|

पाल्पा : पाल्पामा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १४ पुगेको छ  भने नौ जना घाइते रहेका छन्। 

मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का ५२ वर्षीय विष्णुमान वज्राचार्य, तानपा–३ का ४७ वर्षीय देवेन्द्रलाल प्रधान, ५८ वर्षीय कृष्णमान वज्राचार्य, ६० वर्षीय छेत्रमान शाक्य, तानपा–६ का ५९ वर्षीय शुसिल प्रसाद श्रेष्ठ, ४३ वर्षीय सचिन बज्राचार्य, तानपा–४ का ५० वर्षीय कृष्ण बहादुर बोहोरा, ६२ वर्षीय दुर्गावहादुर सारु, तानपा–२ का ५९ वर्षीय लोकनाथ ढकाल, तानपा–३ का ४२ वर्षीय कमला कार्की, ३९ वर्षीया वसन्ती खाँण, तानपा–६ का २९ वर्षीय गीता बुढाथोकी, तानपा–५ की दुर्गादेवी श्रेष्ठ, तानपा– २ की ४५ मुना सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए। सचिनको मिशन अस्पताल र कमला र मुनाको मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।

ज्यान गुमाउने कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् भने विष्णुमान लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, छेत्रमान उपाध्यक्ष, लोक प्रसाद कार्यसमिति सदस्य, शुसिल श्रेष्ठ कार्यसमिति सदस्य, देवेन्द्रलाल संस्थापक सदस्य, दुर्गाबहादुर संस्थापक सदस्य, सचिन संस्थापक सदस्य, वसन्ती बजार प्रतिनिधि, गीता बजार प्रतिनिधि, कमला कार्की बजार प्रतिनिधि रहेको सहकारीका संस्थापक अध्यक्ष हरी रायमाझीले बताए।

घाइते हुनेमा संस्थापक सदस्य प्रफुल्ल शर्मा, बसका सह–चालक विमल रञ्जन, कार्यसमिति सदस्य उत्तम कुमार वज्राचार्य, संस्थाका कोषाध्यक्ष ओम प्रसाद मलेगो, बजार प्रतिनिधि मिना खाम्चा, बस चालक अर्जुन थापा, कार्यसमिति सदस्य प्रविण वज्राचार्य, कर्मचारी सन्तम बज्राचार्य, संस्थापक सदस्य पूर्णमायाँ महर्जन रहेका छन्। 

घाइते मध्ये चालक अर्जुन थापा, मिना खाम्चा, प्रविण बज्राचार्यलाई थप उपचारको लागि हेलीकोप्टर मार्फत शुक्रबार नै काठमाडौं लगिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए।

अन्य घाइतेको युनाइटेड मिशन अस्पताल र प्रभास मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्लाको सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका–४ हुमिनमा दुर्घटनामा भएको हो। बस सडकभन्दा डेढसय मिटर तल खसेको छ। लक्ष्मी वचत तथा ऋण सहकारी संस्था तानसेनका पदाधिकारी तथा सदस्यहरू रामपुरमा रहेको विभिन्न शहकारीको अवलोकन भ्रमण गएका थिए। मोटर साइकललाई साइड दिनेक्रममा सडक भासीएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.