|

कपिलवस्तु : प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्ध लोप हुने अवस्थामा पुगेको छ। प्रतिबन्धित डाइक्लोफेनिक औषधिको उच्च प्रयोग र गिद्धको बासस्थानका लागी उपयुक्त सिमलका रुखको कटान तीब्र हुँदैं जाँदा गिद्धको अस्तित्व समेत संकटमा पर्दै गएको हो। 

सरकारले गिद्धको संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनिकको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ। कपिलवस्तुलाई ७ वर्ष अघि नै डाइक्लोफेनिक मुक्त घोषणा गरिएको थियो। तर पनि कृषकले आफ्ना पशुहरूलाई सोही प्रतिबन्धित औषधि सेवन गराउने गरेको मायादेवी गाउँपालिका ८ का सुरेन्द्र शुक्लाले बताए। 

सरकारले उक्त औषधिमा प्रतिबन्ध लगाए पनि त्यसबारे अझै स्थानीय स्तरमा कृषकहरूलाई चेतना नभएको उनले बताए। ‘पशुलाई अझै पनि डाइक्लोफेनिक औषधि दिने गरिएको छ। त्यसैले मरेका पशुहरुको मासु खाएर गिद्धहरू मर्ने क्रम रोकिएको छैन’ उनले भने। सरकारले उक्त औषधिलाई प्रतिबन्ध लगाए पनि बजारमा सजिलै पाइने र सीमापारिबाट ल्याइने गरिएको छ।

गिद्ध लोप हुन थालेपछि जिल्लाको ठाउँ ठाउँमा फालेका सिनोको दुर्गन्ध बढेर सर्वसाधारणले सास्ती भोग्न बाध्य छन्। पहिला पहिला गिद्ध यस क्षेत्रमा थुप्रै देखिने गरे पनि डाइक्लोफेनिक र मानवीय अतिक्रमणका कारण गिद्धहरूको जीवन संकटमा परेको पशु कार्यालयका प्रमुख अब्दुल सलामले बताए। पशुको जीउ दुख्ने र ज्वरो आउदा प्रयोग हुने यो औषधि प्रयोगले गिद्धको विनासमा ठूलो भूमिका खेलेको उनले बताए। डाइक्लोफेनिक औषधि लगाइएका पशुको सिनो खाएपछि गिद्धको मृगौलामा असर गर्ने हुँदा गिद्ध मर्ने गरेको उनले बताए। 

गिद्धले मरेको सिनो खाएर गिद्धले प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण आवश्यक रहेको नेपाल पंक्षी संरक्षण संघका भुपाल नेपालीले बताए। गिद्धको संख्या घटदा मरेका पशुको दुर्गन्धका साथै सिनो खाने मुसा, स्याल र भुस्याहा कुकुरको संख्या बृद्धि भई बिभिन्न महामारीजन्य रोगको प्रकोप बढ्ने उनले बताए।

गिद्ध लोप भएमा रेबिज, ब्रुसालोसिस र एन्थ्राक्स जस रोगहरूको संभावना बढने उनले बताए। गिद्ध बचाउन सामुहिक प्रयास र सचेतना कार्यक्रम गर्नुपर्ने वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदनमोहन शालिण्यले बताए। नेपालमा हाडफोर, सेतो, डंगर, लामो ठुँडे, सानो खैरे, हिमाली, खैरो, राज र सुन गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइन्छन्। जसमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुँडे गिद्ध र सुन गिद्ध अति संकटापन्न अवस्थामा रहेको संरक्षणकर्मीहरूको भनाइ छ। विगत १० वर्षमा गिद्धको संख्या ९५ प्रतिशतभन्दा बढीले घटेको संरक्षणकर्मीको दाबी छ। यी मध्ये डंगर गिद्ध भने पूर्ण रूपमा लोप हुने अवस्थामा पुगेको एक अध्ययनले देखाएको छ। 

गिद्धहरू लोप हुँदै जानुमा पशुहरूको उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक नै प्रमुख कारण भएको अध्ययनले देखाएको छ। यो औषधि प्रयोग गरेर उपचार गरिएको पशु मरेमा त्यसको सिनो गिद्धहरूले खाने र त्यही कारणले मिर्गौलामा संक्रमण भएर गिद्धहरू मर्ने गरेको भन्दै संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। प्रकतिबाट गिद्धहरू विनाश भएमा सिनोबाट उब्जने हैजालगायतका अन्य महामारीजन्य रोगहरूको प्रकोप बढ्ने खतरा निकै रहने स्वास्थ्यकर्मीहरूको भनाइ छ। 

वन्यजन्तु, घरपालुवा तथा मानवलाई सिनोबाट उब्जन सक्ने विभिन्न प्रकारका रेबिज, ब्रुसालोसिस र एन्थ्राक्सजस्ता रोगहरू फैलिने सम्भावना निकै रहने अध्ययनले देखाएको छ। खुला सीमाका कारण डाइक्लोफेनेक औषधि भारतबाट नेपाल भित्रँदा गिद्ध संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मी डा. सतिश उपाध्यायले बताए।अग्ला र गिद्ध बासस्थानका लागि उपयुक्त रूखहरू कटानमा बन्देज, काल गतिले मरेका, विषादीमुक्त सिनोलाई गिद्ध बासस्थान भएको क्षेत्रको खुला ठाउँमा फालेर गिद्ध संरक्षणमा सहयोग पुग्ने संरक्षणकर्मीको भनाइ छ।

गिद्धहरू लोप हुँदै जानुमा पशुमा डाइक्लोफेनेक औषधिको प्रयोग नै मुख्य कारण रहेको ठहर गर्दै नेपाल सरकार,औषधि व्यवस्था विभागले २०६३ सालदेखि नेपालमा यसको उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। यसको उत्पादन, प्रयोग, बिक्री वितरण, आयात निर्यात र भण्डारण गरेको पाइएका तीनवर्ष कैद वा ५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.