|

कालिकोट : कर्णाली करिडोर अन्र्तगतको लालीघाटदेखि बाजुरा सिमासम्मको ४० किलोमिटर सडकखण्ड यसै आर्थिक वर्षमा नेपाली सेनाले सडक विभागलाई हस्तातरण गर्ने भएको छ। ४० किलोमिटर सडकको निर्माण कार्य पुरा भएकोले सडकखण्ड हस्तातरण गर्न लागेको हो । 

कालिकोटको खुलालु, बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १ सय ९६ किलोमिटर सडकमध्ये कालिकोट सडकखण्डको ४० किलोमिटर सडकखण्डको ३८.५ किलोमिटरको ट्रर्याक खोल्ने पुरा भएको छ।

कर्णालीको समग्र विकासका लागि महत्वपूर्ण मानिएको यो सडक खुलेमा नेपालको उत्तरी चीनको सीमा रहेको हिल्साबाट दक्षिणी भारतीय सीमा जमुनाहसम्म ५ सय ३० किलोमिटर सडक निर्माण हुनेछ। 

कालिकोट सडकखण्डको ४० किलोमिटर सडकखण्डमध्ये ३८.५ किलोमिटर सडकको निर्माण कार्य पुरा भएको र यसै आर्थिक बर्षमा नै सडक विभागलाई हस्तारण गर्न लागिएको नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए।

‘हामीले कर्णाली करिडोर अन्र्तगतको कालिकोट सडकखण्डको निर्माण कार्य पुरा गरेका छौं,’ उनले भने, ‘यसै आर्थिक बर्षमा सडक विभागलाई बुझाउने तयारी भएको छ ।’

कालिकोट सडकखण्डको ४० किलोमिटरमध्ये खुलालुदेखि लालीघाटसम्मको १.५ किलोमिटर कडा चट्टान भने नेपाली सेनाले निर्माण गर्न बाँकी रहेको छ। 
निर्माण कार्य बाँकी रहेको खुलालुदेखि लालीघाट सम्मको सडक निर्माणमा खुलालुको पक्की पुल बन्न केही समय लाग्ने र जितेगडा बजार, जितेगडामा हालिएको फेरी, झोलुङ्गे पुलमा असर पर्ने भएकाले आगामी आर्थिक बर्षको कार्तिकदेखि निर्माण कार्य सुरु गर्ने करिडोर सडक निर्माणका प्रमुख कार्कीले बताए । 
‘खुलालुको पक्की पुल नबनेका कारणले निर्माणमा केही ढिलाई भएको हो,’ उनले भने, ‘सडक निर्माणका लागि जितेगडाको बजार, फेरी र झोलङ्गे पुललाई असर हुने भएकाले आगामी आर्थिक बर्षबाट निर्माण कार्य थाल्ने तयारी थालेका छौं ।’

समस्यामा स्तरउन्नति

राष्ट्रिय गौरवको आयोजना भएकोले सरकारले नेपाली सेनालाई जिम्मा दिएको सडकमा स्तरउन्नती लगायतका विषयमा बजेट नपरेकोले समस्या आउने देखिएको छ। सडक ट्रयाक खुलेको भएपनि हस्तारण हुन लागेको ३८.५ किलोमिटर सडकखण्डमध्ये १० किलोमिटर सडकखण्ड निकै कठिन भएको प्राबिधिक हिसावले पनि निकै जोखिम भएकाले नेपाली सेनाले हस्तारण अघि मापदण्ड अनुसार बनाउन जरुरी रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद अधिकारीले बताए।
‘हस्तारण हुन लागेको सडकमध्ये १० किलोमिटर सडकखण्ड निकै कठिन देखिन्छ ।’ उनले भने, ‘हस्तारण हुनु अगावै यसका बिषयमा छलफल गरिन आवश्यक रहेको छ ।’
नेपाली सेनाले जिम्मा पाएको कर्णाली करिडोरको १ सय ४५ किलोमिटरमध्ये कालिकोटको ३८.५ किलोमिटर र बाजुराको ४५ किलोमिटर र बाँकी हुम्लाको सडकखण्ड खोलिसकेको छ । विसं २०७१ चैत ९ गते मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई सो सडकको ट्रयाक खोल्ने जिम्मा दिएको थियो । हुम्लाको सिमीकोटसम्मको १ सय ९६ किलोमिटरमध्ये हुम्लाको सरिसल्लासम्मको १ सय ४५ किलोमिटर सडक नेपाली सेनाले खोन्नेछ । बाँकी ५१ किलोमिटर सडकखण्डलाई सडक विभागले जिम्मा लिएको छ । 

चीन जोड्ने सडक 
यो सडक भारतको रुपैडिया नाकाबाट सुरु भई सुर्खेत, कालिकोटको खुलालु, लैफु, बाजुराको गोत्री, जगन्नाथ, बाँधु र रुगिन हुदैँ हुम्लाको मैला सुरु भएर सिमिकोट हुँदै छिमेकी राष्ट्र चीनको तिब्बतसँग सिमानासम्म सडकखण्ड जोडिने छ । कर्णाली करिडोरलाई यो प्रदेशको समृद्धिको आधारको रुपमा हेरिएको छ । भौगोलिक विकटताले पछि परेको कर्णालीमा सडकको पहुँच पुगेमा यहाँको विकासले पनि गति लिने अपेक्षा यहाँका नागरिकले गरेका छन्। 

कर्णालीको विकासको मुख्य पुर्वाधार सडकको सपना साकार हुने जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले बताए । ‘कर्णाली क्षेत्रको विकासको मुख्य ढोका कर्णाली करिडोर नै भएको छ ।’ उनले भने, ‘कर्णाली करिडोरमा गाडी गुडेपछि गरिवीको रेखामुनी रहेका हजारौं नागरिकलाई राहत भएको छ ।’
कर्णाली करिडोर निर्माण पुरा भएपछि विकासका अन्य पूर्वाधारहरुको विकास हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण गरी स्थानीयको आर्थिक अवस्थामा सुधार आउने नेपाली कांग्रेस कालिकोटका सहसचिव दमनबहादुर शाहीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.