‘सुन तस्करको पक्षमा बहस गर्नु दुःखद्’

|

विराटनगर : करिब ३८ क्विन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा अभियुक्तको पक्षमा बहस गर्ने प्रदेश सांसद लीलाबल्लभ अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोध्ने भएको छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई गठन भएको नेकपाको बिहीबार बसेको प्रदेश १ संसदीय दलको पहिलो बैठकले अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित सांसद अधिकारीले पदीय मर्यादा र आचारणको उल्लंघन गर्दै सुन तस्करी र सनम हत्याकाण्डका अभियुक्तको पक्षमा जिल्ला अदालत मोरङमा बहस गरेका थिए। सुन तस्करीमा प्रत्यक्ष जोडिएका प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बचाउन बहस गरेपछि उनी विवादित बनेका थिए।

संसदमा सुन तस्कर र सनम हत्याका अभियुक्तमाथि कडा कारवाही हुनुपर्ने आवाज उठिरहेको बेला अधिकारीले ‘व्यावसायिक काम’ भन्दै अभियुक्तको पक्षमा बहस गरेपछि उक्त विषय विवादित बनेको हो। अधिकारी नेतृत्वकै समितिले निर्माण गरी प्रदेशसभाबाट पारित भएको प्रदेशसभा नियमावलीको समेत उल्लंघन गर्दै उनले गम्भीर अपराधमा मुछिएका अभियुक्तको पक्षमा बहस गरेको भन्दै नेकपाका सांसदहरूले चर्को आलोचना गरेका थिए।

पार्टी एकीकरणपछि बसेको पहिलो संसदीय दलको बैठकमा सांसदहरू कुलप्रसाद साँवा, लक्ष्मण तिवारीलगायतले पदीय मर्यादा र आचरणविपरीत सांसद अधिकारीले अभियुक्तको पक्षमा बहस गरेको भन्दै यसलाई स्पष्ट गर्नुपर्ने माग गरेका थिए। उनीहरूको मागमा सबै सांसदले ताली बजाएर समर्थन गरेपछि बैठकले अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ।

सांसदहरूले कुरा उठाएपछि प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले विषय गम्भीर र संवेदनशील रहेको बताएका थिए। ‘यो विषय अत्यन्तै गम्भीर छ, मैले उहाँसँग व्यक्तिगत ढंगले पनि सोधेको छु’, राईले बैठकमा भनेको कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने, ‘लीलाबल्लभजीको विषयमा स्पष्टीकरण सोध्नु आवश्यक छ।’ मुख्यमन्त्रीको मन्तव्यपछि अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ। 

गम्भीर अपराधका अभियुक्तको पक्षमा बहस गरेको कारण अधिकारीप्रति प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, सांसदहरू र नेकपाकै कार्यकर्ताहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन्। कतिपय सांसद र कार्यकर्ताहरूले उनलाई कारवाही गर्नुपर्ने आवाजसमेत उठाइरहेको बेला संसदीय दलले स्पष्टीकरण सोधेको हो। यसअघि आफ्नो कामलाई व्यावसायिक धर्म भन्दै बचाउ गर्दै आएका सांसद अधिकारीले मिडियाले उक्त प्रकरणमा आफ्नो ढाड खुस्कने गरी प्रहार गरेको प्रतिक्रिया दिएका छन्। सांसद अधिकारी भने उक्त संसदीय दलको बैठकमा उपस्थित थिएनन्।

नेकपा संसदीय दलको नेतामा राई र उपनेतामा आङ्बोहाङ

यसैबीच नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टीको गठन भएपछि प्रदेश १ संसदीय दलको पहिलो बैठक बिहीबार बस्यो।

तत्कालीन नेकपा एमाले संसदीय दलका नेता रहेका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले राईलाई दलको नेता र टंक आङ्बोहाङलाई दलको उपनेता चयन गरेको छ।

उपनेता चयन गरिएका आङ्बोहाङ तत्कालीन नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता थिए। दलको प्रमुख सचेतक र सचेतकको निर्णय भने अर्को बैठकबाट लिइने भएको छ। बैठकले दलको प्रदेशसभामा दल एकीकरणको कानुनी प्रक्रियालाई अगाडि बढाउने निर्णय पनि गरेको छ।

संसदीय दलको बैठकमा सांसदहरूले प्रदेश सरकार र मन्त्रीहरूको कामप्रति खरो टिप्पणी गरेका थिए। उनीहरूले मन्त्रीहरू प्रचारमुखी भएको र योजनाबद्ध काममा भन्दा उद्घाटनमा अल्मलिएको भन्दै यसले प्रदेश सरकारलाई असफल बनाउने खतरा बढेको बताए। मन्त्रीहरूको योग्यतामाथि प्रश्न गर्दै उनीहरूले काम गर्न नसक्नेलाई फिर्ता बोलाउनुपर्ने मागसमेत गरेका थिए।

सांसदहरूले संघीयतालाई स्थापित गर्ने गरी बजेट संघीय सरकारले ल्याउन नसकेको भन्दै प्रदेश सरकारले आवश्यक पहल गर्न नसकेको गुनासो गरे। प्रदेशको बजेट कम आएकाले जनताको अपेक्षाअनुसार काम हुन नसक्ने उनीहरूको गुनासो थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.