|

दमक(झापा) : स्थानीय युवाहरूले रोजगारीका अवसर नपाएको बताइरहँदा दमकको निर्माण क्षेत्र भने विदेशी कामदारका भरमा सञ्चालित छ। स्थानीय युवाहरूले निर्माण मजदुरको रूपमा काम गर्न नचाहेका कारण भारत तथा बंगलादेशसम्मका मजदुरहरूका भरमा निर्माण क्षेत्र चलेको हो। 

यसबाहेक झापाका अन्य क्षेत्रसँगै इलाम, मोरङ, सुनसरी, सप्तरी, सिरहा, रौतहटलगायतका क्षेत्रका मजदुरहरू पनि दमकमा क्रियाशिल छन्। मजदुरहरु मध्ये अधिकांश आफ्नो स्थायी  ठेगाना खुलाउन चाँहदैनन्। तर, निर्माण व्यवसायी भने स्थानीय मागले धान्न नसक्दा झापा बाहेकका अन्य जिल्ला र विदेशी मजदुरहरूलाई काममा लगाउनु परेको बताउँछन्। 

दमकमा बसाइँ सरेर आउने दर उच्च भएका कारण भवन निर्माण पनि धमाधम भइरहेको साना निर्माण व्यवसायी संघ दमकका अध्यक्ष शान्तिराम गौतम बताउँछन्। ति संरचना निर्माणका लागि स्थानीय युवाहरू आकर्षित नभएका कारण अन्यत्रका मजदुर भए पनि लगाउनु परेको उनले बताए। ‘आफ्नै ठाउँमा युवाहरु मसला मुस्ने, बनाउने, ईटा बोक्ने जस्ता काम गर्न मान्दैनन्’ उनले भने, ‘स्थानीय मजदुर भएपछि के गर्नु, जहाँबाट आएको भए पनि लगाउनु प¥यो।’ 

दमक केन्द्रीत भएर दमक तथा आसपासका क्षेत्रमा १५ हजार निर्माण मजदुर रहेको अनुमान छ। ती मध्ये करिव एक हजारभन्दा बढी भारत तथा बंगलादेशका रहेको हुन सक्ने अनुमान गरिएको छ। गौतमले भने ‘ठ्याक्कै त भन्न सकिँदैन तर एक हजारभन्दा बढीनै छन् होला नेपाल बाहिरका, १० हजारभन्दा अलिक बढी नेपाली मजदुर भए पनि झापाका थोरै छन्, धेरै त अरुनै जिल्लबाट आएका छन्।’

स्थानीय युवाहरूलाई मजदुरीमा प्राथमिकता दिने भए पनि उनीहरूले नै काम गर्न नचाहेको बताउँछन्, दमकका अर्का निर्माण व्यवसायी नविन खरेल। उनले भने, ‘आम्दानी नहुने पनि होइन, दिनमा ५÷६ सय त सामान्य काम जानेकाले पनि कमाउँछन्, तर यहाँका युवाहरू यो काम गर्नै मान्दैनन्।’ 
स्थानीय स्तरमानै दक्ष मजदुर तथा जनशक्ति उत्पादनको आवश्यकता रहेको निर्माण व्यवसायीहरुको भनाई छ। दमककै अर्का निर्माण व्यवसायी डिल्लीबहादुर भट्टराई स्थानीय मजदुर नियमित आउन नसक्ने, घरायसी कुनै काम परे आधाकाम बाटै जानुपर्ने,  कुनै दिन नआउने जस्ता समस्याका कारण पनि बाहिरका मजदुर बढी रहेको बताउँछन्। यो अवस्था अन्त्यका लागि स्थानीय मजदुरहरुमा पनि व्यवसायिकता र दक्षताको विकास गर्न जरुरी रहेको उनको भनाइ छ।

अधिकांश अदक्ष

दमक क्षेत्रमा दक्ष निर्माण मजदुरहरुको पनि अभाव छ। करिव १५ हजार मध्ये एक हजारले पनि औपचारिक तालिम लिएका छैनन्। दमक नगरपालिकाका ईन्जिनियर अनन्त सेनेहाङ्का अनुसार बिभिन्न चरणमा गरेर नगरपालिकाले ३८४ जना निर्माण मजदुरलाई सुरक्षित र भूकम्प प्रतिरोधी संरचना बनाउने तालिम दिएको छ। यी बाहेक करिव ५०० संख्यामा अन्यत्र तालिम लिएका मजदुर र प्राविधिक दमकमा क्रियाशिल रहेको अनुमान छ। तर ठूलो संख्यामा अदक्ष मजदुरहरुनै क्रियाशिल रहेका छन्। 

जिफन्ट प्रदेश सदस्यसमेत रहेका शान्तिराम गौतम अधिकांशले काम गर्दा गर्दै दक्षता हासिल गरेको बताउँछन्। तर तालिम नलिएकाहरुले पनि तालिम प्राप्त प्राविधिक तथा इन्जिनियरहरुको निगरानीमा काम गर्ने भएकाले संरचनाको गुणस्तरमा भने कमी आउन नदिएको उनको भनाइ छ। नगरपालिकाले पनि क्रमिक रुपमा सबै मजदुरहरुलाई तालिम उपलव्ध गराउने जनाएको छ। निर्माणकर्मी तथा मजदुरहरूलाई तालिम प्रदान गर्न सके उनीहरूको क्षमता विकास हुने र  इन्जिनियर सेनेहाङ्ले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.