|

काठमाडौ : पहिलो पुस्ताका चर्चित मुटु डाक्टर हुन् डा. मनबहादुर केसी। गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रको स्थापनापछि पहिलो पटक बिरामीको उपचार गरेका डा. केसी त्यसयता हालसम्म पनि सोही अस्पतालमा मुटु रोगपीडितलाई मृत्युको मुखबाट बचाइरहेका छन्।  

यस अवधिमा उनले कति बिरामीलाई मृत्युको मुखबाट बचाए भन्ने यकिन तथ्यांक उनीसँगै छैन। भन्छन्, 'एक लाख बढी गम्भीर खालका मुटु रोगका बिरामीलाई बचाएँ हुँला।' बाग्लुङको विकट गाउँमा २०२३ सालमा जन्मिएका डा. केसी काम धेरै, प्रचार कम मनपराउने चिकित्सकको रूपमा चिनिन्छन्। आफूसँग चेक गर्न आउने जोकोही बिरामीलाई सकेसम्म चाँडै उपचार सकेर पठाउनु उनको पहिलो प्राथमिकता हुन्छ। यसले गर्दा दिनको आधाभन्दा बढी समय अस्पतालमै बित्ने गर्छ। टाढाका बिरामीले दु:ख नपाऊन् भनेर उनी कहिलेकाहीँ आफ्नो पालो नपरेको दिन पनि ओपिडीमा बस्छन्। यसले गर्दा नाम जस्तै फराकिलो मन भएको डाक्टरको रूपमा उनलाई लिने गरिन्छ।

बुबालाई लाहुरे बनिदियोस् भन्ने थियो तर बने डाक्टर

बाग्लुङ जिल्लाको विकट गाउँ सल्यान गाउँको सामान्य किसान परिवारमा जन्मिएका डा. केसीका बुबाको चाहना लाहुरे बनिदियोस् भन्ने थियो तर उनी चिकित्सक बन्ने बाटोतिर लागे। सानैदेखि पढ्नमा अब्बल उनी जुन गाउँमा जन्मिए, त्यो गाउँका धेरै भारतीय सेना तथा नेपाली सेना, प्रहरीका लाहुरे थिए, जसले गर्दा आफ्नो घर गाउँका लाहुरे परिवारको जिन्दगी खुसीसँग बितिरहेको देखेका उनका बुबा पूर्णबहादुर केसीले पनि छोरो लाहुरे बनिदियोस् भन्ने इच्छा राखेको अनुभव आफूले सानोमा गरेको डा. केसीले बताए। उनले भने, 'म जुन गाउँमा जन्मे हुर्किएँ, त्यहाँ धेरै नेपाली भारतीय सेनाका लाहुरे थिए। उनीहरूका परिवारको जीवन खुसीले बितेको बुबाले देखिरहनुभएको थियो। हामी लाहुरे गाउँको किसान परिवार दु:खले हुर्किएको भएर होला, बुबालाई म पनि लाहुरे बनिदिऊँ भन्ने इच्छा थियो।'

घर एउटा जिल्लामा, पढ्न अर्को जिल्लामा

बाग्लुङको जुन विकट गाउँमा जन्मिए डा. केसी, त्यस गाउँमा त्यसबेला राम्रो विद्यालय थिएन। यसले गर्दा छिमेकी जिल्ला गुल्मीको शान्तिपुरको उदय उच्चमाध्यमिक स्कुलमा पढ्न जान्थे उनी। किसान परिवारको सन्तान भए पनि डा. केसीलाई परिवारले घरबाट दैनिक धेरै समय हिँडेर भए पनि स्कुल पढाउने वातावरण रहेको थियो। दैनिक लामो समय हिँडेर स्कुल गएको फल उनको एसएलसी परीक्षामा देखियो। २०४० सालमा स्कुलकै प्रथम श्रेणीमा पास गर्ने विद्यार्थीमा उनी परे। विकट गाउँमा जन्मिए पनि राम्रो अंकमा परिवारमै एसएलसी पास गर्ने पहिलो रहेका डा. केसी एसएलसीपछिको पढाइ कहाँ गएर पढ्ने भन्ने अन्योलमा थिए।

एक रोपनी खेत बेचेर पढ्न काठमाडौंतिर

विकट गाउँमा राम्रो अंकमा एसएलसी पास गरेका डा. केसीलाई त्यसपछिको पढाइ भने काठमाडौंबाट पढ्न इच्छा लायो। त्यसो त डा. केसीलाई विद्यालय सक्दासम्म डाक्टर नै बन्छु भन्ने लागेको थिएन। तर एसएलसीमा राम्रो अंक आएपछि पढ्न काठमाडौं आउने इच्छा परिवारमा सुनाए उनले। परिवारमा काठमाडौं पढ्न पठाउने कि नपठाउनेमा दोधार थियो। बुबाको किसान पेसाले दैनिक गुजारा चलाउन धौधौ भएको बेलामा बाबुले सुरुमा काठमाडौं पढ्न पठाउन मानेन् तर आमाको छोरोले पढ्न पठाउनुपर्ने जोडले बाबुले एक रोपनी खेत बेचर आएको पैसाले उनी पढ्न काठमाडौं आए। उनले बिगत सम्झँदै भने, 'सामान्य किसानको छोरो, मभन्दा मुनिका भाइबहिनीलाई पनि पढाउनुपर्ने थियो, त्यसैले सुरुमा मलाई काठमाडौं पठाउने कि नपठाउने भन्ने परिवारमा ठूलो विषय बन्यो तर आमाको करले बुबाले एक रोपनी खेत बेचेर मलाई पढ्न पठाउनुभयो।'

काठमाडौं आएपछि उनले त्रिचन्द्र कलेजमा आइएस्सी भर्ना गरे।

अनि मुटुरोग विशेषज्ञ बने

आइएस्सीमा आफ्नो ब्याचमा देशभरकै तेस्रो भएका डा. केसी त्यतिबेला भने आफू अब चिकित्सा विज्ञान नै पढ्ने निधोमा पुगे। तर त्यस बेला देशमा पञ्चायतविरुद्ध ठूलो आन्दोलन भएको र त्यस आन्दोलनमा सहभागी हुँदा ५० भन्दा बढी पटक जेलमा परेकाले सरकारी छात्रवृत्तिमा डाक्टर पढ्न पाउँदिन कि जस्तो अनुभव थोरै थियो उनलाई तर उनले प्रयास गर्न भने छाडेनन्।

'त्यस बेला पञ्चायतविरुद्धको आन्दोलनमा सहभागी हुँदा धेरै पटक जेल परिएको थियो, त्यसले गर्दा सरकारी छात्रवृत्तिमा पर्दिनँ कि जस्तो त लागेको थियो तर अप्लाई गरेको थिएँ, सरासर छात्रवृत्ति पाए अनि पढ्न चीन गएँ।'

चीनको त्यसबेलाको हुपेई मेडिकल कलेज, हालको वान युनभर्सिटी स्कुल अफ मेडिकलमा एमबिबिएस पढे त्यहीँबाट पछि इलोक्ट्रो फिजियोलोजीमा एमडी गरे।

उनले भने, 'मैले एमबिबिएस गरेर आएर नेपालमा काम गरिरहेको थिएँ। काम गर्दै जाँदा एमडी गर्न मन लाग्यो, मैले पढेको युनभर्सिटीमा मुटुको राम्रो पढाइ हुन्थ्यो। अझ मुटुको इलोक्ट्रो फिजियोलोजीसम्बन्धी पढाइ धेरै राम्रो हुने अनुभव गरेको थिएँ अनि यसैमा एमडी गरेँ।'

 हाइपोफ्राइल डाक्टरको लो पोफ्राइल जीवनशैली

 विगत दुई दशक भन्दा लामो समयदेखि नेपालीहरूको मुटुको रक्षा गरिरहेका यी मुटुका हाइप्रोफाइल डाक्टरको व्यक्तित्व जति माथि छ, जीवशैली त्यति नै सामान्य छ। आफू सरहका साथीहरूले बिताइरहेको जस्तो विलासी जिवनशैली बिताउन नसकेर होइन, इच्छा नभएर नबिताएको उनले बताए। 'म जुन पृष्ठभूमिबाट यहाँसम्म आएँ, यो नै मेरा लागि ठूलो कुरा हो। त्यसैले मलाई तडकभडकपूर्ण जीवन मनपर्दैन',  उनले भने, 'घरबाट अस्पताल आउन र अस्पतालबाहिर नजिकै जानुपर्‍यो भने हिँडेरै जान्छु, अलिक पर जानुरेमा भने ट्याक्सी वा टेम्पोमा जान्छु। यसमै मलाई आनन्द लाग्छ।'

आफ्नो कस्तो जीवनशैली छ भन्नुभन्दा पनि आफ्नो काममा कतिको जिम्मेवार छु भन्ने तिर लागेर काम गर्ने बानी भएको डा. केसीको भनाइ छ।

नेपालमा उच्चतहका नेताहरूको निजी चिकित्सकको रूपमा समेत काम गरेका डा. केसीलाई आफ्नै क्षेत्रमा हुने केही ठूला पदहरूमा बस्न पनि प्रस्ताव नआएको होइन, तर त्यसतिर लागेनन् उनी। उनले हालसम्म लिएको ठूलो पद भनेको गंगालाल हृदयरोग अस्पतालको प्रमुख भएर काम गर्नु हो। नत्र उनी धेरैजसो बिरामीकै सेवामा हुन्छन्। क्लिनिकमा भन्दा उनका बिरामीले धेरै अस्पतालकै ओपिडीमा उनलाई धेरै भेट्ने गर्छन्। उनले भने, 'मैले केही कोसिस गरेको भए विदेश जानेदेखि यहीँ पनि केही त्यस्ता अवसरहरू पाउन सक्थेँ होला तर त्यसप्रति मेरो ध्यान जाँदै गएन।'

उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपालमै मुटुसम्बन्धी हुने इलोक्ट्रो फिजियोलोजीमा उपचारको विस्तार गर्नु र नेपालमै बसेर काम गर्न पाउनु हो रे!

'विश्वमा जुन प्रकारको मुटुको उपचार हुन्छ। त्यो सबै हाम्रोमा हामीले दिन सकिरहेका छौँ, यो नै हाम्रो उपलब्धि हो। आफ्नै देशमा बसेर मुटु रोगको उपचारमा यत्तिको योगदान गर्न पाउनु नै मेरो जीवनको उपलब्धि हो।'

गाउँमा पढ्दा जस्तो थियो आफ्नो जीवन, अहिले पनि उस्तै रहेको उनले बताए। उनले भने, 'गाउँमा हुँदा सामान्य किसानको छोरो थिएँ, अहिले डाक्टर भएको छु, फरक यति हो। पहिले भनेको समयमा साथीभाइ भेट्न सक्थेँ तर अहिले सक्दिनँ। यो मेरो पेसाले गर्दा भएको बाध्यता हो।'

गंगालाल अस्पतालले मुटुको चाल गडबडीसम्बन्धी विश्वस्तरीय सेवा डा. केसीकै अगुवाइमा दिँदै आएको छ। यद्यपि, आजसम्म पनि लाखौँ नेपालीलाई मुटुको चाल गडबडीका कारण र उपचारबारे थाहा नहुँदा देश/विदेश भौँतारिइरहनुपरेको देख्दा दुःखी बनाउने गरेको उनले सुनाए। इलेक्ट्रो फिजियोलोजी अर्थात् मुटुको चाल गडबडीसम्बन्धी साधारणदेखि जटिल प्रकारका मुटुको चाल उपचार गर्ने एक सफल चिकित्सक मात्र नभएर उनी नेपालमा मुटु रोगको सेवा विस्तार गर्ने चिकित्सको नाम लिनुपर्दा एउटा छुटाउनै नहुने नाम पनि हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.