|

चितवन : गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारीहरुविरुद्ध स्टिङ अपरेसन जरुरी रहेको बताएका छन्। नेपाल फोटो पत्रकार महासंघका अध्यक्षहरुको पहिलो राष्ट्रिय भेलालाई बिहीबार चितवनको सौराहामा सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अबरोध गरिरहेको भन्दै त्यसविरुद्ध लाग्न पत्रकारहरुलाई आग्रह गरे। क्यामेराबाट फोटो खिचेर उनले भेलाको उद्घाटन गरेका थिए।

‘भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाईरहेका छन्, तिनीहरुको स्टिङ अपरेशन गर्नुजरुरी छ, चाहे अड्डा अदालतमा हुन् अथवा विभिन्न संघसंस्था हुन् या विभिन्न व्यवसायिक क्षेत्रका हुन्।’ गृहमन्त्री थापाको भनाइ थियो।

लागुऔषध कारोबारी, राजस्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पुँजीपति, राष्ट्रविरोधीहरुको फोटो सार्वजनिक गर्न जरुरी रहेको भन्दै उनदे फोटो पत्रकारहरुलाई ध्यानाकर्षण गराए।

देशको विकासका लागि यो एउटा आन्दोलन भएको भन्दै उहाँले श्रम नै नगरी कालो अर्थतन्त्र भित्र्याउने पूँजिपतिहरु विरुद्ध क्रियाशिल हुन उनले पत्रकारहरुलाई आग्रह गरे। यस्ता राष्ट्रविरोधीको फोटो र भिडियो ल्याउन जरुरी भएको भन्दै गृहमन्त्री थापाले भने, ‘यस्तो काम फोटो पत्रकारहरुले गर्न सक्छन्।’

विकास विरोधी ठेकेदारहरुको फोटो सार्वजनिक गर्नुपर्नेमा जोड दिंदै उनले राम्रा काम गर्ने ठेकेदारहरुलाई भने अगाडि बढाउनु जरुरी रहेको औँल्याए।

नेपालको विकासमा मुख्यबाधक भनेको सामन्तबादी होइन, तस्कर, सिण्डीकेटवालाहरु, दलाल भ्रष्टाचारी नै भएको गृहमन्त्री थापाले ठोकुवा गरे। एनले तिनिहरुको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी रहेको जिकिर गरे।

पत्रकारिता देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्नेमा गृहमन्त्री थापाको जोड छ । पत्रकारहरुसँग सहकार्य गर्न सरकार तयार रहेको समेत उनले बताए।कार्यक्रममा बोल्दै नेकपाका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार समृद्धिको बाधक हुने उल्लेख गरे। पत्रकारहरुले आर्थिक विकासतर्फ ध्यान दिनुपर्ने भन्दै पाण्डेले लोकतन्त्र आईसकेकाले कसैले पनि पत्रकारहरुको अधिकार खोस्न नसक्ने दाबी गरे।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका निमित्त फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको दाबी गरे।

सरकारले समृद्धिको योजना बनाइरहँदा सरकारले मिडियाको भूमिकाको विषयमा समेत नीतिगत निर्णय गर्न जरुरी रहेको पोखरेलको भनाई थियो। महासंघका उपाध्यक्ष दिलिप थापा मगरले फोटो खिच्न जाँदा राज्यले रोक लगाउने गरेको प्रसँग कोट्याउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए।

सो क्रममा गृहमन्त्रालयका सहसचिव केदार न्यौपाने, उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका राजु पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका रामकुमार अर्याल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन लगायतले बोलेका थिए।

भेलाले आजै फोटो पत्रकारहरुको विषयमा सौराहा घोषणापत्र सार्वजनिक गर्ने महासंघका कोषाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिए। महासंघको ५२ जिल्ला शाखामध्य भेलामा अधिकांश शाखाका फोटो पत्रकार र प्रतिनिधिहरु सहभागी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.