|

दैलेख :  जिल्लाको गुराँस गाउँपालिका ८ स्थित मालिका माध्यमिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ। ठेकेदारको लापरवाहीका कारण भवन निर्माणको काम अलपत्र परेको हो।

१२ कोठे भवन निर्माणका लागि पाँच वर्षअघि सम्झौता भए पनि अझैसम्म पूरा नहुँदा पठनपाठनमा समस्या भएको छ। तीन वर्षमै निर्माण सम्पन्न गर्नेगरी भवन निर्माण सुरु गरिएको थियो। भारतीय राजदूतावासको सहयोगमा निर्माण सुरु भएको भवनको ढलानमात्र पूरा भएको छ। खानी निर्माण सेवा बानेश्वर काठमाडौंले ठेक्का लिएको भवन अझै निर्माणाधीन अवस्थामा छ। 

ठेकेदार कम्पनीकै लापरवाहीले निर्माणमा ढिलाई भएको हो। ठेकेदार पक्षले भने जिल्ला समन्वय समितिले भुक्तानी नदिँदा ढिलाई भएको दाबी गरेको छ। भवन निर्माणको प्राविधिक जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइएको छ। जिससका नायब सुब्बा पूर्णबहादुर योगीले ठेकेदारले निर्माणमा ढिलाइ र गुणस्तरहीन काम गरेकाले भारतीय दूतावासले रकम निकासामा ढिलाइ गरेको बताए । उनका अनुसार काम सम्पन्न गरेको कागजात उपलब्ध भए मात्र दूतावासले रकम उपलब्ध गराउने जनाएको छ।

भारतीय दूतावासको तीन करोड ८४ लाख सहयोगमा भवन निर्माण सुरु गरिएको थियो। भवन निर्माणमा ढिलाइ हुँदा पठनपाठनमा समस्या भएको प्रधानाध्यापक भक्तबहादुर बस्नेतले बताए। उनका अनुसार भवन निर्माण अपूरो भएपछि दूतावासले केही रकम निकासा दिएको छैन। काम सम्पन्न भएपछि मात्र दूतावासले रकम निकासा हुने जनाएको उनको भनाइ छ। ‘ठेकेदार पक्षले रकम निकासा नभएकाले निर्माणमा ढिलाइ भएको जनाएको छ। दूतावासले पुरै सकेपछि मात्र रकम दिने जनाएकाले निर्माणमा समस्या भएको हो,’ उनले भने।

विद्यालयका शिक्षक खगेन्द्र खत्रीका अनुसार पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि दूतावासलाई सहयोग मागिएको थियो। पठनपाठन भइरहेको भवनसमेत जीर्ण भएकाले समस्या भएको उनले जनाए। ‘पुरानो भवन जीर्ण भएकाले विद्यार्थी बस्नै मान्दैन्न,' उनले भने, ‘त्यसैले कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीलाई ९ वटा कोठामा कोचाकोच गरेर पठनपाठन गराइरहेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.