|

काठमाडौं : नेपालको राजनीतिक वृत्तमा सधैँ चर्चामा रहने पात्र हुन्, उपेन्द्र यादव। उनी निकै चलाख र चतुर राजनीतिक खेलाडी मानिन्छन्।  मधेस मुद्दा उठाएर पहिलोपटक मधेसलाई आधार बनाएर राजनीति गर्ने नेता पनि हुन् उनी। 

अहिले उनी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष हुन्। २०७२ सालमा संविधानसभाबाट नेपालको संविधान बनेसँगै उनी आन्दोलनमा गए। उत्पीडित वर्ग र मधेसी जनताको अधिकार नसमेटिएकाले उनले संविधान पुनर्लेखनकै माग गर्दै आन्दोलन गरे। तर, पछिल्लो समय उनी संविधान संशोधनमा नै सहमत भएका छन्। नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जान उनी तयार भएका हुन्। 

मधेसकेन्द्रित दलहरु जहिल्यै पनि सरकारमा जानुभन्दा अघि केही न केही सहमति गर्छन्। कति सम्‍झौता कार्यन्वयन हुन्छ त कति सहमति कार्यन्वयन हुँदैन। यहीबीचमा भएको यसपटकको सहमति के हुन्छ भन्ने हेर्न बाँकी नै छ। तर, संविधान संशोधनमा भएको सहमतिलाई टेकेर संघीय संसदको चौथो ठूलो दलका अध्यक्ष व्यक्तिगत रूपमा तेस्रोपटक सरकारमा गएका छन्। दुईपटकसम्म उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले यसपटक भने उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

कम्युनिस्टबाट राजनीतिक यात्रा

मधेसको मुद्दा बोकेर नेपाली राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने यादवको राजनीतिक पृष्ठभूमि भने कम्युनिस्ट हो। २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनको राजनीतिक यात्रा सुरु भएको थियो। 

२०३२ सालताका कम्युनिस्ट आन्दोलनको निकै प्रभाव थियो। झापा विद्रोहको पनि राम्रै प्रभाव परेको थियो। झापा विद्रोहले पूर्वमा धेरैलाई कम्युनिस्ट बनायो। यो लहरबाट उपेन्द्र पनि अछुतो बन्न सकेनन्। उनी पनि कम्युनिस्ट आन्दोलनमा होमिए। एसएलसी उत्तीर्ण गरेपछि उनी धरानको हात्तीसार क्याम्पसमा पढ्दै थिए। त्यसैबेला उनी पुष्पलाल श्रेष्ठ समूहको अनेरास्ववियुमा संलग्न भएर काम गरे।  २०३५ सालमा उनले पार्टीको सदस्य लिएर विद्यार्थी राजनीति छाडे। उनले भूमिगत जीवन बिताउँदै जनमत संग्रहमा क्रियाशील भएर काम गरे।  जनमतसंग्रहसँगै अखिल विभाजित भयो। उनी प्रगतिशील विद्यार्थी (युनियन)को दुई कार्यकाल उपाध्यक्षसमेत भए।

२०४६ सालमा नेपाली कांग्रेसको आह्वान गरेको सत्याग्रहमा उनी पनि सहभागी भए। त्यसबेला उनलाई प्रहरीले पक्राउसमेत गरेको थियो। उनले त्यस समय एक वर्ष जेल जीवन बिताए।  त्यसपछि फेरि उनी २०४६ सालमा पक्राउ परे। पहिलो जनआन्दोलनमा उनलाई प्रहरीले विराटनगरबाट पक्राउ गर्‍यो। उनी प्रजातन्त्र पुनर्स्थापना नभएसम्म जेल बसे। 

त्यसपछि माले र मार्क्‍सवादी एकता भएर एमाले बन्यो। उनलाई एमालेले २०४८ सालमा पार्टीले सुनसरी-४ बाट उम्मेदवार बनायो। तर, उनी पराजित भए। त्यसपछि पार्टीकै काममा लागे उनी। एमालेमा काम गर्दा गर्दै उनले गैरसरकारी संस्थाका रूपमा मधेसी जनअधिकार फोरम स्थापना गरे। उनले उक्त संस्‍था २०५४ सालमा सुरु गरेका थिए। उनले मधेसका मुद्दा उठाउन उक्त संस्था स्थापना गरेका थिए। 

पछि २०५६ सालमा पार्टीभित्र उनले मधेसका मुद्दा उठाए। तर, पार्टीले उक्त मुद्दामा चासो दिएन र उनले पार्टीबाट राजीनामा दिए। त्यसपछि उनले संस्थाका रूपमा स्थापना गरेको मधेसी जनअधिकार फोरमलाई निरन्तरता दिए। त्यसपछि उनी तत्कालीन नेकपा माओवादीनजिक भएर काम गरे। ०६२/०६३ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाए। 

त्यसपछि उनले निर्वाचन आयोगमा पार्टी दर्ता गरे। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भाग लिए। आन्दोलनमा गरेको संघर्षको फलस्वरूप उनको पार्टी निर्वाचनमा चौथो भयो। मधेसकै मुद्दाले उनको पार्टीलाई नेपालको चौथो दल बनायो। अहिले संविधानसभामा चौथो ठूलो पार्टीका रूपमा ५२ स्थान हासिल गरेको छ। नर्वाचनमा उनको पार्टीले प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ सिट जित्यो। 

त्यसपछि पार्टी कमजोर

पार्टी चौथो बनेपछि यादव पहिलोपटक तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारमा गयो। यादव सरकारमा गएपछि कांग्रेस परित्याग गरेर फोरमसँग आएका विजयकुमार गच्छदारले पार्टी फुटाए। उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी गठन गरे। 

त्यसबेला पार्टी निकै कमजोर भयो। फलस्वरूप २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा  फोरमले १० तहमा मात्रै जित्यो। प्रत्यक्षमा २.२८ र समानुपातिकमा २.२६ प्रतिशत मत ल्याउँदै सातौँ दलमा झर्‍यो।

पार्टीलाई राष्ट्रिय पार्टी बनाउने पहल

दोस्रो संविधानसभाको निर्वाचनपछि देशमा संविधान जारी गर्न वार्ता जारी थियो। पहिचानवादी दलहरु आन्दोलनमा थिए। संविधानमा धेरै कुरा नसमेटिएको भन्दै गठबन्धन बनाएर आन्दोलन गरिरहेका थिए। 

त्यसबेला सँगै मिलेर अघि बढ्नुपर्छ भन्ने उनीहरूले योजना बनाए। यादवको पार्टी पनि मधेसकेन्द्रित मात्र थियो। उनी राष्ट्रिय पार्टी बनाउने अवसर पनि खोजिरहेका थिए। सँगै आन्दोलनमा रहेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टीबीचको एकीकरण भयो। 

यसले गर्दा पार्टी पनि राष्ट्रिय पार्टी बन्यो। उक्त पार्टीमा तराई, पहाडदेखि सबै समुदायका नेता कार्यकर्ताको प्रतिनिधित्व भयो।  २०७४ को प्रतिनिधिसभातर्फ चौथो दल बन्न सफल भयो फोरम। अहिले तत्कालीन एमाले र माओवादीको एकीकरणपछि तेस्रो दल बनेको छ फोरम। 

तेस्रोपटक मन्त्रीका रूपमा सिंहदरबार प्रवेश

मधेसकेन्द्रित दलहरू पटकपटक सरकारमा सहभागी हुँदा सत्ताको नेतृत्व गर्ने दलसँग सम्‍झौता गर्छन्। उनीहरू पछाडि परेका वर्गको उत्थानका लागि आफ्ना माग राख्दै आएका छन्। कति सम्‍झौता पूरा हुन्छन् त कति पूरा हुँदैनन्। 

त्यसै क्रममा पहिलोपटक २०६५ सालमा यादव पहिलो पटकमन्त्री बन्दै सिंहदरबार छिरे। गणतन्त्र स्थापनापछि उनले पहिलोपटक उपप्रधानसहित परराष्ट्रमन्त्रालय सम्हाले। त्यसपछि २०६७ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा पुनः उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा सिंहदरबार छिरे। उनी तेस्रोपटक उपप्रधान, स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएर सिंहदरबार प्रवेश गरे।  सरकारमा सहभागी हुने कि नहुने लामो समयको अन्योलबीच उनले सिंहदरबारको यात्रा तय गरे। 

हुन त यसपटक पनि उनले परराष्ट्र मन्त्रालय नै मागेका थिए। नेपाली राजनीतिकर्मीमध्ये परराष्ट्रमा दखल राख्नेमा उनी पनि गनिन्‍छन्। तर, यसअघि नै नेकपाका प्रदीप ज्ञवाली उक्त मन्त्रालयमा गइसकेकाले उनी स्वास्थ्य मन्त्रालय जान राजी भए।  उनी तेस्रो वरीयतामा सरकारमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.