|

काठमाडौं : विगत ६७ वर्षदेखि नेपालका हजारौँ विद्यार्थीको जिन्दगी उज्यालो बनाउँदै आएका जर्ज जोन हाल ८१ वर्षका भए। जिन्दगीको लामो कालखण्ड पोखरामा बिताएका उनी पोखरेलीको मन-मुटुमा बस्न सफल एक असल गुरु हुन्। सिंगो पोखराको इतिहासका जिउँदो साक्षी पनि हुन् उनी।

भारतको दक्षिणी प्रान्त केरला, तत्कालीन (त्रिविधानखोर राज्य) मा सन् १९३७ मा जन्मेका हुन् उनी। उनी नेपालमा आएर ६७ वर्ष प्राध्यापन गरे। उनको नेपाल यात्राका बारे हामीले उनीसँग कुराकानी गरेका छौँ। 

एउटा १७ वर्ष उमेरको स्कुले किशोरलाई आफूलाई परिवारले दिएको खाजा खर्चलाई जोगाएर अनाथ दुखीलाई दिनुपर्छ भनेर कसरी मनमा आयो होला? आफूले बाँचेको खान्दानी जिन्दगीबाट अलिकति पर रहेर गरिबीको चरम चपेटामा रहेका परिवारलाई सहायता गर्नुपर्छ भन्ने कुरा उनका शिक्षकले कहिल्यै सिकाउनुपरेन। किनकि शिक्षकले सिकाउनुअघि नै उसलाई उसको परिवारले 'सेवा नै धर्म हो' भन्ने कुराको आधारभूत चेतनाको बीज रोपे। यति मात्र होइन, उसलाई जिन्दगीमा आनन्द तब मात्र प्राप्त हुन्छ, जब कुनै भोको पेटले आहारा पाउँछ, दुखीको अनुहार खुसीले लप्काले धपक्क बल्छ, जिन्दगी बाँचूँबाँचूँ लाग्छ, आफ्नो दुखिया जिन्दगी पनि समाजको एक हिस्सा हो भन्ने चाल पाउँछ। त्यसका लागि चेतना हुन जरुरी छ र शिक्षाको ज्योति फैलाउनु आवश्यक छ, त्योभन्दा पहिले चेतना विकास गराइदिने व्यक्तिको खाँचो छ भन्ने उनलाई बोध भयो। जर्ज जोन त्यस्ता असल गुरु हुन्, जसले नेपालका हजारौँ विद्यार्थीलाई उज्यालो छर्ने काम गरे।

सत्र वर्षकै उमेरमा उनले एक अनाथ आश्रममा सेवा सुरु गरेका हुन्। ‌प्रवीणता प्रमाणपत्र तह पढ्दै गरेका उनी दीनदु:खीहरूको अनुहारमा आएको खुसी र आफूले उनीहरूलाई गर्न पाएको सेवाले आनन्दित हुन्थे। विस्तारै उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिमा मणिपुर पुगे। त्यसैबेला उनका अन्य साथीहरूसँग मिलेर कलेज बिदामा भारतका उत्तरी राज्य घुम्न निस्किए। घुम्दैघुम्दै उनी आइपुगे- विहार र उत्तर प्रदेश। उनले त्यसबेला नेपालको बारेका पढेका थिए कि नेपाल हिमालै हिमालको देश हो भनेर। उनको मनमा नेपाल घुम्ने सोच आयो। उनी आए रक्सौल हुँदै नेपालको बोर्डर। यो कुरा हो, वि.सं. २००६ को। त्यसबेला नेपालमा राणा शासन थियो। शिवरात्रिबाहेक अरू बेला नेपाल आउन चाहेमा राहदानी आवश्यक हुन्थ्यो। उनीसँग राहदानी थिएन। बोर्डरमा उनीलाई पुलिसले फिर्ता गरिदिए। नेपाल घुम्ने उनको चाहनामाथि पुलिसले पानी फेरिदिएपछि उनलाई झन् नेपाल घुम्ने चाह बढ्दै गयो।

उनी पुन: नेपाल घुम्न नेपाल आए- रक्सौल हुँदै साथमा राहदानी बोकेर वि. सं. २००९ मा। त्यसबेला उनलाई बिना कुनै सोधखोज बोर्डरमा पुलिसले नेपाल पस्न अनुमति दियो। पछि मात्र उनले थाहा पाए- नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको आगमन भएको कुरा। त्यसपछि उनी पैदल बाटो काठमाडौं छिरे। काठमाडौं घुमघाम मज्जैले चल्यो उनको। हिमाल घुमे। तब उनलाई नेपाल देश होइन, स्वर्ग लाग्यो। एक दिन न्यूरोडमा घुम्दै जाँदा त्यसबेला पाकिस्तानबाट भागेर आएका एक जनासँग भेट भयो उनको। ती पाकिस्तानी न्यूरोडमा ड्राइ क्लिनर्स खोलेर बसेका रहेछन्। जब ती पाकिस्तानीले जर्जलाई देखे, यी नेपाली होइनन् भनेर चिनिहाले। पछि चिना परिचय भयो उनीहरूबीच। उनी भन्छन्, 'ती पाकिस्तानीले यतै काम गर्नुस् भनेर मलाई आग्रह गरे। मैले नकार्न सकिनँ।' केही समयपछि एक ठाउँमा सीताराम टाइपिङ इन्चिच्युटको स्थापना भयो। त्यसबेला नेपालमा कम्युटर टाइपराइटरको खोजी भयो। खै कसले हो, उनलाई लगे त्यहाँ। टाइपराइटरको रूपमा नियुक्त भए उनी।

नेपाल घुम्न भनेर आएका उनी यतै जागिरे जिन्दगी बिताउन थाले। त्यहाँ पढाउदै जादाँ एक दिन पोखराबाट एक जना व्यक्ति आए। उनले आफूलाई टापराइटर चाहिएको कुरा गरे। आवश्यकता पूर्ति गर्न त जर्जले सकेनन् तर ती व्यक्तिलाई एक महिनासम्म कम्प्युटरको ज्ञान दिए। उनको बच्चैदेखिको शोख थियो- टेनिस खेल्ने। त्यसबेला उनी टेनिस कोर्ट खोज्दै डिल्लीबजार पुगे। त्यो कोर्टका मालिक रहेछन् शंकरदेब कलेजका प्राध्यापक। परिचय मित्रतामा बदलिइसकेपछि उनी पनि शंकरदेव भर्ना भए। मानविकी संकायको रात्रिकालीन अध्ययन सुरु भयो उनको। उनी त्यहीँबाट एमकम पास भए वि. सं. २०१६ सालमा।

काठमाडौंमा प्राध्यापकको कमी थियो त्यसबेला। उनी कलेज पढ्दै ट्युसन पढाउँथे। एक दिनमा दश टोली हुन्थे। त्यसबेला विमलबहादुर थापा अंग्रेजी सिक्न पोखरादेखि उनीकहाँ आए। उनका दाजु पोखरा नगरका अध्यक्ष रहेछन्, जसले एक वर्ष देखि पोखरामा कलेज खोल्न लागिपरेका थिए। कारण, तत्कालीन समयमा पोखरामा दुई स्कुल थिए- एउटा टुँडिखेलमा र अर्को अमरसिंह चोकमा। ती दुई स्कुलका १३ विद्यार्थी एसएलसी पास भएका थिए। तिनीहरूलाई पढाउन पोखरामा शिक्षकको आवश्यकता थियो। विमलबहादुरले उनलाई पोखरा आउन कर गरे। उनी भन्छन्, 'मेरो उमेर त्यसबेला २६ वर्ष थियो तर पनि आफूलाई त्यति परिपक्व मान्दिनथेँ। यस कारण म पोखरा जान अनकनाइरहेको थिएँ।' तर विमलको करले आकाश छुन थालेपछि नियुक्तिपत्र लिएर पोखरा हान्निए उनी।

उनी सम्झन्छन्, 'जहाज भाडा ६४ रुपैयाँ र पेस्की स्वरूप ९० रुपैयाँ दिएका थिए।' जब उनी पोखरा पुगे, अनौठो घटना भयो। भएछ के भने, जर्जले जसलाई टाइपराइटिङ सिकाएका थिए, ती रहेछन् नगर प्रमुख शिवबहादुर थापा। जसले राष्ट्रबैंकको जागिर छोडी राजनीतिमा लागेर नगर प्रमुखको जिम्मेवारी लिएका थिए। पालिखे चोकमा उनका लागि कोठाको व्यवस्था पनि भयो। आएको भोलिपल्ट वि. सं. २०१७ भदौ १७ देखि नदीपुरस्थित कन्या क्याम्पस (तत्कालीन कन्या प्रावि)को एउटा कोठामा उनले एसएलसी पास गरेकालाई पढाउन सुरु गरे।

अंग्रेजी, राजनीतिशास्त्र र नेपाली पढाउने जिम्मा उनको काँधमा आइपर्‍यो। पछि माथिल्लो कक्षामा भने नेपाली देवीरमण शास्त्री र इतिहास पढाउन महेन्द्रसिंह थापालाई नियुक्त गरियो। कन्या प्राविको क्षेत्रफल कम हुँदै गयो। अब त्यो पढाइ  नहुने छाँट आएपछि नदीपुरस्थित नारायणथानमा पढाइ सुरु गरियो। २०१८ सालमा प्रवीणता प्रमाणपत्र तहको परीक्षा भयो। त्यसबेला दुई वर्षको परीक्षा एकैचोटि हुने चलन थियो। त्यसमा १६ जनाले परीक्षा दिए, जसमध्ये १३ जना पास भए। पढाइ नदीपुरमा हुँदै थियो, तत्कालीन नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका सुर्यप्रसाद उपाध्यायले २०१७ मंसिरमा अौपचारिक रूपमा पृथ्वीनारायण क्याम्पसको उद्घाटन नारायणथानमै गरिदिए।

नयाँ कलेजको उद्घाटन त भयो। त्यसबेला एउटा कलेज खोल्न पच्चीस हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्थ्यो, जुन आफैँमा ठूलो रकम थियो। जर्ज पोखरा आउनुअघि पच्चीस हजार रुपैयाँ उठिसकेको जानकारी दिए पनि खासमा पैसा उठाउन सकेका रहेनछन्। त्यसपछि त्यसबेलाका बडाहाकिमले मान्छेहरूलाई जम्मा गरेर पैसा कसरी उठाउने भन्ने विषयमा छलफल गरे। जम्मा हुनेहरूमध्येबाट कसैले एक हजार, कसैले पाँच सय रुपैयाँ दिने कागज गरे। जम्माजम्मी १७ हजार रुपैयाँ उठ्ने भयो कागजअनुसार।

नेपाल बसाइ लम्बिँदै गएको थियो। अब भारत फर्किनुपर्छ भन्ने उनको मनमा लाग्न थाल्यो। उनलाई एउटा धर्मसंकट आइलाग्यो। भारत नफर्कौं, नेपाल बसाइ अल्छी लाग्दै गएको छ। भारत फर्कौं, यता विद्यार्थीको पढाइ बिग्रन्छ। उनी मात्र बहानाको खोजीमा थिए। उनले एउटा दश वर्षे योजना अघि सारे। जहाँ दश लाख रुपैयाँ चाहिने स्पष्ट बताए- नयाँ भवन, नयाँ पठनशैलीका लागि भन्दै। उनी भन्छन्, 'तलव त भनेको बेला दिन सकेको छैन भने दश लाख रुपैयाँ कहाँबाट ल्याउलान् र यिनीहरूले अनि फर्किउँला भन्ने सोच बनाएको थिएँ तर केके भयो, विद्यार्थीको मायाले मैले जन्मभूमि माया मारेँ।'

हिउँदको चिसो खुला ठाउँका कारण नारायणथानमा पढ्न र पढाउन सजिलो थिएन। नयाँ ठाउँको खोजी गर्दै बडाहाकिम र उनीलगायत अन्य व्यक्तिले भीमकालीन पाटन बगरमा २०१९ बैशाख १ गतेदेखि एउटा छाप्रो बनाएर पढाउन सुरु गरे। विस्तारै क्याम्पसको भौतिक स्तरोन्नति हुँदै गयो। सुरुमा त्यहाँ छात्राबासको निर्माण गरियो। सुरुवातमा मानविकी मात्र पढाइ हुने गर्थ्यो। उनको मनमा के लाग्यो भने मानविकी मात्र पढाएर हुँदैन, अब अन्य विषय पनि समावेश हुनुपर्छ भन्ने लागेर विज्ञान संकाय र कमर्श पनि सुरु गरे।

तर त्रिभुवन विश्वविद्यालयबाट निरीक्षणमा गएका व्यक्तिहरूले अरू विषय पढाउन सक्दैनौ भनेर बन्द गराएर पुन: मानविकी मात्र पढाउन थाले। विस्तारै विभिन्न राष्ट्रिय कार्यक्रमहरू त्यहाँ हुन थाले। प्रजातन्त्र दिवस, शहीद दिवसका अधिकांश कार्यक्रम हुने मुख्य थलो नै पृथ्वीनारायण क्याम्पस बन्न थाल्यो। त्यहाँ वर्षमा एक पटक राजाको सवारी हुने गर्थ्यो।

क्याम्पस संचालन हुँदै थियो। २०२० सालमा राजासँग एक लाख रुपैयाँको माग गरियो। नभन्दै एक लाख रुपैयाँ आयो। त्यसपछिका हरेक वर्ष सरकारले रकम छुट्याउँदै गयो। क्रमश: भवन निर्माण कार्य अघि बढ्यो। विद्यार्थीको संख्या पनि बढ्दै गयो। १३ जना विद्यार्थीबाट पृथ्वीनारायण क्याम्पस सुरु भएको थियो। आज हरेक विषय पढाइ हुने गर्छ यहाँ। उनी सम्झिन्छन्, 'पृथ्वीनारायण क्याम्पसमा १९ हजार विध्यार्थी अध्ययन गर्थे कुनै बेला। अहिले त्यस्तै १५ हजार होलान्।' उनी पृथ्वीनारायण क्याम्पसमा प्रमुख भएर काम गरे। उनले वि. सं. २०४४ मा सैनिक विद्यालयमा आइदिन आग्रह गरे। उनका विद्यार्थीहरूले सुरु गरेको उक्त विद्यालयमा डेढ वर्षसम्म स्कुल चलाउन नसकेपछि विश्वविद्यालयको अनुमतिमा उनी साँगा आएर प्रिन्सिपल भएर सात वर्ष प्राध्यापन गरे। त्यहाँको भौतिक तथा शैक्षिक स्तरोन्नतिले गति लिएपछि उनी पुन: पोखरा फर्किए। पोखरा फर्किएपछि पुन: उनले पृथ्वीनारायण क्याम्पस पढाए। त्यहाँ मात्र होइन, जनप्रिय क्याम्पस पनि उनको अर्को थलो बन्यो। ट्युसन पढाउने विद्यार्थीलाई समेत जोड्ने हो भने हालसम्म लाख बढी विद्यार्थीलाई पढाइसकेका छन् उनले।

विवाह प्रसंग

उनको एउटै ध्येय पढाउने मात्र थियो। जिन्दगी पढाएर बिताउँछु, विहे गर्दिनँ भनेर सोचेका थिए उनले। तर उनकी एक जना नजिककी बहिनी भारतको एक प्रतिष्ठित कलेज पढ्दै थिइन्। उनकी साथी (हाल जर्ज जोनकी श्रीमती)पनि बैहिनीसँग पढ्थिन्। बहिनीलाई तिनको आनिबानी मनपर्‍यो, घरमा कुराकानी चल्यो। त्यसपछि २०१८ सालमा उनको विवाह भयो। नेपाल बसाइमा उनी भारत वर्ष/दुई वर्षमा एक, दुईचोटि मात्र जान्थे। विस्तारै श्रीमती पनि उनले यतै लिएर आए। उनकी श्रीमती हाल पोखराको अमरसिहं नमुना उच्चमाविमा पढाउँछिन्।

अचेल भने उनी भारत जाँदैनन्। उनी भन्छन्, 'पहिले बाबाआमा हुनुहुन्थ्यो। अहिले स्वर्गेबास हुनुभयो। उता जानै मन लाग्दैन।' किन? भन्ने प्रश्नमन उनी थप्छन्, 'मलाई मैले पढाएका विद्यार्थी र मेरो स्कुलको एकदमै धेरै माया लाग्छ। त्योभन्दा बढ्ता माया पोखराको लाग्छ।' हिजो देखेको पोखरा र अहिलेको पोखरामा धेरै भिन्नता आइसकेको छ। हिजोको बयरघारी र खेत नै खेत भएको पोखरा बजार अहिले घर नै घरले भरिएको छ। बुद्धचोकस्थित उनको घर छतमा बसेर उनी सोच्छन्, 'सेतीले यहाँको कुरूप दृश्य बगाएर लगेछ। जता हेर्‍यो, उतै रमाइलो मात्र।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.