प्रधानाध्यापक भन्छन्, अंग्रेजी नपढाउँदा विद्यालय नै बन्द गर्नुपर्ने भयो

|

बैतडी : सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्युन भएर बन्द हुने अवस्थामा पुगेपछि जिल्लाका सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन्। अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढेको ठहर गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजीबाट पठनपाठन सुरु गरेका हुन्।

नयाँ शैक्षिक सत्र २०७५ बाट जिल्लामा अहिले १८ बढी विद्यालयले आधारभूत तहमा अंग्रेजीका माध्यमबाट पठनपाठन सुरु गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका विद्यालय निरीक्षक दशरथ भट्टले बताए। अंग्रेजी माध्यमको पढाइमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढेका कारण बैतडीका सामुदायिक विद्यालयहरूले अंग्रेजीमा पठनपाठन गराउन थालेका हुन्।

विशेषगरी आधारभूत तहमा अंग्रेजी माध्यमबाट सामुदायिक विद्यालयहरुले पठनपाठनमा तीव्रता दिएका विद्यालयहरूले जनाएका छन्। निजी विद्यालयहरुले अंग्रेजी माध्यमको पढाइले विद्यार्थी तानेको भन्दै सामुदायिक विद्यालयहरुले आधारभूत तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन्। अंग्रेजीमा अभिभावकहरुको पनि चासो  भएकाले आधारभूत तहमा अंग्रेजीका माध्यमबाट पठनपाठन शुरु गरिएको सनातन मावि प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए।

'आधुनिक युग सुहाउँदो शिक्षा आवश्यक रहेकाले अंग्रेजी भाषाको  पठनपाठन सुरु गरिएको हो', प्रधानाध्यापक नाथले भने। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि बोर्डिङमा भर्ना गरेका बालबालिकाहरुलाई पनि सामुदायिक विद्यालयमा भर्ना गरिएको केदारनाथ आधारभूत विद्यालय श्रीकोटका प्रधानाध्यापक शंकरराम ओडले बताए।

'विद्यालय नै बन्द हुन अवस्था आएपछि यो वर्ष बालविकास र कक्षा १ मा अंग्रेजी पढाइ सुरु गरेका छौ', ओडले भने। अंग्रेजीमा अभिभावकहरूको  चासो बढेकाले आधारभूत तहमै यो भाषामा पठनपाठन सुरु गरिएको सिद्धेश्वर मावि हुक्केडाँडाका प्रधानाध्यापक नरेन्द्र भट्टले जानकारी दिए। बैतडीका सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएसँगै विद्यार्थी संख्या  बढेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.