|

दाङ : नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्व प्रकाश शर्माले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरकभन्दा पनि बढी महत्वाकांक्षी भएको बताएका छन्। प्रेस युनियन दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटका सन्दर्भमा यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

‘वर्तमान सरकारको अवस्था वायुपंखी घोडाको नारा, बयलगाडाको पारा जस्तै छ’, युनियन दाङका कोषाध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवक्ता शर्माले भने, ‘निजी क्षेत्रलाई बजेटले समेट्न सकेको छैन।’ 

साथै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटमा करको दर बढाइएको भन्दै दायरा नबढाएसम्म बजेटको लक्ष्य पूरा हुन कठिन भएको पनि बताए। ‘करको दर बढाउने होइन, यसले नागरीकलाइ व्ययभार थप्छ, त्यसैले दरभन्दा दायरा बढाउनु उपयुक्त हुने थियो,’ शर्माले भने।  

त्यसै अवसरमा प्रवक्ता शर्माले अहिले वामपन्थीहरूको दुइतिहाइ बहुमतले सरकार गठन भएकाले कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र सरकारको कमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षिको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको पनि बताए। कांग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटवन्दी र वामपन्थी एकताका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै उनले अब पार्टीलाई नवीनतम बनाउन लागिएको बताए। त्यसै अभियान अनुरुप अहिले सबै नेताहरू देश दौडाहामा लागेको बताए। 

‘कांग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौतिहरू थिए, अहिले ओली नेतृत्वको सरकारलाइ छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक बृद्धिदरलाई आठ अंकमा पुर्‍याउन सकेन भने, त्यो सवैभन्दा दुर्भाग्य हुने छ’, नेता शर्माले भने। 

वर्तमान सरकार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला राष्ट्रियताको सवालमा चुकेको बताउँदै उनले भने, ‘भारतीय सेनाको खुला रूपमा नेपालमा प्रवेश गराइनु दुर्भाग्यपूर्ण अवस्था हो, यसले नेपाली सेना मोदिलाई सुरक्षा दिन सक्ने अवस्थामा दिएन भन्ने संकेत दिन्छ।’  

एक फरक प्रसंगमा प्रवक्ता शर्माले मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा पनि पार्टीमा पुर्नसंरचना हुन नसक्नुका कारण निर्वाचनमा समेत केही जटिल समस्या देखिएको भन्दै आउँदो भदौ महिनाभित्रै पार्टी नयाँ शिराबाट अघि बढ्ने बताए। ‘भदौमा हुने महासमिति बैठकले पार्टीको विधान संसोधन गरेलगत्तै पार्टी पुर्नसंरचनामा प्रवेश गर्छ’, प्रवक्ता शर्माले भने, ‘पुर्नसंरचनापछि पार्टी नयाँ ढंगले अघि बढ्ने छ।’ 

त्यसैगरी, कांग्रेसले सशक्त प्रतिपक्षिको भूमिका निर्वाह गर्न नसकेको भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा प्रमुख वक्ताका रूपमा रहेका शर्माले सरकार गम्भीर नभएमात्र कांग्रेस कठोर रूपमा प्रस्तुत हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.