|

काठमाडौं : रहरहरू उमेरअनुसार बढ्दै जान्छन्। भविष्यमा जाग्ने इच्छाहरू पनि परिवर्तन हुन्छन्। मरिष्का पोखरेल, जसलाई सानो उमेरमा टिभीको पर्दामा देखिने ठूलो रहर थियो, जुन रहर उमेर वृद्धि भएसँगै हराउँदै गयो। एसएलसी दिने बेला उनलाई पर्दामा देखिनभन्दा पनि फेसन डिजाइन गर्न मन लाग्न थाल्यो।

कहिलेकाहीँ बिर्सिसकेका रहरहरू पनि पूरा गर्ने अवसर मिल्छ। त्यस्तै भयो मरिष्कालाई पनि। उनको पर्दामा देखिने रहर मर्दै गइसकेको थियो तर उनले पर्दामा देखिने अवसर पाइन्। अहिले उनी ठूलो पर्दाकी हिरोइन बनिसकेकी छन्।

चार वर्षे जापान बसाइ

एसएलसी परीक्षा सक्किएपछि मरिष्का जापान गइन्। उनका आफन्तहरू त्यहाँ भएका कारण उनी घुम्ने उद्देश्यले त्यहाँ पुगेकी थिइन्। जापान पुगेकी उनलाई जापान मनपर्‍यो, उतै बस्ने निर्णय गरिन्। उनी भन्छिन्, 'घुम्न भनेर गएकी थिएँ तर त्यो ठाउँ एकदमै मनपरेर उतै बस्न मन लाग्यो, उतै बसेँ।'

जापानमा काम नगरी बस्न सजिलो छैन। उनले 'पार्ट टाइम' जबका लागि एक स्कुलमा पढाउन निवेदन दिइन् तर स्कुलले उनलाई 'फुल टाइम' स्टाफ बनायो। कारण, उनको कला त्यहाँको व्यवस्थापनले मनपराइदियो। उनी सम्झिन्छिन्, 'पार्ट टाइम गर्छु भनेर गएकी थिएँ। मेरो आर्ट देखेर उहाँहरूले मलाई फुल टाइमको काम दिनुभयो।'

जापानमा उनी रमाइरहेकी थिइन्। पढ्ने अनि पढाउने दुवै गर्थिन्। उनी त्यहाँ बाल मनोविज्ञान पढ्थिन्। जीवन चलिरहेकै थियो। उनी भन्छिन्, 'जापानमा मलाई राम्रै भइरहेको थियो। तलब पनि राम्रै थियो। एकदमै रमाइलो जीवन बिताइरहेकी थिएँ।'

आमा बिरामी भएपछि एक्कासि नेपाल

चार वर्षको जापान बसाइपछि उनी एक्कासि नेपाल आउनुपर्‍यो। उनी नेपाल आउनुको मुख्य कारण उनकी आमाको स्वास्थ्यमा आएको समस्या थियो। उनी भन्छिन्, 'आमालाई मुटुको अपरेसन गर्नुपर्ने भयो। त्यसपछि आमालाई मेरो आवश्यकता हुने बुझेर म नेपाल फर्किएकी हुँ।'

नेपाल आएको एक वर्ष आमाको स्याहार सुसारमै लागिन्। आमाको उपचारमा व्यस्त भइन्। काठमाडौं उनका लागि नयाँ थियो। कोही कसैलाई चिन्दिन थिइन्। एक वर्षमा बल्ल केही मान्छे चिन्न थालेकी थिइन्। उनी भन्छिन्, 'नेपाल आएको एक वर्ष त आमाको हेरचाह र मान्छे चिन्दैमा बित्यो।' एक वर्षका लागि उनी बेरोजगार जस्तै थिइन्।

नेपालमा 'फेसन शो'

नेपाल आएको एक वर्षपछि उनले एक पत्रिकामा 'फेसन शो'को अडिसन हुन लागेको थाहा पाइन्, जहाँ २० जना मागिएको थियो। उनी पनि गइन्। '२० जना मागेको थियो। त्यहाँ त दुई सय जनाजति अडिसन दिन आएका थिए', उनी सम्झिन्छिन्, 'सेलेक्ट हुन्छु कि हुन्न, डर थियो।' डर खुसीमा परिवर्तन भयो। उनको नाम पहिलो नम्बरमा सेलेक्ट भयो।

उनले त्यसपश्चातको एक वर्षमा १० बढी फेसन शोमा भाग लिइन्। उनको रुचि त्यता पनि उत्तिकै थियो। भन्छिन्, 'फेसन शोतिर पनि रुचि थियो, त्यसैले १० भन्दा बढी फेसन शोमा भाग लिएकी छु।'

फोटो सुट बन्यो फिल्म खेल्ने अवसर

मरिष्का फोटो सुट पनि गरिरहन्थिन्। उनको शोख त्यता पनि थियो। एक दिन कलाकार प्रज्वल सुजल गिरीसँग गरेको फोटो सुट उनका लागि फिल्म खेल्ने अवसर बनिदियो।

कुरा २०७२ असारतिरको हो। आकाश अधिकारीको निर्देशनमा फिल्म 'के म तिम्रो हैन र' निर्माण हुने क्रममा थियो। केही कलाकार फाइनल पनि भइसकेका थिए। हिरोइनको खोजी भइरहेको थियो। फिल्म 'के म तिम्रो हैन र'मा प्रज्वल सुजल गिरी पनि फाइनल भएका थिए।

हिरोइनको खोजी भइरहँदा प्रज्वललाई केही समय पहिले सँगै फोटो सुट गरेकी मरिष्काको याद आएछ। उनले निर्माण युनिटलाई मरिष्काको बारेमा भने। निर्माण युनिटले पनि उनलाई भेट्न चाह्यो।

मरिष्कालाई एक दिन बिहानै प्रज्वलको फोन आयो। कुरा थियो, त्यही फिल्म 'के म तिम्रो हैन र'को। 'प्रज्वलले मलाई त्यही फिल्मको कुरा गर्न फोन गरेको रहेछ', मरिष्काले भनिन्, 'उसले मलाई फिल्मको बारेमा सबै भन्यो र भेट्न बोलायो।'

निर्माण युनिट र उनीबीच भेटघाट भयो। उनलाई फिल्ममा काम गर्ने अवसर मिल्यो। उनी दोस्रो भेटमा नै फिल्ममा अनुबन्धित भएर सम्झौतापत्रमा सही गरिन्। उनी भन्छिन्, 'पहिलो भेटमा सामान्य कुरा भयो। दोस्रो भेटमा त मैले फिल्म नै साइन गरेकी थिएँ।'

हिरोसँग नाम जोडियो

फिल्म 'के म तिम्रो हैन र'मा उनले नवनायक आर्यन अधिकारीसँग जोडी बाँधेकी थिइन्। फिल्म रिलिज अगावै उनीहरूको नाम जोडिएर मिडियामा विभिन्न गसिपहरू आउन थाले। उनीहरू प्रेममा रहेको भनेर धेरै मिडियाले लेखे पनि।

फिल्ममा दिएको किस सिनका कारण पनि उनीहरूको नाम जोडिएको थियो। उनी भन्छिन्, 'त्यो फिल्मको स्क्रिप्ट भएकाले गरिएको थियो। साँच्चिकै त थिएन नि त!' सुरुसुरुमा उक्त कुराबाट आफूलाई निकै तनाव भएको मरिष्का बताउँछिन्। 'हुँदै नभएका कुराहरू मिडियामा आएपछि त धेरै नै तनाव भएको थियो', उनी भन्छिन्, 'अरूभन्दा पनि आफन्तले के भन्लान् भन्ने डर बढी थियो।'

त्यस्ता गसिप आउँदै गए, मरिष्काको त्यसप्रतिको चासो घट्दै गयो। उनी भन्छिन्, 'यो क्षेत्र नै यस्तै रहेछ। सबैका यस्ता कुराहरू आइरहँदारहेछन् भन्ने लागेर पछि त्यसलाई ध्यान दिनै छोडेँ।'

लगातार फिल्म

'के म तिम्रो हैन र' मा काम गरिरहँदा नै उनलाई अर्को फिल्म 'चपली हाइट २' को अफर आयो। उनी एक फिल्मको काम नसकिँदै अर्को फिल्ममा काम पाएकामा आफूलाई भाग्यमानी ठान्छिन्।

उनलाई 'चपली हाइट २' को अफर निर्देशक दीपेन्द्र के खनालले नै गरेका थिए। दीपेन्द्र एक पटक 'के म तिम्रो हैन र'को सुटिङ सेटमा पुगेका थिए। मरिष्का भन्छिन्, 'सायद उहाँलाई मेरो काम मनपर्‍यो होला र मलाई आफ्नो प्रोजेक्टमा लिनुभयो।'

यस वर्ष मरिष्का अभिनित 'लम्फू' प्रदर्शनमा आइसकेको छ। उनी अभिनित अन्य दुई फिल्म यसै वर्ष रिलिज हुँदै छन्। उनी अभिनित 'पण्डित बाजेको लौरी' र 'मिस्टर भर्जिन' यस वर्ष रिलिज हुने फिल्म हुन्।

अब निर्देशक पनि

उनी निर्देशक बनिसकेकी छन्। उनको निर्देशनमा एक म्युजिक भिडियो पनि तयार भइसकेको छ। काममा एकदमै लगाव भएकाले पनि आफूलाई अगाडि ल्याउन सजिलो भएको मरिष्का बताउँछिन्। भन्छिन्, 'म काममा एकदमै डेडिकेटेड छु। हरेक कामलाई डेप्थमा गएर बुझ्छु अनि गर्छु। त्यही भएर होला यो क्षेत्रमा लागेको छोटो समयमै निर्देशन गरिसकेकी छु।'

उनी आगमी दिनमा पनि भिडियो निर्देशन गर्ने बताउँछिन्। भन्छिन्, 'यसलाई पनि म अब आफ्नो पेसा बनाउँछु। अफर छन्, कन्सेप्ट बनाएर मात्र भिडियो निर्देशन गर्छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.