयमा गुनगुनाए। गजल सुनेपछि खड्काले यस गजलमा संगीत भर्ने अनुमति मागे उनीसँग। 'हैट! सम्झिँदा पनि लाज लाग्छ', उनले भने, 'उहाँले अनुमति माग्दा म लाजले भुतुक्कै भएँ।'

महेश खड्कालाई गजल दिएको पूरा तीन वर्षपछि मात्र गजल रेकर्ड भयो- प्रमोद खरेलको स्वरमा। प्रमेाद खरेललाई उनले गजल रेकर्ड भएपछि भेटेका हुन्। उनी भन्छन्, 'भिडियो बनाउन पोखरा आउँदा मलाई सम्पर्क गरेर भेट्नुभा'को थियो।' यो गजल फरक फरक लयमा जय गौडेलले गाउँथे, जुन उनलाई बिछट्टै मनपर्थ्यो। पछि रेकर्ड भएर आएपछि हरेकजसोका जिब्रोमा झुण्डिन सफल भयो- 'मबिना कसैकसैलाई मुस्किल छ पोखरामा।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.