यस्तो छ नेकपाको पहिलो अन्तरपार्टी निर्देशन

|

काठमाडौं : ७० वर्षदेखि विभाजनको पीडा झेल्दै आएको नेपाल कम्युनिस्ट पार्टी पुनर्गठित भएको छ। गएको जेठ ३ गते पार्टी एकीकरण गरेको नेकपाले मातहतका पार्टी कमिटी र जनवर्गीय संगठनहरूको समायोजन गर्नका निम्ति कार्यदल निर्माण गरी एकता प्रक्रिया अगाडि बढाएको छ।

यस सन्दर्भमा नेकपाले अन्तरपार्टी निर्देशनसमेत पठाएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २१ पेज लामो अन्तरपार्टी निर्देशन पठाएका हुन्। अन्तरपार्टी निर्देशनमा जेठ ३ गते बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र ७ गते बसेको केन्द्रीय सचिवालय बैठकका निर्णयहरूको जानकारीसहित कार्यान्वयनका लागि निर्देशन गरिएको छ। पार्टी एकतापछिको नेकपाको यो पहिलो अन्तरपार्टी निर्देशन हो।

निर्देशनमा पार्टी एकतालाई सबै तहका स्थानीय पार्टी कमिटी, जनसंगठन र पार्टी सदस्यहरूका एकतामा विस्तारित गर्नुपर्नेमा जोड दिइएको छ। पार्टी कमिटी र जनसंगठनहरू तीन महिनाभित्र एकीकरण गर्न निर्देशित गरिएको छ। स्थानीय पार्टी कमिटीहरूको एकता/एकीकरणका लागि कार्यादेशसहित कार्यदलहरू गठन गरिएको छ। यसैगरी जिल्ला संगठन कमिटीका लागि पदाधिकारी, सदस्य र सचिवालय सदस्यको नाम सिफारिस गर्ने बैठकमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला कमिटीका इन्चार्ज तथा अध्यक्ष पनि कार्यदलका सदस्यको हैसियतमा सहभागी हुनेछन्। जनवर्गीय संगठनहरूको एकता/एकीकरणका लागि कार्यादेशसहित कार्यदलहरू गठन गरिएको छ।

नियमावली मस्यौदा अन्तिम चरणमा

खासगरी संगठनात्मक एकीकरणको प्रकिया अघि बढाउन विधानको परिपूरक हुनेगरी महासचिव विष्णु पौडेलको संयोजकत्वमा नियम मस्यौदा कार्यदल गठन गरिएको छ। १५ दिनको म्याद दिइएको मस्यौदा कार्यदलले अहिले काम गरिरहेको छ। तोकिएको समयभित्र काम सम्पन्न हुनेगरी कार्यदलले अहिले काम गरिरहेको कार्यदलका सदस्य तथा नेकपाका नेता देव गुरुङले जानकारी दिए।

तोकिएको समयभन्दा पहिले नै कार्यदलले मस्यौदा निर्माणको कार्य गरिसकेको कार्यदलका सदस्य नेकपाका नेता वेदुराम भुसालले जानकारी दिए। 'हामीले नियमावलीका मस्यौदा तयार पारिसकेका छौँ। नियमावली बनिसकेको छ', उनले भने, 'नियमावली विधानसँग जोडिएको विषय भएको हुनाले मस्यौदामा केही कुरा उठेका छन्। हामी छलफलमै छौँ। केही दिनमै टुंग्याउँछौँ।' नियमावलीमा पार्टीको संगठनात्मक कमिटी, विभाग संख्यालगायतका विषय रहनेछन्।

जेठ ७ गते बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले गठन गरेको नियमावली कार्यदलमा महासचिव पौडेलसहित देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेका छन्। कार्यदलको शुक्रबार बैठक बस्ने तयारी छ।

संसदीय दल समायोजन

नेकपा संसदीय दलको विधान एउटै बनाउने प्रक्रिया पनि सुरु भएको छ। भीम रावलको संयोजकत्वमा गठित कार्यदलले विधान एउटै बनाउन काम गरिरहेको छ।जेठ ८ गते बसेको नेकपा संसदीय दलको बैठकले उक्त कार्यदल गठन गरेको हो।

कार्यदलमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रेखा शर्मा र रामनारायण बिडारी सदस्य रहेका छन्। यस कार्यदलको समयावधि पनि १५ दिन तोकिएको छ। पार्टी एकीकरणपछि नेकपाले संघीय संसदको नेता, उपनेता, प्रमुख सचेतक तथा सचेतक परिवर्तन गरिसकेको छ। यसअनुसार दलको नेतामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन भइसकेका छन्।

संसदीय दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङ चयन भएका छन् भने सचेतकमा शान्ता चौधरी चयन भएकी छन्। यसैगरी नेकपाले राष्ट्रियसभामा नेकपा संसदीय दलको नेताका रूपमा दिनानाथ शर्मालाई चयन गरेको छ।

त्यस्तै, सातवटा प्रदेश सरकारमा पनि नेकपाको संसदीय दलको नेता छनोट कार्य सुरु भएको छ। यसअन्तर्गत प्रदेश नम्बर १ ले बिहीबार नेकपा संसदीय दलको नेतामा शेरधन राईलाई चयन गरेको छ। उनी यस प्रदेशका मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य हुन्। नेकपा संसदीय दल प्रदेश १ को बैठकले उपनेतामा टंक आङ्बोहाङलाई चयन गरेको हो।

अन्य प्रदेशमा पनि यस विषयमा छलफल सुरु भएका छन्। केन्द्रले निर्देशन गरिसकेकाले प्रदेशमा पनि नेकपाको दलको नेता छनोट कार्य सुरु भएको छ, जसअन्तर्गत केही दिनमै नेकपाको संसदीय दलको नेता र उपनेता चयन गरिने पूर्व एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए।  

नियमावलीका कारण अगाडि बढेन काम

नेकपाले जनवर्गीय संगठनहरूको एकीकरणका निम्ति कार्यदल गठन गरे पनि अहिलेसम्म काम भने अगाडि बढ्न सकेको छैन। खासगरी संगठन समायोजनका लागि आवश्यक नियमावली बनिनसकेका कारण काम अगाडि बढ्न नसकेको नेताहरूले बताउँदै आएका छन्। 

पार्टीले जनवर्गीय संगठनहरूलाई तीन महिनाको मिति तोकेर पूर्वघटकहरूका इन्चार्ज तथा संयोजक कार्यदलको संयोजक र सहसंयोजक तथा घटक संगठनका अध्यक्षहरू सदस्य रहनेगरी कार्यदल निर्माण गरेको छ।

तर अहिलेसम्म पनि यी कार्यदल औपचारिक छलफलमा बस्न सकेका छैनन्। पूर्व एमालेको जनवर्गीय संगठन युवा संघ नेपालका इञ्चार्ज महेन्द्रबहादुर पाण्डे ठोस रूपमा काम अगाडि नबढेको बताउँछन्। आआफ्नो संगठनको सचिवालयमा छलफल गरिसकेपछि एकीकृत रूपमा छलफल अगाडि बढाइने नेता पाण्डेले बताए।

पूर्वमाओवादी केन्द्रको जनवर्गीय संगठन योङ कम्युनिष्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा कार्यदल गठन गरिसकेको भए पनि काम अगाडि  नबढेको बताउँछन्। खासगरी पार्टी एकीकरण पनि एकीकृत संगठन निर्माणका निम्ति निमावली तयार नभइसकेका कारण काम अगाडि बढ्न नसकेको नेता सापकोटाले बताए।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा संगठनभित्र छलफल भइरहेको भए पनि दुई संगठनबीच छलफल हुन नसकेको बताउँछिन्। कार्यदल गठन भइसकेकाले संगठन एकीकरण नियमावली तयार भएपछि काम अगाडि बढ्ने उनले जानकारी दिइन्।

यस्तो छ प्रदेशको कार्यदल :

  • प्रदेश नं. १ – भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले
  • प्रदेश नं. २ – सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभु साह
  • प्रदेश नं ३ – अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल
  • प्रदेश नं. ४ – किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी
  • प्रदेश नं. ५ – शकंर पोख्रेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन
  • प्रदेश नं. ६ – युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा
  • प्रदेश नं. ७ – भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी
  • प्रवास : नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक

जनवर्गीय संगठन सम्बद्ध कार्यदल :

  • नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ :  विष्णु रिमाल, जयपुरी घर्ती मगर, विनोद श्रेष्ठ र गणेश रेग्मी
  • अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान संघ (क्रान्तिकारी) :  वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ
  • अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) : राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापामगर
  • युवा संघ नेपाल र वाइसिएल नेपाल : मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा
  • अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) : रवीन्द्र अधिकारी, हितमान शाक्य, नविना लामा र रञ्जित तामाङ
  • राष्ट्रिय जनसांस्कृतिक महासंघ र नेपाल जनसांस्कृतिक महासंघ : मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री
  • नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र राष्ट्रिय मुक्ति मोर्चा संगठनहरूको महासंघ : पृथ्वी सुब्बा गुरुङ, देवप्रसाद गुरुङ, सुरेश आले मगर र गोकुल घर्ती मगर
  • लोकतान्त्रिक मधेसी संगठन र मधेसी राष्ट्रिय मुक्ति मोर्चा :  मातृका यादव, रघुवीर महासेठ, जगदीश कुसियत र रामकुमार शर्मा
  • नेपाल मुस्लिम इत्तेहाद संगठन र मुस्लिम मुक्ति मोर्चा नेपाल : सराज अहमद फारुखी, हकिकुल्ला खाँ, जुनैद अन्सारी र अतहर हुसेन
  • नेपाल उत्पीडित जातीय मुक्ति समाज र दलित मुक्ति मोर्चा : बोमबहादुर विश्वकर्मा, तिलक परियार, जीतु गौतम र दलजीत श्रीपाइली
  • नेपाल बुद्धिजीवी परिषद् र अखिल नेपाल बुद्धिजीवी संगठन : दीनानाथ शर्मा, टंक कार्की, दिनेशचन्द्र देवकोटा र नरेश भण्डारी
  • पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघ : जनार्दन शर्मा, विश्वनाथ प्याकुरेल, प्रेमल खनाल र दयाराम बस्याल
  • नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन र भूतपूर्व सैनिक संगठन, पूर्व जनमुक्ति सेना संघ : चक्रपाणि खनाल, धनबहादुर चन्द, हरि राई र जीवनबहादुर बुढा
  • प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल : योगेश भट्टराई, पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल
  • मानवअधिकार एलाइन्स र अखिल नेपाल मानवअधिकार संगठन, काउराष्ट्र नेपाल : विजय सुब्बा, मीनबहादुर शाही, विष्णुपुकार श्रेठ र दीनमणि पोख्रेल
  • लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपाल, अखिल नेपाल क्रान्तिकारी अपांग संघ र जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ : विजय सुब्बा, दीपेन्द्र पुन मगर, मित्रलाल शर्मा र टेकनाथ न्यौपाने
  • नेपाल लोकतान्त्रिक खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघ : टोपबहादुर रायमाझी, कर्ण थापा, पुरुषोत्तम पौडेल र शिव कोइराला
  • प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएन नेपाल : वर्षमान पुन, रघुजी पन्त, रमण श्रेष्ठ र रुद्र नेपाल
  • नेपाल भूमिहीन सुकुम्बासी संगठन र अखिल नेपाल सुकुम्बासी संगठन : हरिबोल गजुरेल, रामप्रीत पासवान, शत्रुघ्न महतो र दीपक थापा
  • नेपाल उद्योग तथा व्यवसायी महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघ : मुकुन्द न्यौपाने, कुलबहादुर केसी, भरत श्रेष्ठ र श्याम पाठक
  • पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन : गोकर्ण विष्ट, पम्फा भुसाल, डा. हरिराम पराजुली र शम्भुबहादुर श्रेष्ठ
  • प्रवासी नेपाली संघ, भारत र अखिल भारत नेपाली एकता मंच : तिल विश्वकर्मा, लोकनाथ भण्डारी, लक्ष्मण पन्त र ईश्वरी भण्डारी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.