|

विश्वकप सबैभन्दा बढी जित्ने टिममा ब्राजिल अग्रस्थानमा रहेको छ। उसले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ। त्यस्तै, जर्मनी र इटालीले समान ४–४ पटक विश्वकप जितेका छन्। 

ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप आफ्नो पोल्टामा पारेको छ। त्यस्तै, जर्मनी १९५४, १९७४, १९९० र २०१४ को विश्व विजेता हो। समान चार पटकको विश्व विजेता इटालीले १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप जितेको छ। 

तथ्याङ्कमा हेर्ने हो भने अहिलेसम्मको विश्वकपको उपाधि जित्ने देशहरुमध्ये तीन यस्ता देश छन् जसले ७५ प्रतिशत विश्वकपको उपाधि उचालेका छन्। बाँकी देशको भागमा २५ प्रतिशत मात्र परेको छ। त्यसमा अर्जेन्टिनाले दुई पटक १९७८ र १९८६ मा बाहेक विश्वकपको उपाधि उचाल्ने अवसर पाएको छैन।

ब्राजिलले अहिलेसम्म सबै विश्वकपमा उपस्थिति जनाएको छ भने दोस्रो स्थानमा जर्मनी रहेको छ। उसले १९ पटक विश्वकपमा सहभागिता जनाएको छ।

एकै खेलमा सबैभन्दा धेरै गोल

रसियन स्ट्राइकर ओलेग सालेन्कोले सन् १९९४ को विश्वकपमा क्यामरुनविरुद्धको खेलमा एक्लैले पाँच गोलको रेकर्ड कायम गरेका थिए। जुन अहिलेसम्म कायमै रहेको छ। सो खेलमा रसिया ६–१ ले विजयी हुँदा सालेन्कोको पाँच गोल थियो।

एकै खेलमा दश गोल

एउटा विश्वकपको धेरै गोल भएको खेलमा पर्छ हङगेरी र एल साल्भाडोरबीचकाे खेल। सन् १९८२ को विश्वकपमा हङगेरीले साल्भाडोरलाई १० गोल गरेको थियो। जुन अहिलेसम्मकै सर्वाधिक गोल हो।

सर्वाधिक गोलकर्ता

जर्मनीका मिरास्लोभ क्लोस विश्वकपको सर्वाधिक गोलकर्ताको हुन्। उनले चार विश्वकप (२००२, २००६, २०१० र २०१४) को विश्वकपमा १६ गोल गरेका छन्। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। ब्राजिलियन स्ट्राइकर रोनाल्डोले उनीभन्दा एक कम अर्थात १५ गोल गरेका छन्।

तीन विश्वकप खेल्दा रोनाल्डोले १९ खेलमा १५ गोल गरे भने चार विश्वकपमा २४ खेल खेल्दा क्लोसले १६ गोल गरे।

छिटो गोल

सन् २००२ को विश्वकपमा टर्कीका हाकान सुकुरले मात्र ११ सेकेण्डमा गोल गरेका थिए। दक्षिण कोरियाविरुद्धको उक्त गोल विश्वकपको इतिहासमा सबैभन्दा छिटो भएको गोल हो।

रेड कार्डको रेकर्ड

विश्वकपमा छिटो रेड कार्ड पाउने खेलाडीमा उरुग्वेका डिफेन्डर जोस बाटिस्टा हुन्। उनले स्कटल्याण्डविरुद्धको खेलमा ५६ सेकेण्डमा रेड कार्ड पाएका थिए। जुन अहिलेसम्म विश्वकपमा खेल सुरु भएपछि सबैभन्दा छिटो रेड कार्ड खाने खेलाडीमा कायमै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.