विचार

समाजवाद : कुराले कि अभ्यासले?
SHARES

जेठ १७, २०७५

    नेपालको संविधानले नै नेपाललाई समाजवाद उन्मुख देशको रूपमा उल्लेख गरेको छ। समाजवादको परिभाषा पनि समयअनुसार बदलिन थालेको छ जस्तो देखिन्छ। संविधान बनाउँदा समाजवादका बारेमा खासै बहस नभए पनि समाजवादलाई सबैले स्वीकार गरेकाले होला, संविधानको प्रस्तावनामा त्यो शब्द राख्दा कुनै विरोध वा गलफत्ती केही पनि भएको थिएन। तर अहिले आएर समाजवादका बारेमा व्यक्तिपिच्छे नै अर्थ लगाउन थालिएको छ र भन्दाभन्दै दुईवटा कम्युनिस्ट पार्टी मिलेको नै समाजवादको स्थापनाका लागि भन्ने अर्थ देखिन थालेको छ।

    एक्काइसौँ शताब्दीको दुई दशक सम्पन्न हुने बेलामा हामीले समाजवादलाई बल्ल जान्न र बुझ्न थालेका छौँ, जबकि संसारमा कतिले समाजवाद मरेको घोषणा गरे त कसैले समाजवाद अझै सामयिक छ भनेर भन्दै हिजोको समाजवादभन्दा फरक परिभाषाको आवश्यकता महसुस गरे। समाजवाद मरेको देख्ने र समाजवाद मात्र वैज्ञानिक राज्यतन्त्र हो भन्ने दुवैले अतिवादको संज्ञा पाएको पनि देखिएको छ। 

    हाम्रो परिपे्रक्ष्यमा समाजवादको व्याख्या गर्नेहरूलाई मार्क्सवादी मान्ने कि गैरमार्क्सवादी मान्ने भन्ने अन्योल देखिएको छ। समाजवादलाई पुराना साम्यवादका समर्थकहरूले नै आफ्नो पेवा बनाएकाले होला, प्रजातन्त्रवादीहरूले प्रजातान्त्रिक समाजवाद वा सामाजिक प्रजातन्त्रको आडमा समाजवादको अर्थ, व्याख्या र प्रयोग गरेका हुन्। सोभियत संघको पतनपछि समाजवाद मर्‍यो भन्नेहरूलाई जवाफ दिनका लागि पनि आजभोलि समाजवादलाई लोकतन्त्र वा प्रजातन्त्रसँग जोडेर व्याख्या गरिन थालेको छ, जसको प्रभाव नेपालका कम्युनिस्टहरूमा प्रत्यक्षतः देखिन्छ।

    जनताका पक्षमा र समाजको अग्रगामी विकासलाई आत्मसात् गर्दै चलाइने राज्यतन्त्रलाई समाजवादको अर्थ दिइने गरिएको बेलामा समाजवादको सेरोफेरोमा प्रजातन्त्र अनिवार्य हुन्छ। समाजमा जनता हुन्छन् र जनताको हितमा जनताका प्रतिनिधिले राज्य संचालन गर्ने प्रक्रियालाई नै प्रजातन्त्र वा लोकतत्र वा जनतन्त्र मानिन्छ। 

    जनताले रोजेका जनप्रतिनिधिहरूको आवधिक शासन प्रणाली अर्थात् प्रजातन्त्रका आफ्नै गुणहरू हुन्छन्, जसलाई हत्केलाले छेकेर छेकिँदैन। तिनका आफ्नै मान्यता हुन्छन्। हिजोको सोभियत संघ, आजका स्वघोषित समाजवादी देशहरूमा प्रजातन्त्रलाई आफ्नै खालको भनेर अथ्र्याइन्छ तर सारमा लोकतन्त्रका कुनै पनि अवयवहरू त्यहाँ विद्ययमान हुँदैनन्। आवधिक निर्वाचन, विश्वव्यापी रूपमा सम्मान गरिएको मानवअधिकारको अभ्यास, अभिव्यक्ति स्वतन्त्रताको सम्मान, प्रेस स्वतन्त्रता, कानुनको शासन र व्यक्तिगत तथा सामूहिक अधिकारको प्रत्याभूतिसहितको सामाजिक न्यायको पूर्ण बहालीले मात्र प्रजातान्त्रिक समाजवादको बाटो पहिल्याउन सक्छ। 

    समाजवादले जनताको व्यवस्थापन कसरी गरेको हुन्छ भनेर भन्दा त्यसका विश्वव्यापी अभ्यास र व्यवस्थापनले नकारात्मक सन्देश दिन्छ। केही देशमा निजीकरणसहितको समाजवाद त छ तर लोकतन्त्रका कतिपय आधारभूत मानिएका आधारस्तम्भहरू देखिँदैनन्। जनताको अभिव्यक्ति स्वतन्त्रताको सिंगो स्वरूपलाई सीमित घेराको परिभाषाभित्र समेटिएको छ। पुँजीवादको कुरा गर्दा मानवीय आवश्यकता पूरा गरेर मात्र निजीकरणलाई प्रश्रय दिइएको छ। 

    समाजवादलाई सर्वप्रथम नेपाली कांग्रेसले २०१२ सालमा आफ्नो दलको विधानमा समावेश गरेर प्रजातन्त्रवादीहरूमा पनि समाजवादको प्रभाव छ भनेर देखायो र २०१५ सालको निर्वाचनपश्चात् वीपी कोइरालाको सरकारले कतिपय जनमुखी प्रगतिशील कार्यक्रमहरू लागू गरेर जनतालाई नयाँ राज्यतन्त्रको आभास दिलाउने कोसिस भयो। तर १८ महिनामा नै त्यो सरकार राजाको सैनिक कुद्वारा अपहरित भयो।

    अहिले हाम्रो नेपालमा समाजवाद एउटा प्यान्डोराको पेटारो जस्तो गरी अथ्र्याइन थालेको छ। चाहे एमाले र माओवादीको मिलन भएको होस्, त्यसलाई पनि समाजवादको गन्तव्यको रूपमा मानिएको छ। चाहे भर्खरै आएको जनताले प्रत्यक्ष फाइदा नपाउने तर भविष्यको आशा देखाएर पन्छिने परम्परावादी बजेट होस्, ती सबैलाई समाजवाद उन्मुख मुलुकको नयाँ गन्तव्यको रूपमा व्याख्या गरिएको छ।

    समाजवादलाई सर्वप्रथम नेपाली कांग्रेसले २०१२ सालमा आफ्नो दलको विधानमा समावेश गरेर प्रजातन्त्रवादीहरूमा पनि समाजवादको प्रभाव छ भनेर देखायो र २०१५ सालको निर्वाचनपश्चात् वीपी कोइरालाको सरकारले कतिपय जनमुखी प्रगतिशील कार्यक्रमहरू लागू गरेर जनतालाई नयाँ राज्यतन्त्रको आभास दिलाउने कोसिस भयो। तर १८ महिनामा नै त्यो सरकार राजाको सैनिक कुद्वारा अपहरित भयो। त्यसपछिका ३० वर्ष एउटा नयाँ दम्भ र आधारमा सरकार संचालन भयो। बहुदलीय व्यवस्थाको पुनःस्थापनासँग समाजवाद वा प्रजातान्त्रिक समाजवादको रटान लागेकै छ र पनि जनताको जीवनस्तर नबढेको पनि होइन, देखिने गरी बढेको पनि छैन। केही नभएको पनि होइन, धेरै भएको पनि छैन। 

    समाजवादको प्रारम्भ र गन्तव्य जनता नै हो। त्यसको प्रक्रिया र परिणाम पनि जनताको जीवनस्तर नै हो। सुखी, समृद्ध र आत्मनिर्भर जनताको भविष्यको रेखा कोर्ने काम हल्ला नगरेर पनि गर्न सकिन्छ। सबै मिलेर मात्र त्यो सम्भव छ। आजको समाजवाद भनेको विज्ञानभन्दा सामाजिक समानतामा आधारित नै हुन्छ।

    समाजवादका धेरै परिभाषाभन्दा जनतालाई दिइने सेवाको गुणस्तरमा भर पर्छ। कार्ल मार्क्स, लेनिन, माओ, वीपी, पुष्पलालका सिद्धान्तलाई कार्यरूपमा कसरी जनताका पक्षमा अनुवाद गर्ने भन्ने चुनौती स्वीकार गर्नु जरुरी छ। नबुझिने शब्दहरूले समाजवादलाई मण्डित गर्ने र आफ्ना व्यक्तिगत कुण्ठाका विरुद्ध बोल्ने अरू सबैलाई प्रतिक्रियावादी, साम्राज्यवादी देख्ने पुरानो चस्मा परिवर्तनको बेला आएको छ। दुई सय वर्षअघिको समाज र समय अब छैन। अब समय प्रविधिमैत्री भएको छ र इन्टरनेटले विश्वलाई एउटा हत्केलामा सीमित गरेको बेलामा गरिने नयाँनयाँ समाजवादको परिभाषाले खासै काम दिँदैन। 

    नेपालको परिप्रेक्ष्यमा समाजवाद कसैको पेवा शब्द अब नहुन सक्छ। जनताको सामाजिक न्यायको अवस्थालाई सूचकका रूपमा लिइनुपर्छ। जनताको सुविधाको स्तरलाई आधार बनाएर गन्तव्यको निर्धारण गरिनुपर्छ। नबुझिने जार्गन शब्दहरूले मात्र अब समाजवादको स्थापना हुन सक्दैन, न त दम्भ र निरंकुशताको नयाँ अभ्यासको थालनीले नै हुन सक्छ। 

    नेपाली जनता निरंकुशताका विरुद्धमा कसरी लड्ने भन्ने कुरामा अभ्यस्त भएका छन् । समाजवाद र प्रजातन्त्रका बीचको खाडल कस्तो छ र कसरी त्यो खाडल पुर्न सकिन्छ भनेर पनि जान्दछन्। मात्र नियालेर हेरिरहेका छन्। संविधानको व्याख्या जसरी जसले गरे पनि नेपाली जनताको जीवनस्तरको सूचकले भोलिका दिनमा संविधानको कसरी अभ्यास गरिएको छ भन्ने जानकारी हुनेछ। 

    लामालामा कार्यपत्र, लामा भाषण र कुनै दुई वा तीन दल मिलेर सरकार बनाउँदैमा समाजवादको घोषित लक्ष्य पूरा हुन गाह्रो छ, न त प्रजातान्त्रिक समाजवादको अभ्यासविनाको रटानले जनताको जीवनस्तर विकसित देशको दाँजोमा पुग्नेछ। निरन्तर अभ्यास, निरन्तर सजगता र प्रजातन्त्रप्रतिको अटुट आस्थाले मात्र विकासको एउटा मानक स्थानमा पुगिनेछ। त्यसलाई या त समाजवादको अन्तिम रूपमा मानौँ वा प्रजातान्त्रिक समाजवादको पछिल्लो संस्करण मानौँ। सूचक र मानक भनेको जनता हो, जनताको जीवनस्तर उच्च हुनु हो र सबैमा खुसी र समृद्धि त्यसबेलामा देखिनेछ, जुन बेलामा मुलुकले साँच्चै कायापलट भएको महसुस गर्नेछ। वास्तवमा प्रजातन्त्रकोे अभ्यासले मात्र त्यो सम्भव छ, मुखले भन्दैमा हुँदैन।

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]