अवैध भित्रिएका चल्ला र अण्डा नष्ट

|

कपिलवस्तु : जिल्लाको दक्षिणी सिमानाकासँग सटेको भारतको सीमावर्ती क्षेत्र महाराजगन्ज जिल्लामा पक्षीहरूमा लाग्ने बर्डफ्लुको प्रकोप देखिएपछि कपिलवस्तुमा सीमा नाकाहरूमा उच्च निगरानी गरिएको छ। भारतीय क्षेत्रबाट भित्रिने पक्षी तथा पक्षीजन्य वस्तुमा विशेष निगरानी बढाइएको जिल्ला प्रहरी कार्यायल कपिलवस्तुका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए। 

सीमावर्ती चेकपोस्टमा भारतबाट भित्रिने हरेक सामग्रीमा निगरानी बढाइपछि शुक्रबार विहान ४ बजे जिल्लाको शुद्धोधन गाउपालिका, ५ तारानगरबाट अवैध रुपमा भित्र्याइएका दुई हजार वढी कुखुराका चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ। बेवारिसे अवस्थामा रहेका उक्त चल्लालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको परिसरभित्र शुक्रबार दिउँसो खाल्डोमा पुरि नष्ट गरिएको छ। 

कुखुराको चल्ला, कुखुरा, प्रतिवन्धित सेता अन्डा, दानालगायतका सामाग्रीहरू तस्करहरूले अवैध तरिकाले लुकीछिपी विभिन्न नाकाबाट भित्र्याउने गरेका छन्। नेपालमा भन्दा भारतमा सस्तो पर्ने भएकाले तस्करले बढी मुनाफा कमाउन प्रतिवन्धित सेतो अन्डा र चल्ला भित्र्याउने गरेका हुन्।

प्रहरीले जिल्लाको महाराजगंज नगरपालिकास्थित हरदौना नाकाबाट २५ क्यारेट प्रतिवन्धित सेतो अण्डासमेत बरामद गरेको छ। बरामद भएका अण्डा प्रहरीले शुक्रबार नै पशुसेवा कार्यालयका कर्मचारी, पत्रकारलगायतको रोहवरमा नष्ट गरिएको छ। 

प्रहरी उपरीक्षक मनोज कुमार यादवले जिल्लाभरमा रहेका सबै प्रहरी युनिटलाई भारतबाट हुने अवैध पक्षीजन्य निकासीलाई रोक्न कडा निर्देशन दिएको बताए। ‘कपिलवस्तु पनि वर्ड फ्लुको उच्च जोखिमा परेको छ, भारतबाट अबैध पक्षीजन्य वस्तुहरू भित्रिन सक्ने भएकाले त्यसलाई नियन्त्रणम गर्न विशेष निगरानी गरेका छौँ,’ उनले भने।

पशु सेवा कार्यालयले समेत जिल्लाका १० वटै स्थानीय तहलाई लिखित जानकारी गराएको जनाएको छ। वर्डफ्लुकै कारण सरकारले २०६२ सालदेखि भारतबाट पक्षीजन्य पदार्थको आयातमा प्रतिवन्ध लगाउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.