जनप्रतिनिधिकै घरमा छैनन् शौचालय

|

रौतहट : रौतहटको कटहरिया नगरपालिकामा जनप्रतिनिधिकै घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसा गर्दा गदै पक्राउ परेका छन्। घरमा शौचालय नभएपछि खुला ठाउँमा दिसा गर्दा गर्दै सरसफाइ अभियानकर्ताहरू र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। कटहरिया नगरपालिका ४ कि वडासदस्य मीनादेवी यादवको घरमा शौचालय नहुँदा उनका श्रीमान् छविलाल यादव खुला ठाउँमा दिसा गर्दागर्दै पक्राउ परेका हुन्।

पक्राउ परेका यादवलाई सोही वडाका अध्यक्ष र इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षकको रोहबरमा शौचालय बनाउने सर्तमा छाडिएको थियो। त्यसैगरी, बिहीबार पनि वडा ५ का वडा सदस्य नैनावतिदेवी दासको श्रीमान् चनरदेव दासलाई पनि सरसफाइ अभियानकर्ताहरू र प्रहरीको टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएको कटहरिया नगरपालिकालाई खुला दिशामुक्त बनाउने अभियानमा लागेको आरडिसी नेपालका कार्यक्रम संयोजक विजय साह बनियाँले जानकारी दिए। 

शौचालय बनाउन आग्रह गर्दा गदै पनि बेवास्ता गरेको कारण सरसफाइ अभियानकर्ताहरू बिहान ४ बजेदेखि नै खुला स्थानमा पुगेर निगरानी गर्ने र दिसा गर्दा गर्दै पक्राउ गरेको कार्यक्रम संयोजक बनियाँले बताए। त्यसैगरी, वडा ४ कै वडा सदस्य मुनीदेवी धनकारीनको पनि घरमा शौचालय छैन। यति मात्र नभएर कटहरिया नगरपालिकाका योजना प्रमुख हरेन्द्रप्रसाद यादवको हाल बस्दै आएको घरमा समेत शौचालय नभएको अभियानकर्ताहरूले गुनासो गरेका छन्। 

शौचालय बनाउन आग्रह गर्दा आलटान गर्ने गरेको सरसफाइ अभियानकर्ताहरूको भनाइ रहेको छ। यस्तै, आधारभूत विद्यालय बलिरामपुरका स्थायी शिक्षक शम्भु प्रसाद साहले घरमा अझै शौचालय बनाएका छैनन्। विगत २५ वर्षदेिख स्थायी शिक्षकको रुपमा निम्न माध्यमिक तहमा कार्यरत शिक्षक साहले समेत शौचालय नबनाइ दिँदा अन्य समाजका व्यक्तिलाई समेत शौचालय बनाउन आग्रह गर्न कठिन भएको कार्यक्रम संयोजक बनियाले बताए। 

शिक्षित वर्गले त शौचालय नबनाउनु दुखद भएको उनको भनाइ रहेको छ। यता, कटहरिया नगरवासीहरूको घर घरमा शौचालय बनाउनको लागि ८७ लाखभन्दा बढी रकम बिनियोजन गरेको छ। सो नगरको करिब १ हजार ६०० घरधुरीलाई शौचालय निर्माणको लागि सो रकम विनियोजित गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव मुखियाले जानकारी दिए। 

निमित्त प्रमुख प्रशासकीय अधिकृत मुखियाले भने, ‘शौचालय बनाउने हरेक घरधुरीलाई ३ हजार ५०० को दरले पुरस्कार स्वरुप दिने नगर सभाको निर्णय भएको छ सोही अनुसार अनुदान सहयोग गछौ’, उनले थपे, ‘ यदि अनुदान लिएर पनि शौचालय नबनाएको भेटिए सो रकम फिर्ता लिने समेत निर्णय भएको छ।’ यसैबीच यही शौचालय अनुदानको विषयलाई लिएर वडा सचिव र वडा अध्यक्षबीच झगडा हुने समेत गरेको पाइएको छ।

शौचालय बनाएकाहरूलाई मात्र अनुदान दिने निर्णय भए पनि वडा अध्यक्षहरूले अगाडि नै अनुदान माग्ने गरेको वडा सचिवहरूको गुनासो छ। सो नगरपालिकामा यसरी खुल्ला स्थानमा दिशा गरेकाहरूलाई धमाधम पक्राउ गरेको भए तापनि ९० प्रतिशत घरधुरीमा शौचालय बनिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मुखियाले बताए। कटहरिया नगरपालिकाको आयोजनामा र अक्सफाम नेपालको आर्थिक सहयोगमा सरसफाइका गतिविधिहरू संचालन भइरहेका छन् भने यसको समन्वय आरडिसी नेपालले गरेको छ। 

१५ दिन भित्र कटहरिया नगरपालिकालाई खुल्ला दिशामुक्त बनाउने लक्ष्यका साथ दुर्गतिमा अभियान चलाइरहेको कार्यक्रम संयोजक बनियाले जानकारी दिए। आउँदो असार मसान्तभित्र रौतहटलाई नै खुल्ला दिशामुक्त बनाउने अभियानमा सरसफाइ अभियानकर्ता लागिरहेको अवस्थमा कटहरिया नगरपालिकाका जन प्रतिनिधिहरू कै घरमा शौचालय नहुनु दुखद भएको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका प्रवक्ता तथा इन्जिनियर मुस्ताक आलमले जानकारी दिए। रौतहटमा ९६ प्रतिशत घुरधुरीमा शौचालय बनिसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.