नेपालको परराष्ट्र सम्बन्ध सुर्यमूखी फूलजस्तो होइन

|

काठमाडौं : छिमेकी मित्र राष्ट्रहरूको राजकीय भ्रमण गर्ने क्रममा भारतपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलगत्तै चीन भ्रमण गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ। यसै सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन भ्रमणसमेत गरेर फर्किएका छन्। प्रधानमन्त्रीको चीन भ्रमण, नेपालको कूटनीतिक सम्बन्धलगायतका विषयमा केन्द्रित रहेर पराष्ट्रमन्त्री ज्ञवालीसँग थाहाखबरकी देविका घर्ती मगरले गरेको कुराकानी:  

प्रधानमन्त्रीको चीन भ्रमणबारे के भइरहेको छ? कहिलेसम्म भ्रमण गर्ने तयारी छ?

हामीले त्यसको सघन तयारी गरिरहेका छौँ। औपचारिक मिति घोषणा नभए पनि असारको पहिलो वा दोस्रो सातामा प्रधानमन्त्रीको चीन भ्रमण गर्ने सम्भावना छ। हामी त्यही हिसाबले दुवैतिर कूटनीतिक माध्यमबाट मिति तय गर्न लागिरहेका छौँ। यो भ्रमणले मूलतः दुई देशबीच परम्परादेखि रहँदै आएको मित्रतापूर्ण सम्बन्धलाई अझ घनिष्ठ बनाउनेछ। विगतमा भएका सहमतिहरूको कार्यान्वयन गर्ने, नेपाल र चीनको बीचमा आर्थिक र विकास साझेदारीका नयाँ क्षेत्रहरू पहिल्याउने विषयमा प्रधानमन्त्रीको यो चीन भ्रमण केन्द्रित हुनेछ। 

यो भ्रमण मुख्यगरी कुन विषयमा बढी केन्द्रित हुनेछ?

पराष्ट्रमन्त्रीका रूपमा अप्रिलमा गरेको चीन भ्रमणमा मेरा समकक्षी वाङ इनसँग हामीले नेपाल र चीनको बीचमा हिमालय वारपार बहुआयामिक यातायात सञ्‍जालको खाँचो छ। जसभित्र रेल यातायात, हवाई यातायात, सडक यातायात, क्रश बोर्डर ट्रान्समिसन लाइनहरू, अप्टिकल फाइबरहरू, पाइपलाइनहरू समेटिएको बहुआयामिक सञ्जाल आवश्यक छ भन्ने कुरामा हामीले सहमति जुटाएका छौँ। त्यस कुरामा हामी सहमत भएका छौँ।

सन् २०१६ को मार्चमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरिरहँदा हाम्रा केही ऐतिहासिक महत्वका सम्झौताहरू र सहमति गरेका छौँ। त्यसभित्र यातायात र पारवहन सम्झौतालगायतका विषयहरू छन्। अहिले प्रधानमन्त्रीको भ्रमण मुख्यतया पूर्वाधारमा केन्द्रित हुनेछ। केरुङ-काठमाडौं-काठमाडौं-पोखरा-लुम्बिनी रेलवे, उत्तर-दक्षिण राजमार्गहरू, क्रशबोर्डर ट्रान्समिसन लाइन, सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्रहरू सँगसँगै एउटा ऐतिहासिक यातायात पारवहन सम्झौता भएको छ।त्यसको प्रोटोकलको कुरा जसले पारवहन सुविधा उपयोग गरिरहँदा कुन बाटो, कुन बन्दरगाहा प्रयोग गर्ने? कुन-कुन सर्तमा कुन हिसाबले अगाडि बढ्ने? भन्ने यी सबै विस्तृत विषय समेटिएको प्रोटोकल। यी विषयहरूमा हामी केन्द्रित हुन्छौँ।

हाम्रा छिमेकीहरू दुई ठूला देशहरू चीन र भारत रहेका छन्। केही समयअघि प्रधानमन्त्रीले भारत भ्रमण सम्पन्न गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै नेपाल भ्रमण सम्पन्‍न गर्नुभएको छ। अहिलेको अवस्थामा भारतसँगको सम्बन्धलाई कुन रूपमा हेर्न सकिन्छ?

अहिले भारतसँगको सम्बन्ध राम्रो छ। विगतमा केही उतारचढावहरू आए हाम्रा सम्बन्धहरूमा। केही समस्याहरू पनि देखापरे। तर, अब हामीले त्यो समयलाई पछाडि छोडिसकेका छौँ। हामी विगतबाट शिक्षा लिँदै भविष्यलाई हेरेर अगाडि बढ्नुपर्छ भन्‍ने हाम्रो साझा समझदारी भएको छ।

हामीले सहयोगका नयाँ क्षेत्रहरू पनि पहिल्याएका छौँ। जस्तो रेलमार्ग, जलमार्ग, कृषिमा साझेदारी। यी हामीले भारतसँग पहिल्याएका सहयोगका नयाँ क्षेत्रहरू हुन्। विगतका सहमतिहरूको तालिकाबद्ध कार्यान्वयन हाम्रो अर्को एउटा महत्वपूर्ण विषय हो। लामो समयदेखि सम्झौताहरू हुने तर कार्यान्वयन हुन ढिलाइ हुने जुन एउटा समस्या थियो। अब त्यो समस्या रहन दिनुहुन्‍न भनेर हामीले त्यो विषयलाई पनि टुंगो लगाएका छौँ।  नेपाल-भारत सम्बन्ध एकदमै नयाँ गतिका साथ अगाडि बढिरहेको अवस्था छ। 

भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा केही विषयहरूमा नेपालको संविधान दिवसको दिन (सेप्टेम्बरसम्मको) मिति तोकेर केही कामहरू अगाडि बढाएका छौँ भनेर प्रधानमन्त्रीले भन्‍नुभएको थियो। ती कामहरू अहिले कसरी अगाडि बढिरहेका छन्?

हाम्रो संविधान दिवसको दिन (सेप्टेम्बरसम्म) सम्म यी सबै कामहरू सकाउने गरेर परराष्ट्र मन्त्रालयले अहिले संयोजन गरिरहेको छ। हामीले सबै मन्त्रालयहरूलाई त्यतिबेला भएका सहमतिका आधारमा गर्नुपर्ने, चाल्नुपर्ने स्टेपहरूबारे तयारी गर्न भनेका छौँ।

केही कुराहरू अगाडि बढेका छन्। जस्तो ऊर्जा मन्त्रालयले बुटवल-गोरखपुर क्रशबोर्डर ट्रान्समिसन लाइनको सम्बन्धनमा एउटा समझदारी टुंग्‍याएको छ। कृषिको साझेदारीको सम्बन्धमा कृषि मन्त्रीले निकट भविष्यमै भारत भ्रमण गर्दै हुनुहुन्छ। नयाँ हवाई रुटका निम्ति छलफल गर्न नेपालको नागरिक उड्डयन प्राधिकरण र भारतका सम्बन्धित पदाधिकारीहरूको बैठक छिट्टै बस्दै छ।

टनकपुर लिंक रोड र टनकपुरको नहरका सम्बन्धमा भारतले तयारी अगाडि बढाइसकेको छ। वर्षाअगावै सीमावर्ती क्षेत्रमा डुवानको समस्या समाधान गर्नका निम्ति प्राविधिक टोलीहरू बनाउने तयारी चल्दै छ। रक्सौल-काठमाडौं रेलमार्गको सर्भेको तयारी पनि भइरहेको छ। त्यसकारण मलाई विश्वास छ यसबीचमा हामीले जेजस्ता सहमति गरेका छौँ तिनीहरू कार्यान्वयनको दिशामा तीव्रताका साथ अगाडि बढ्दै छन्। 

हामीले नाकाबन्दी झेल्यौँ। खासगरी त्यस समयमा हाम्रा प्रधानमन्त्री भारतप्रति अलिकति टाढा र चीनतिर बढी नजिक हुनुभएको हो कि भन्नेजस्तो देखिन्थ्यो। तर, अहिले परिस्थिति ठ्याक्कै उल्टो भएको छ। प्रधानमन्त्रीको भारततिर झुकाव हो कि भन्‍ने कूटनीतिक वृत्तमा चर्चा छ नि?

यी चर्चा, अनुमानहरू, काल्पनिक कथाहरू आउदै गर्छन्। नेपालको परराष्ट्र सम्बन्ध, विदेश सम्बन्ध सुर्यमूखी फूलजस्तो होइन। बिहान एकातिर ढल्किने र साँझ अर्कोतिर ढल्किने। त्यसको आफ्नो निश्‍चित सैद्धान्तिक धरातलहरू छन्। त्यसबाटै निर्देशित हुन्छ। हाम्रो विदेश सम्बन्धको केन्द्रीय चुरो भनेको हाम्रो राष्ट्रिय हितको प्रवर्द्धन हो। हामी जुनसुकै कुराकानी गर्दा, सम्बन्ध राख्दा पनि राष्ट्रिय हितबाट केन्द्रविन्दुमा राखेर अगाडि बढ्छौँ।

हिजो भारतका तर्फबाट व्यवहार उचित थिएन। जुन व्यवहारले हामीले नाकाबन्दी भोग्यौ त्यतिबेला त्यसको विरोध गर्नैपर्थ्यो हामीले विरोध गर्‍यौँ। भारतले त्यो कमीलाई महसुस गर्‍यो। नयाँ ढंगले अगाडि बढ्न तत्परता देखायो। हाम्रो कुनै आग्रह पनि थिएन। त्यो व्यवहारको हामीले आलोचना गरेको हो। जुन व्यवहार सच्चिसकेपछि अब त्यै कुराहरू मनमा पालिराख्‍नुपर्ने जरुरी भएन। 

चीनसँग हाम्रो विगतदेखि नै समस्यारहित सम्बन्ध छ। चीनसँगको सम्बन्ध यस्तो हो जहाँ कहिल्यै पनि हाम्रा उतारचढावहरू देखापरेका छैनन्। नेपालको विकासको, प्रगतिको, स्थिरताको सदैव शुभचिन्तका रूपमा चीन छ। त्यसकारण हाम्रा सम्बन्ध दुवै देशसँग राम्रो छ। कहिलेकाँही इस्युहरू, घटनाहरूमा हामीले राष्ट्रिय हितको पक्षमा उभिएको कुरालाई कुनै देशको विरोध गरेको वा कसैको पक्षपोषण गरेको भन्‍ने अर्थमा बुझ्‍नु हुँदैन। 

भारतले पछिल्लो समय त्यो खालको मित्रवत व्यवहार गर्छौ भन्दै पनि आएको छ। तर, भारतका केही जिम्मेवार व्यक्तिहरूले बेला-बेलामा नेपालको विषयमा विवादित अभिव्यक्ति दिने गरेका छन्। भर्खरै भारतीय विदेशमन्त्री शुष्मा स्वराजको अभिव्यक्तिलाई लिन सकिन्छ। त्यस्तो कुराहरू किन हुन्छ?

भारतीय विदेशमन्त्रीले एकदमै तत्परतापूर्वक, गम्भीरतापूर्वक त्यसलाई महसुस गर्नुभयो त्यो एकदमै सकारात्मक कुरा हो। सामान्यतया त्यो पदमा बसेर त्यति भित्रै हृदयदेखि नै उहाँले गरेको कुरालाई हामीले सकारात्मक रूपमा लिएका छौँ। उहाँको मनसाय त्यो थिएन भन्‍ने बुझिन्छ। अर्को एउटा सन्दर्भमा उहाँले त्यस्तो भन्नुभयो।

भारत एउटा ठूलो देश हो। त्यहाँ विभिन्‍न स्वार्थमा, प्रवृत्तिका, पृष्ठभूमिका मान्छेहरू छन्। हामीले हेर्ने भनेको भारतीय सरकारको आधिकारिक धारण हो। मुख्यतया हामीले त्यसको आधारमा आफ्नो धारणाहरू बनाउनुपर्छ। हामीले बुझेको आधिकारिक धारणा यही हो कि पछिल्लो समय भारत नेपाल सम्बन्धलाई नयाँ कोर्समा र नयाँ उचाइमा अगाडि बढाएर लैजान चाहन्छ।

त्यस्तो प्रयत्नलाई मन नपराउनेहरू पनि होलान्। कतिपयलाई नेपालको अस्थिरता नै मनपर्दो हो। समस्या मनपर्दो हो। समस्या समाधानतिरका कदमहरू उनीहरूलाई उचित नलाग्दो हो। कतिका प्रोजेक्टहरू होलान्।

यहाँ अस्थिरता भइरह्यो भने आफ्नो जागिर लम्बिरहन्छ भन्न‍े पनि हुँदो हो। हामी त्यतातिर जानुहुँदैन। हामीले भारत सरकारको आधिकारिक धारणालाई आधार बनाएर अगाडि बढ्नुपर्छ। समस्याहरू आउन सक्छन् निकट छिमेकीहरूको बीचमा। त्यो समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न सकिन्छ। गर्नुपर्छ र हामीले गर्दै आएका छौँ। 

पछिल्लो समय जुन एकखालको मान्छेको बुझाइ, परिभाषा नेपाल-भारत सम्बन्धको बीचमा की, यो ठूलो देश र सानो देशबीचको सहयोगदाता र सहयोग ग्रहणकर्ताको जस्तो। कहीँ न कहीँ नेपालको आन्तरिक मामलामा भारतको चासो, उसको संलग्नता एकहदसम्म जायज हो भन्‍ने खालको जुन एउटा बुझाइ मान्यता जुन थियो। हामीले त्यसलाई विल्कुलै सच्याएका छौँ। अब नेपाल-भारतको बीचमा कुराकानी हूँदा दुईपक्षीय हितका विषयहरू मात्रै एजेन्‍डा बन्छन्। न नेपालको आन्तरिक मामला एजेन्‍डा बन्छन् न भारतको आन्तरिक मामला एजेन्‍डा बन्छन्।

यसरी आन्तरिक मामलालाई हाम्रा छलफलहरूमा पृथक् राखिसकेपछि हाम्रा वार्ताहरू पनि धेरै सहज हुने गरेका छन्। र, भारतले यो महसुस गरेको छ कि वास्तवमा नेपाल आफ्नो समस्याहरूको समाधानका लागि आफ्नो बाटो पहिल्याउनका लागि ऊ स्वतन्त्र पनि छ र सक्षम पनि छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक कार्यक्रममा पनि बन्‍नुभयो, 'प्राथमिकता तपाईंहरूको हो। तपाईंहरूले प्राथमिकता रोज्‍नुस्। हामी तपाईंहरूलाई साथ दिन्छौँ। तपाइहरूले गएको केही वर्षमा जे उपलब्धिहरू प्राप्त गर्नुभएको छ। जनतालाई शान्तितिर रूपान्तरण गर्दै संविधान बनाउँदै, एकैवर्षमा तीन/तीनवटा निर्वाचन। त्यो एकदमै शान्तिपूर्ण र निष्पक्ष वातावरण बनाएर स्थिरताको दिशामा तपाईंहरूले जुन कदम चाल्‍नुभएको छ। यो तपाईंहरूको इतिहासको स्वर्ण युग हो।' भनेर उहाँले भन्नुभएको छ। 

हामीले ध्यान दिने भनेको त्यो आधिकारिक कुराहरूमा हो। एक अर्ब ३० करोड मान्छेभित्र व्यक्ति-व्यक्तिका कुराहरूको पछाडी लागेर साध्य पनि हुदैन होला। 

नेपालको विदेश नीतिबारे धेरै चर्चा हुने गर्दछ। खासगरी नेपालको विदेश सम्बन्धका आधारहरू के हुन्

कुनै पनि देशको विदेश नीति देशको आन्तरिक नीतिहरूको विस्तारित रूप हो। अर्थात् त्यो देशले आन्तरिक रूपमा जुन प्राथमिकताहरू निर्धारण गरेको छ। आन्तरिक रूपमा जे विषयहरू उसले तय गरेको छ त्यसलाई प्रवर्द्धन गर्नका निम्ति अनुकूल वातावरण निर्माण गर्नु कुनै पनि देशको विदेश नीतिको मुख्य चुरो हो। 

हामीले एउटा ठूलो संक्रमणकाललाई टुंग्याएर राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेका छौँ। अब हाम्रो विदेश नीतिको मुख्य केन्द्रबिन्दुमा त्यही उद्देश्यलाई प्रवर्द्धन गर्नुहुन्छ। त्यसबाहेक विदेश नीतिको सम्बन्धमा नेपालले विगतदेखि नै अवलम्बन गर्दै आएका केही आधारभूत, सैद्धान्तिक पक्षहरू छन्। जस्तो पञ्चशीलका सिद्धान्तहरू। सार्वभौम समानता, स्वाधीनता, अहस्तक्षेप र एकअर्काका हित र चासोलाई सम्मान गर्नु हाम्रा सम्बन्धका आधारहरू हुन्।

हामी छिमेकीहरूका हकमा भन्दा सन्तुलित र विश्वसनीय प्रगाढ सम्बन्ध बनाएर अगाडि बढ्न चाहन्छौँ। अब हाम्रो कूटनीतिको, विदेश नीतिको केन्द्रविन्दुमा हाम्रो आर्थिक कूटनीति पनि छ। अर्थात् नेपालको विकासमा बढीभन्दा बढी अन्तर्राष्ट्रिय सहयोगहरू जुटाउने। बढीभन्दा बढी अन्तराष्ट्रिय लगानीहरू भित्र्याउने। बढीभन्दा बढी पर्यटकहरू भित्र्याउने।

नेपालको पहिचानलाई, छविलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्ने। यी कुराहरू अहिले हाम्रा कूटनीतिका केन्द्रविन्दुमा हुन्छन्। हामी विश्व शान्तिको पक्षमा हुन्छौँ। युद्ध, कसैको पनि आन्तरिक मामिलामा हस्तक्षेप हामी स्वीकार गर्दैनौँ। हामी आणविक सशस्त्रको विपक्षमा छौँ। समस्याहरूको शान्तिपूर्ण समाधान वार्ताबाट हुनुपर्छ भन्‍ने मान्यता राख्छौँ। 

अहिलेको अन्तर्राष्ट्रिय प्रबन्धहरू जुन छन् त्यो अनुकूल छैन। त्यो विकासशील देशहरूको पक्षमा छैन। सक्नेले बलियाले आफ्नो अनुकूलअनुसार कतिपय कुराहरू घुमाउने खालको छ। त्यो अन्तर्राष्ट्रिय अर्डरलाई हामी सुधार्न चाहन्छौँ। मूलतः हाम्रा विदेश सम्बन्धका आधारहरू यिनै हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.