|

एक्काइसौं संस्करणसम्म आइपुग्दा विश्वकपको २१ विभिन्न किसिमका अनौठा घटना पनि भएका छन्। विश्वकपमा सबै भन्दा बढी विवादास्पद उरुग्वेका स्ट्राइकर लुइस स्वारेज बने उनले सन् २०१० हातले गोल गर्नबाट रोके भने विपक्षीलाई मैदानमै टोकेका थिए। यस्तै विभिन्न विवादास्पद खेल र खेलाडीबारे हामीले चर्चा गरेका छौँ। 

लुइस सुवारेज

अन्तिम पटक सन् २०१४ मा उरुग्वेका स्ट्राइकर लुइस सुवारेजले इटालीसँगको अन्तिम १६ प्रवेशका लागि भएको खेलका क्रममा जोर्जियो किएलिनीलाई टोकेपछि निकै विवादमा तानिए। उनलाई फिफाले गरेको नौ खेलको प्रतिबन्ध लगायो। त्यसपछि सुवारेजको निकै आलोचना भयो। उक्त खेलमा उनलाई ६५ हजार छ सय ८० युरो जरिवाना पनि तिर्नु परेको थियो। सन् २०१० को क्वार्टर फाइनल खेलकाे अतिरिक्त समयका बेला घानाले गरेको गोल प्रहारलाई युरुग्वेका लुइस सुआरेजले गोल लाइनमा हातैले छेकेर गोल हुन दिएनन् र जितबाट वञ्चित गरिदिए।

उनलाई रातो कार्ड देखाइयो र घानाले पेनाल्टी प्रहारको अवसर पायो। घानाले पेनाल्टीको सदुपयोग गर्न सकेन। पछि खेल पेनाल्टी शुटआउटबाट निर्णय गर्नुपर्ने चरणमा पुग्यो। उक्त पेनाल्टीमा युरुग्वेले ४–२ ले खेल आफ्नो पक्षमा पार्‍यो। 

जिनेदिन जिदान

फ्रान्सका कप्तान जिनेदिन जिदानले इटलीका माटेराज्जीलाई आवेशमा आएर टाउकोले हानेका थिए। जिनेदिन जिदानले मार्को माटेराज्जीलाई टाउकोले हानेका थिए।  सन् २००६ को विश्वकपको फाइनल खेलमा फ्रान्सका कप्तान जिनेदिन जिदानले इटलीका मार्को माटेराज्जीको छातीमा टाउकोले हानेका थिए। खेलका फोर्थ अफिसियलले उक्त घटनाबारे रेफ्री होरेसियो एलिजोन्डोलाई जानकारी गराएपछि जिदानलाई खेलबाट बाहिर पठाइएको थियो। त्यसबेला माटेराज्जीले जिदानकी बहिनीबारे अपशब्द प्रयोग गरेपछि उनले आवेशमा आएर प्रहार गरेको बताइएको थियो।

एन्टोनियो राट्टिन 

सन् १९६६ को संयुक्त अधिराज्यको वेम्बली रंगशालामा इंगल्याण्डविरुद्धको क्वार्टर फाइनल खेलमा रेफ्री रुडोल्फ क्रेइटलेइनले अर्जेन्टीनाका कप्तान एन्टोनीयो राट्टिनलाई रातो कार्ड देखाएका थिए। त्यसपछि उनि रिसाए की उनले मैदान छाडेर बाहिर जान अस्वीकार गरे। यो विवाद सल्टाउन निकै समय लाग्यो। उक्त विवाद सल्टाउँदा धेरै समय खेल स्थगन गर्नु परेको थियो। 

प्याट्रिक ब्याट्टिस्टन 

पश्चिम जर्मनीका गोलरक्षक हाराल्ड शूमाकरले फ्रान्सका प्याट्रीक ब्याट्टिस्टनलाई स्पेनको सेभिलमा भएको सेमिफाइनल खेलका बेला फाउल गर्दा उनी बेहोश हुन पुगे। उनलाई खेल मैदानमा नै अक्सिजन दिनुपरेको थियो। 

फ्र्यांक राइकार्ड

१९९० मा अन्तिम १६ टोली बीचको प्रतिस्पर्धात्मक खेलका क्रममा चर्को विवाद गरेपछि नेदरल्याण्ड्सका मिडफिल्डर फ्र्यान्क राइकार्ड र पश्चिम जर्मनीका रुडी भोलर दुवै जनालाई रातो कार्ड देखाएर मैदान बाहिर पठाइएको थियो। त्यसपछि फ्र्यांक राइकार्डले जर्मनीका भोलरलाई थुकेका थिए।

म्याराडोना 

अर्जेन्टिनाका डिएगो म्याराडोनाले इंगल्याण्डसँगको खेलमा, गोलपोस्टनेर उफ्रिएर बल नियन्त्रणमा लिने प्रयास गर्दा हातैले हानेर गोल गरिदिएका थिए। सन् १९८६ मा मेक्सिको सिटीमा भएको क्वार्टर फाइनल खेलमा इंगल्याण्डका गोलरक्षक पिटर सिल्टनविरुद्ध गरेको त्यस्तो गोललाई खेल अधिकारीहरुले देखेनन् र हातले हानेर गरेको गोललाई सदर गरिदिए। 

एकै खेलमा चार रेड कार्ड  साेह्र पहेँलाे कार्ड

सन् २००६ मा जर्मनीमा भएको विश्वकप प्रतियोगीतामा पोर्चुगलले नेदरल्याण्ड्सलाई हराएको खेल हिंसात्मक हुन पुगेको थियो। उक्त खेलमा चार खेलाडीलाई रातो कार्ड देखाउनु परेको थियो भने १६ वटा पहेँलो कार्ड देखाइएको थियो। हालसम्म एउटै विश्वकप खेलमा त्यति धेरै पटक रातो र पहेँलो कार्डको प्रयोग भएको छैन। खेल हिंसात्मक भएका कारण त्यसलाई खेलमा आक्रोशको मात्रा यति धेरै देखिएको थियो कि त्यसलाई न्युरेमबर्गको लडाइँ नै भनियो।

नाइजेल डी योङ

सन् २०१० को फाइनल खेलका बेला नेदरल्याण्ड्सका नाइजेल डी योङले स्पेनका जाबी अलोन्सोको छातीमा लाग्ने गरी किक हानेका थिए। तर रेफ्री हावर्ड वेबले उनलाई पहेँलो कार्ड मात्रै देखाए। यसलाई कराते किकको भनिएको छ। 

रिभाल्डो

सन् २००२ को विश्वकपमा टर्कीका डिफेन्डर हाकान अनसलले हानेको बल खुट्टामा लागेपछि ब्राजिलका रिभाल्डोले टाउकोमा चोट लागेको नक्कल गरेका र मैदानमा पल्टेका थिए। रेफ्रीले त्यसपछि अनसललाई रातो कार्ड देखाएर खेलबाट बाहिर पठाइदिए। तर  रिभाल्डाले चोट लागेको नक्कली अभिनय गरेका थिए।

चिली–इटाली भिडन्त

सन् १९६२ को विश्वकपमा चिलीसँगको खेलमा भएको हिंसात्मक घटनाका कारण इटलीका दुई खेलाडीलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाइएको थियो। उक्त खेललाई पछि स्यान्टियागोको भिडन्त भनिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.